काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।
रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा २०८३ नै सार्वजनिक गरेको छ ।
अब ६/७ महिनापछि स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले समेत चुनावको तयारी अगाडि बढाइरहेका बेला रास्वपा त्यसमा जुटेको हो ।
महामन्त्री विपीन आचार्यकाअनुसार राजनीतिक दलमा सबै नागरिकको समान पहुँच र विविधतालाई सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रक्रियामध्ये निर्वाचन एक हो । निर्वाचनमा विधि हावी हुन्छ कि व्यक्ति ? नीति हावी हुन्छ कि नेता ? भन्ने प्रश्नको उत्तरले नै दलको चरित्र, लोकतन्त्रप्रतिको प्रतिबद्धता र नागरिकमाझ दलको पहिचान स्थापित गर्दछ । नेताको घर र चोटाकोठा चाहर्ने होइन, जनताको मनमा बस्ने र देश, समाज तथा स्थानीय समुदाय रूपान्तरणको स्पष्ट मार्गचित्र कोर्न सक्नेहरूले मात्र निर्वाचन उठ्ने र जित्ने अवस्था निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उनले बताए ।
'यसर्थ, स्थानीय तहको नेतृत्वका लागि योग्य र सक्षम उम्मेदवारहरू छान्न पार्टीले अवलम्बन गर्ने विधि वैज्ञानिक, तथ्यपरक, पारदर्शी र सबै तहका नागरिकले अपनत्व लिने खालको हुनैपर्छ भन्ने मान्यता यस दलले अङ्गीकार गरेको छ। नेपालको राजनीतिक इतिहासमा अरू कुनै दलले अभ्यास नगरेका जनमुखी विधिहरू तय गरी उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः लोकतान्त्रिक बनाउने हाम्रो परिकल्पना हो,' आचार्यले भने, 'यो दल कुनै नेताको लहडबाट होइन, विधिबाट मात्र देश र जनताप्रति प्रतिबद्ध योग्य उम्मेदवार चयन हुन सक्छ भन्ने विश्वास राख्दछ। यही मान्यतालाई आत्मसात गर्दै यस दस्तावेजमा आगामी स्थानीय तहको निर्वाचनका क्रममा अपनाइने उम्मेदवार छनोट प्रक्रिया र रूपरेखा विस्तृत रूपमा प्रस्तुत गरिएको छ।'
उम्मेदवार छनोट रूपरेखा
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विधानको भाग १९ : लिडरशिप एकेडेमी र उम्मेदवार क्लब तथा भाग २० : प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधिको मर्मलाई आत्मसात् गर्दै आगामी निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटको रूपरेखा तयार पारेको महामन्त्री आचार्यले बताए । उनकाअनुसार यस विधिको मूल उद्देश्य पार्टीका मूल्य- मान्यता, सिद्धान्त, आदर्श र सार्वजनिक प्रतिबद्धतालाई केन्द्रमा राख्दै सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा सम्बोधन गर्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र राष्ट्रिय नेतृत्वसँग प्रभावकारी सहकार्य गर्न सक्ने सक्षम नेतृत्वको पहिचान, मूल्याङ्कन तथा सिफारिस गर्नु हो । यस अभ्यासबाट पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुने, निर्वाचनमा पार्टीको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र जनविश्वास थप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
आचार्यकाअनुसार स्थापनाकालदेखि नै रास्वपाले समाजका सबै तह र तप्काका नागरिकको सहज पहुँच हुने लोकतान्त्रिक, समावेशी र उत्तरदायी दल बन्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएको छ । २०६२/६३ को जनआन्दोलनदेखि हालैको 'जेन- जी' पुस्ताको विद्रोहसम्मको पृष्ठभूमि हेर्दा राजनीतिक दलहरूमा आम नागरिकको पहुँच टुट्नु, निर्णय प्रक्रिया सीमित घेरामा कैद हुनु, र जनताको अपेक्षा तथा दलको व्यवहारबीच गहिरो दूरी बढ्नु नै असन्तुष्टिको प्रमुख कारणमध्ये एक रहेको देखिन्छ। विगतका आन्दोलनहरू, नयाँ पुस्ताको चेतना र नागरिकले समय - समयमा दिएको परिवर्तनको जनादेशलाई सम्बोधन गर्न सक्ने गरी रास्वपा लोकतान्त्रिक तथा उदार मूल्य-मान्यता, पारदर्शिता, जवाफदेहिता र विधिको शासनको बलियो जगमा विस्तारित हुनुपर्छ भन्ने मान्यताका साथ यो रूपरेखा तय गरिएको हो ।
आचार्यले नेपाली राजनीतिमा सबैभन्दा धेरै दुरुपयोग भएको र विकृत बनेको क्षेत्रमध्ये उम्मेदवार चयन प्रक्रिया एक भएको बताए । 'अन्तिम समयमा मात्र उम्मेदवार घोषणा हुने, बन्द कोठाभित्रको सानो घेराबाट निर्णय लिइने, शक्तिसन्तुलनको अनुचित खेल हुने, नातासम्बन्ध, पहुँच, चाकडी, गुटगत प्रभाव, आर्थिक हैसियत तथा पैसा र बाहुबली (मनी र मसल) को डरलाग्दो प्रभाव पर्ने प्रवृत्तिले उम्मेदवार छनोटमा जनताको मन जित्नेहरू होइन, शक्तिकेन्द्रलाई रिझाउनेहरू हावी भए । परिणामस्वरूप, स्थानीय तहले सही अर्थमा सरकारको अनुभूति दिन सकेनन् भने धेरै पालिकाहरूले आफ्नो सम्भावनालाई यथार्थमा बदल्न चुके,' उनी भन्छन् ।
यही परिप्रेक्ष्यमा रास्वपाले “फरक राजनीति चर्का भाषणमा होइन, आन्तरिक सुशासनमा देखिनुपर्छ” भन्ने मान्यतालाई दृढतापूर्वक आत्मसात् गरेको उनको भनाइ छ । 'विगतका विशेष परिस्थितिमा समेत प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटलाई सकेसम्म वैज्ञानिक, खुला र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरेको पार्टीले अबका दिनमा पूर्णतः विधि, पद्धति र प्रमाणमा आधारित मार्ग अवलम्बन गर्ने नीति लिएको छ । हाम्रो विश्वास स्पष्ट छ; उम्मेदवार नेताको निगाहबाट होइन, जनताको भरोसा, पार्टीको मूल्य, सार्वजनिक आचरण, नेतृत्व क्षमता र संस्थागत मूल्याङ्कनबाट तय हुनुपर्छ,' उनले भने ।
केन्द्र, प्रदेश र स्थानीय तह एकअर्काका परिपूरकका रूपमा अघि बढ्न सकून् भन्ने हेतुले विगतका कमजोरीबाट सिक्दै यो रूपरेखा निर्माण गरिएको आचार्यले बताए । उनकाअनुसार स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग सबैभन्दा नजिकको सरकार भएकाले त्यहाँको नेतृत्व केवल चुनाव जित्ने पात्र मात्र होइन, सेवा प्रवाह सुधार्ने, सुशासन कायम गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने, नागरिक सहभागिता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको घरदैलोमा अनुभूत गराउने नेतृत्व हुनुपर्छ। त्यसैले रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटलाई सामान्य निर्वाचन व्यवस्थापनको विषय मात्र नभई, राज्य पुनर्निर्माणको आधारभूत राजनीतिक प्रक्रिया मानेको छ।
यस रूपरेखाले महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्र, श्रमिक, किसान, उद्यमी, पेशाकर्मी, प्रवासी अनुभव भएका नागरिक तथा समाजका विविध तहका सम्भावनाशील व्यक्तित्वहरूलाई बाध्यात्मक उपस्थिति वा संख्या पुर्याउने औपचारिकतामा मात्र सीमित नराखी नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य राखेको छ । 'समावेशिता हाम्रो लागि सजावट होइन, लोकतान्त्रिक न्यायको आधार हो। त्यसैले सबै समावेशी समूहहरूको पूर्ण सम्मान गर्दै समाजको वास्तविक बहुविविधता प्रतिविम्बित हुने, सामाजिक रूपमा स्वीकार्य, स्थानीय रूपमा जरा गाडेको, नैतिक रूपमा स्वच्छ, क्षमताका आधारमा प्रतिस्पर्धी र विजयको बलियो सम्भावना भएका व्यक्तित्वहरूलाई अघि सार्नु हाम्रो प्राथमिकता हुनेछ,' उनले भने ।
आर्चायका भनाइमा उम्मेदवार छनोटको यो विधि उन्नत लोकतन्त्रका विश्वव्यापी अभ्यास, सहभागितामूलक लोकतन्त्रप्रतिको रास्वपाको प्रतिबद्धता र नेपाली समाजको आफ्नै राजनीतिक अनुभवको जगमा उभिएको छ । लोकतन्त्रप्रतिको निष्ठा केवल संविधान, घोषणापत्र वा सार्वजनिक भाषणबाट होइन, दलभित्र हुने निर्णय प्रक्रियाबाट प्रमाणित हुन्छ भन्ने हाम्रो दृढ विश्वास छ। त्यसैले “किन त्यो नभएर यो उम्मेदवार छानियो ?” भन्ने नागरिकको प्रश्नको जवाफ भावना, प्रभाव वा नेतृत्वको व्यक्तिगत निर्णयबाट होइन, विधिको जगमा प्राप्त प्रमाण, मूल्याङ्कन, दस्तावेज र प्रक्रियाबाट दिन सकिने गरी हामी आफ्नै विधिबाट निर्देशित हुन तयार छौं,' उनले भनेका छन् ।
महामन्त्री आचार्यले यो प्रक्रिया आफैँमा पूर्णताको घोषणा नभई सुधारतर्फको संस्थागत यात्रा भएको बताए । 'एउटा सामूहिक संस्थाका रूपमा यसको अभ्यास गर्ने क्रममा यदाकदा कमीकमजोरी हुन सक्छन् । तर असल नियतका साथ भएका त्रुटिहरूलाई स्वीकार्ने, रचनात्मक सुझावहरू ग्रहण गर्ने, कमजोरी सच्याउने र प्रत्येक निर्वाचन चक्रसँगै प्रक्रियालाई थप परिष्कृत बनाउँदै लैजाने साहस नै रास्वपाको राजनीतिक संस्कार हुनेछ,' उनले भनेका छन्, 'दलको आन्तरिक लोकतन्त्र सुदृढीकरण, दलप्रति आस्थावान् हरेक नागरिकलाई उम्मेदवारी प्रक्रियामा समान अवसरको सुनिश्चितता, योग्यताको सम्मान, समावेशिताको संरक्षण, जनमतप्रतिको जवाफदेहिता र निरन्तर सुधारप्रतिको प्रतिबद्धता नै हाम्रो लोकतान्त्रिक चरित्रको मूल प्रस्थानबिन्दु हो ।'
छनोट रुपरेखाका १३ उद्देश्य
१. वैज्ञानिक र वस्तुपरक छनोट प्रणाली स्थापना गर्ने
उम्मेदवार छनोटको समग्र रूपरेखालाई भावना, पहुँच, प्रभाव वा व्यक्तिगत लहडमा नभई तथ्य, स्पष्ट मापदण्ड, प्रमाण र मापनयोग्य आधारहरूमा टेकेर वैज्ञानिक तथा वस्तुपरक बनाउने ।
२. पूर्ण दस्तावेजीकरण र पारदर्शिता सुनिश्चित गर्ने
कुनै पनि उम्मेदवार कसरी, कुन आधारमा र कुन प्रक्रियाबाट छानियो भन्ने कुरा भविष्यमा जोकोहीले पनि स्पष्ट रूपमा हेर्न, बुझ्न र परीक्षण गर्न सक्ने गरी छनोटका सम्पूर्ण चरण, मूल्याङ्कन, सिफारिस र निर्णय प्रक्रियाहरूको अनिवार्य तथा व्यवस्थित दस्तावेजीकरण गर्ने ।
३. उचित मूल्याङ्कन र योग्य नेतृत्वको सुनिश्चितता गर्ने
पार्टी निर्माणमा निरन्तर योगदान पुर्याएका निष्ठावान् सदस्यहरू तथा समाजका विभिन्न क्षेत्रमा अब्बल साबि भएका विज्ञ, अनुभवी, ऊर्जावान् र जनविश्वास प्राप्त व्यक्तिहरूको सन्तुलित तथा न्यायोचित मूल्याङ्कन गर्दै 'सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति' छान्ने परिपाटी स्थापित गर्ने ।
४. नेतृत्व विकास र अनिवार्य पूर्व तयारी संस्थागत गर्ने
उम्मेदवार छनोट प्रक्रियामा प्रवेश गर्नुपूर्व सम्पूर्ण आकांक्षीहरूलाई स्थानीय शासन, जनसेवा, नीति–निर्माण, सुशासन, सार्वजनिक वित्त, नागरिक सहभागिता र बहुआयामिक नेतृत्वका पक्षहरूमा पार्टीकै संयन्त्रमार्फत प्रशिक्षित गराई भावी जिम्मेवारीका लागि तयार गर्ने कुरालाई अनिवार्य बनाउने।
५. स्थानीय आवश्यकता र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित नेतृत्व पहिचान गर्ने
स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधारगत आवश्यकता बुझेका, जनस्तरमा भिजेका र स्थानीय स्रोतसाधनको अधिकतम परिचालनमार्फत नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न सक्ने जनउत्तरदायी उम्मेदवारको पहिचान गर्ने ।
६. आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्ने
वडादेखि पालिकास्तरसम्मका समितिहरूको अधिकार र जिम्मेवारीलाई सन्तुलित गर्दै पार्टीभित्र तल्लो तहबाटै लोकतान्त्रिक, सहभागितामूलक र प्रतिस्पर्धात्मक अभ्यासलाई बलियो बनाउने।
७. समान अवसर र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने
महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, युवा, पिछडिएको क्षेत्र, श्रमिक, किसान, उद्यमी, पेशाकर्मी तथा समाजका विविध तहका नागरिकहरूलाई उम्मेदवारी प्रक्रियामा समान अवसर उपलब्ध गराउँदै समाजको वास्तविक बहुविविधता प्रतिविम्बित हुने नेतृत्व निर्माण गर्ने।
८. निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई छनोटको आधार बनाउने
उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमानदारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता र लोकतान्त्रिक संस्कारलाई पनि मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउने ।
९. स्थानीय लोकप्रियता र निर्वाचन जित्ने क्षमताको परीक्षण गर्ने
सम्बन्धित क्षेत्रका पार्टी सदस्य, स्थानीय संरचना, समुदाय र नागरिकसँग उम्मेदवारको सम्बन्ध, स्वीकार्यता, जनविश्वास, संगठनात्मक क्षमता र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने वास्तविक सम्भावनाको परीक्षण गर्ने ।
१०. नेता केन्द्रित होइन, विधि केन्द्रित निर्णय संस्कृति विकास गर्ने
उम्मेदवार छनोटलाई कुनै व्यक्ति, गुट, पहुँच वा नेतृत्वको व्यक्तिगत चाहनामा निर्भर नराखी स्पष्ट प्रक्रिया, संस्थागत मूल्याङ्कन, पारदर्शी सिफारिस र लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित बनाउने ।
११. स्थानीय सरकारलाई परिणाममुखी बनाउने नेतृत्व तयार गर्ने
छानिने उम्मेदवार केवल निर्वाचन लड्ने व्यक्ति मात्र नभई निर्वाचित भएपछि स्थानीय सरकारलाई सुशासन, सेवा प्रवाह, आर्थिक विकास, सामाजिक न्याय, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण र नागरिक सहभागिताका क्षेत्रमा परिणाममुखी रूपमा अघि बढाउन सक्ने नेतृत्व होस् भन्ने सुनिश्चित गर्ने।
१२. पार्टीको मूल्य-मान्यता र राष्ट्रिय दृष्टिसँग स्थानीय नेतृत्वलाई जोड्ने
स्थानीय तहका उम्मेदवारहरू पार्टीको मूल सिद्धान्त, राष्ट्रिय दृष्टि, नीति, प्रतिबद्धता र सुशासनको एजेन्डासँग स्पष्ट रूपमा जोडिएका, तर स्थानीय आवश्यकता र सम्भावनालाई समेत गहिरोसँग बुझेका नेतृत्वका रूपमा विकास गर्ने ।
१३. निरन्तर सुधार र संस्थागत सिकाइको प्रणाली विकास गर्ने
प्रत्येक निर्वाचन चक्रपछि उम्मेदवार छनोट प्रक्रियाको समीक्षा, मूल्याङ्कन, कमजोरी पहिचान र सुधार गर्दै जाने व्यवस्था मिलाई पार्टीभित्र दीर्घकालीन संस्थागत सिकाइ र परिष्कृत लोकतान्त्रिक अभ्यासको संस्कार विकास गर्ने ।