काठमाडौँ । ‘तराई–मधेशमा आगो बलिरहेको छ, सरकारले के गरिरहेको छ?’
राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते राति सवा ८ बजेतिर शीतलनिवासमा प्रधानमन्त्री बालेन शाहलाई सोधेको प्रश्न हो यो ।
प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार, राष्ट्रपतिले सुरुमै यो प्रश्न सोधेपछि प्रधानमन्त्री बालेनले जवाफ कहाँबाट सुरु गर्ने अलमलमा परे ।
एकै छिनमा उनले छोटो जवाफ फर्काए– ‘मैले भर्खर राष्ट्रका नाममा सम्बोधन गरेँ, गृहमन्त्रीलाई पूर्व पठाएको छु राष्ट्रपतिज्यू।’
नयाँ सरकार बनेको चार महिनापछि पहिलो पटक देशको अवस्थाबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्दै थिए ।
देशमा सरकार प्रमुख (कार्यकारी प्रधानमन्त्री) र राष्ट्र प्रमुख (संवैधानिक राष्ट्रपति) बीच सम्बन्ध कस्तो हुन्छ ?
चार महिनाअघि र त्यसयताको अभ्यास, प्रचलन र परम्परा फेरिएको छ । पहिले, प्रधानमन्त्रीले हप्तामा कम्तीमा एक पटक राष्ट्रपतिलाई भेटेर सरकारको योजना, मनित्रपरिषद्का निर्णय लगायत विषयमा जानकारी गराउँथे । कहिलेकाहीँ हप्तामा तीन, चार पटकसम्म पनि राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता हुन्थ्यो ।
गएको चैत १३ गते, रास्वपा वरिष्ठ नेता एवम् संसदीय दलका नेता वालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बने । जेनजी आन्दोलनमा जलेको राष्ट्रपति भवनको भित्तालाई पृष्ठभूमिमा राखेर बालेनले प्रधानमन्त्री पदको शपथ लिए ।
त्यसयता पनि शीतलनिवासमा पटक पटक शपथ समारोह भएका छन् । मन्त्रीहरूको शपथ, सभामुख, उपसभामुखको शपथ, प्रधानन्यायाधीशको शपथ । ती सबै शपथ समारोहमा शीतलनिवास पुगे पनि बालेनले राष्ट्रपतिसँग कुनै छलफल गरेका थिएनन्, कार्यकारी प्रमुखका रुपमा राष्ट्र प्रमुखलाई भेटेर कुनै पनि जानकारी गराएका थिएनन् । यतिसम्मकि, सरकारले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रमका बारेमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले ब्रिफिङ गर्ने प्रचलन थियो, त्यो पनि भएको थिएन ।
साउन १० गते राति, सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीचको झडप हिंसामा परिणत भयो । प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भयो । अन्य थुप्रै घाइते भए ।
सुनसरी प्रशासनले रातिदेखि नै कर्फ्यु लगायो । तर, कप्तानगञ्जको आक्रोश रोकिएन । बरु फैलिँदै गयो ।
पाँचौं दिन, १४ गते बिहीबार–कप्तानगञ्जको आगो सिरहा, सप्तरी, धनुषा हुँदै वीरगञ्जसम्म आइपुग्यो । त्यही दिन कप्तानगञ्जका एक घाइते जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भयो, सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षका गणेश यादव ढले ।
आक्रोशले धार्मिक, जातीय र साम्प्रदायिक रुप लिँदै थियो । मानिसहरू सडकमा ओर्लिँदै थिए । प्रशासन कर्फ्यु लगाउन व्यस्त थियो, सुरक्षाकर्मी गोली हान्न उद्धत थिए । स्थानीयस्तरमा वार्ता, संवाद र छलफल प्राथमिकतामै थिएन ।
अझ अचम्म त– सुनसरीदेखि पर्सासम्म आइपुग्दा प्रदर्शनको नेतृत्व गर्ने कोही थिएनन् ।
सरकारले सुरक्षा संयन्त्र परिचालन गरिरहेको थियो, प्रदर्शन अनियन्त्रित हुँदै थियो । हिंसा अझै फैलिने हो कि भन्ने जोखिम थियो ।
रास्वपा सभापति रवि लामिछानेले १३ गते बिहानै सर्वदलीय बैठक आह्वान गरे । सबै दलले संयुक्त विज्ञप्ति जारी गरे, संयमता अपनाउन आग्रह गरे ।
त्यही दिन, रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेर सर्वदलीय बैठकका बारेमा जानकारी गराए । सिंहदरबारदेखि स्थानीय स्तरमा भएका पहल र छलफलका बारेमा पनि जानकारी गराए ।
सुनसरी प्रकरणमा राष्ट्रपति पौडेलले आफ्नै च्यानलबाट पनि जानकारी लिइरहेका थिए ।
नेपाली सेनाले स्थानीय वस्तुस्थितिका बारेमा राष्ट्रपतिलाई जानकारी गराइरहेकै थियो । उनको सचिवालयले पनि राजनीतिक दलका नेतादेखि विभिन्न सम्पर्क सूत्रसँग सम्पर्क गरेर अवस्था नियालिरहेको थियो, राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरिरहेको थियो ।
तर, त्यतिबेलासम्म पनि सरकारले औपचारिक च्यानलबाट राष्ट्रपतिलाई कुनै जानकारी गराएको थिएन ।
१४ साउन साँझ ६ बजे, राष्ट्रपतिले प्रधानमन्त्रीबाट सरकारको प्रयासबारे जानकारी लिन चाहे । उनले राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थलाई प्रधानमन्त्री बालेनलाई शीतलनिवास बोलाउन निर्देशन दिए ।
लगत्तै सचिव पन्थले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई फोन गरेर ‘राष्ट्रपतिज्यूबाट प्रधानमन्त्रीज्यूलाई बोलावट’ भएको खबर सुनाए । जवाफमा कार्कीले ‘प्रधानमन्त्रीज्यूसँग कुरा गरेर खबर गर्छु’ भने ।
राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीलाई ‘बोलावट’ हुँदा प्रधानमन्त्री बालेन राष्ट्रका नाममा सम्बोधनको तयारीमा थिए ।
मुख्यसचिवबाट खबर पाएपछि बालेनले केहीबेर प्रतिक्रिया जनाएनन्, केहीबेरमा ‘राष्ट्रको नाममा सम्बोधनपछि जाऔंला’ भनेर खबर गरिदिन भने ।
बालेनले सम्बोधनपछि शीतलनिवास जाने बताए पनि उनी जान्छन् वा जाँदैनन् भन्नेमा मुख्यसचिव ढुक्क थिएनन् । मुख्यसचिव मात्रै होइन, शीतलनिवास पनि ‘बालेन आउलान् वा नआउलान्’ ढुक्क थिएन ।
आठ बजेर केही मिनेट जाँदा बालेन शीतलनिवास पुगे ।
राष्ट्रपतिका विज्ञ सल्लाहकारदेखि सचिवालयका सदस्यहरू तथा राष्ट्रपतिको कार्यालयका सबै उच्च अधिकारीहरू बालेनकै प्रतीक्षामा थिए ।
बालेन शीतलनिवास पुगे, त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा के के कुरा भयो त ?
उनीहरू बीचको कुरा थाहा पाउनुअघि राष्ट्रपतिको सचिवालय र प्रधानमन्त्रीको सचिवालयबाट प्रेसित यी दुई समाचार हेरौं ।
प्रधानमन्त्रीको सचिवालयले भन्यो–
‘प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।’
अब राष्ट्रपतिको सचिवालयबाट प्रेसित यो समाचार–
‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो ।’
यी दुवै समाचार राति ९ बजेर २५ मिनेटमा ह्वाट्स ग्रुपमा राखिएको थियो ।
एउटै समय, विषय पनि एउटै । तर, सूचनामा केही फरक थियो ।
फरक यो थियो– शीतलनिवासबाट प्रेसित समाचारमा ‘राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको’ उल्लेख थियो र यसमा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाई ‘कोट’ गरिएको थियो ।
यी दुई निकायबाट प्रेसित समाचारपछि राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा १५–१७ मिनेट लामो वार्तामा के कुरा भयो ? त्यो पनि जानौं ।
स्रोतका अनुसार, सुरुमै पौडेलले सोधे– तराई–मधेशमा आगो लागिरहेको छ, सरकारले के गरिरहेको छ प्रधानमन्त्रीज्यू ?
जवाफमा बालेनले भने– ‘मैले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेँ । गृहमन्त्रीलाई पूर्व पठाएको छु । गृहमन्त्रीले स्थानीय स्तरमा समन्वय गरेर स्थिति नियन्त्रणमा लिनु हुने छ ।
त्यसपछि राष्ट्रपतिले फेरि सोधे– अरु के के छ सरकारको तयारी ?
बालेन केहीबेर बोलेनन् ।
त्यसपछि जवाफ दिन थाले– ‘सर्वदलीय बैठक पनि बसेको छ, सभापतिज्यूले दलहरूसँग समन्वय गरिरहनु भएको छ । मैले पनि मधेशका नेताहरूसँग छलफल गर्ने कि भनेर सोचिरहेको छु ।’
प्रधानमन्त्री बालेनले केही असजिलो महसुस गरेपछि राष्ट्रपतिले जेनजी आन्दोलनअघि, आन्दोलनको दौरान र जेनजी आन्दोलनपछि चुनावसम्मको अवस्थामा आफूले निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराए ।
राष्ट्रपतिले भनेका थिए– तपाईंले नै गर्नुपर्छ तर, तपाईंले एक्लै गरेर केही हुँदैन, दलहरूसँग समन्वय गर्नुस्, सामाजिक अगुवाहरूसँग छलफल गर्नुस्, सहयोग चाहियो भने म पन तयार छु, जसरी पनि यो अशान्ति अन्त्य हुनुपर्छ ।
राष्ट्रपतिले यसो भनिरहँदा बालेनले ध्यानपूर्वक सुनिरहेका थिए । राष्ट्रपतिले भनेका थिए– ‘जेनजी आन्दोलनपछि सरकार र दलहरूका बीचमा संवाद हुनै सकेको थिएन, संवादको ढोका मैले नै खोलिदिएको हुँ ।’
स्रोतका अनुसार, ‘राष्ट्रपति आफैले सर्वदलीय बैठक आह्वान गर्ने र त्यहाँ प्रधानमन्त्रीले सरकारको कुरा राख्ने वातावरण बनाइदिनेसम्मको आश्वासन’ राष्ट्रपतिले दिएका थिए ।
बालेनले भने रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरिसकेको र आफूले अब तराई–मधेशका सांसद र नेताहरूसँग छलफल गर्ने तयारीमा रहेको जवाफ दिए ।
‘प्रधानमन्त्रीले तराई–मधेशका सांसद र नेताहरूसँग शुक्रबार छलफल गर्ने आफ्नो योजना रहेको सुनाउनु भयो’ स्रोतले भन्यो ।
सोही अनुसार नै शुक्रबार प्रधानमन्त्री बालेनले तराई–मधेश प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरू र मधेश केन्द्रित दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री बालेनले कसैलाई दोषारोपण गरेनन् । राष्ट्रपतिका कुरा ध्यानपूर्वक सुने, आफ्नो जवाफ छोटकरीमा राखे ।
बिहीबार शीतलनिवासमा राष्ट्रपति–प्रधानमन्त्री संवाद भयो । प्रधानमन्त्रीले देशको अवस्था र सरकारको तयारीबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरे । राष्ट्रपतिले आफ्नो अनुभव सुनाए ।
शुक्रबारदेखि तराई–मधेशको अवस्थाको अवस्था सहज बन्दै गयो ।
सुनसरीको आवाज सरकारले सुन्न पाँच दिन लाग्यो । यदि सरकारले समयमै सुनसरीको आवाज सुनेको भए– कप्तानजञ्जबाट सुरु भएको आक्रोश सिरहा, सप्तरी, जनकपुरधाम हुँदै वीरगञ्जसम्म आइपुग्ने थिएन कि ?