काठमाडौं । २०८३ साउन ६ गते । नेपाली कांग्रेसले ४४औं बिपी स्मृति दिवस मनाउँदै उनीप्रति भक्तिभाव प्रकट गरिरहेको थियो । संस्थापक नेता बिपी कोइराला २०३९ साल साउन ६ गते दिवंगत भएका थिए । सोही दिनको सम्झनामा कांग्रेसजन नममस्तक हुन्छन् । नेपालको राजनीतिमा बिपीको योगदानको स्मरण गर्दै श्रद्धाभाव प्रकट गर्छन् ।
यसपालि कांग्रेसले दुई समूहमा विभाजित भएर बिपीलाई सम्झियो । श्रद्धाको फूल पनि अलगअलग चढायो ।
Watch On
६ गते बिहानै संस्थापन पक्षले ‘ग्रिन रन’को आयोजना गर्यो, लगत्तै जाउलाखेलमा जलवायु परिवर्तनका असर कम गर्ने उपायका बारेमा विमर्श गर्याे ।
दिउँसो कमलादीस्थित प्रज्ञा भवनको सभाकक्षमा इतर पक्षले सभा गर्यो । इतर पक्षको सभामा बिपीको सम्झना कम, संस्थापन पक्ष (सभापति गगन थापा) माथि प्रहार बढी भयो । राष्ट्रियताको रक्षाका लागि मेलमिलापको नीति अवलम्बन गर्ने नेता बिपी कोइरालाको स्मृति दिवसकै दिन इतर पक्षले पार्टी विभाजनको चेतावनी नै दियो ।
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै कांग्रेस सभापति गगनकुमार थापा
संस्थापनको ग्रिन रन होस् वा इतर पक्षको सभा, कुनै कार्यक्रममा कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठ सहभागी थिएनन् ।
बरु कुनै बेलाका आफ्नै सहकर्मी नेताहरुले पार्टी फोर्नेसम्मको धम्की दिइरहँदा गोपालमान श्रेष्ठ जाउलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा जीवन–मरणको दोसाँधमा थिए । उनको जिजीविषा पनि क्षीण बन्दै थियो ।
साउन ६ मा भनेका थिए– मलाई पार्टी कार्यालय लगिदिनू
विगत १० महिनादेखि प्यांक्रियाजको क्यान्सरबाट पीडित नेता गोपालमान श्रेष्ठको अनुहार मुर्झाउँदै गइरहेको थियो । उनको स्मृति र कान्ति दुवै क्षण बन्दै थिए ।
परिवारका सदस्यहरू, आफन्तहरू, पार्टीका नेता तथा कार्यकर्ताहरू अस्पताल पुग्थे र स्वास्थ्य लाभको कामना गर्थे ।
साउन ६ गते कांग्रेसका नेताहरू बिपी स्मृति दिवससँग सम्बन्धित कार्यक्रमले व्यस्त थिए ।
गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा
अस्पतालको शैय्यामा रहेका गोपालमानले पनि बिपीलाई सम्झिए । सँगै रहेका छोरा सम्पूर्ण श्रेष्ठलाई नजिकै बोलाएर सानो स्वरमा गोपालमानले भने– ‘मलाई पार्टी कार्यालय सानेपा लगिदिनू।’
बुवाले पार्टी कार्यालय लगिदिनू भने पनि लगिहाल्ने अवस्था थिएन । पार्टी कार्यालय जाने र बिपीको तस्बिरमा माल्र्यापण गर्ने गोपालमानको चाहना अधुरै रह्यो । उनै गोपालमानलाई सात दिनपछि, साउन १३ गते बिहान पार्टी कार्यालय लगियो, जतिबेला प्राणवायुले उनको शरीरलाई छोडिसकेको थियो । निचेष्ट थिए उनी ।
जिउँदै पार्टी कार्यालय जाने गोपालको धोको अधुरै रह्यो ।
आफ्नै सहकर्मी पुगेनन् सानेपा
साउन १३ गते, बिहान सबा नौ बजेतिर गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई सानेपा पुर्याइयो । अन्तिम श्रद्धाञ्जलिका लागि प्रांगणमा राखियो ।
गोपालमान श्रेष्ठलाई कांग्रेसका नेता, कार्यकर्ताले त श्रद्धाञ्जलि दिए नै, अन्य दलका नेता कार्यकर्ता पनि श्रद्धा प्रकट गर्न सानेपा पुगे ।
सभापति गगनकुमार थापाले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । गोपालमानले यही चार तारे झण्डाको रक्षाका लागि सात दशक संघर्ष गरेका थिए ।
रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता प्रदीप ज्ञवालीसहित विभिन्न दलका नेता पनि सानेपा पुगेर गोपालमानलाई श्रद्धाञ्जलि अर्पण गरे ।
तर, गोपालमानलाई श्रद्धाञ्जलि दिन कांग्रेस इतरपक्षका नेताहरू सानेपा पुगेनन् ।
गाेपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक प्रचण्ड, एमाले नेता प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, कांग्रेस सभापति गगन थापा र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि अनि नेताहरू प्रकाशशरण महत, शेखर कोइराला, एनपी साउद लगायत कोही पनि सानेपामा देखिएनन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्यो । निर्वाचन आयोगले मान्यता दिँदासम्म खड्का पक्षका नेताहरुले सानेपा छाडेका थिएनन्, जब सर्वोच्चले नै आधिकारिता थमायो, त्यसपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले सानेपा छाडे । त्यसयता उनीहरू सानेपा पुगेकै छैनन् ।
सानेपा नपुगेकोमा प्रश्न आउला भनेर इतरपक्षका केही नेता बिहानै सानेपास्थित निवासमा पुगे । अस्पतालबाट पार्थिव शरीर निवासमा लगेलगत्तै शशांक, प्रकाशरण, एनपी, दीपक खड्कालगायत केही नेता पुगेर श्रद्धाञ्जलि दिए र फर्किए ।
गोपालमान श्रेष्ठको निवास पुगेर श्रद्धाञ्जली दिँदै कांग्रेस इतरपक्षका नेताहरु ।
अरू बेला त पुगेनन्, आज गोपालमानलाई श्रद्धाञ्जलि दिनसमेत उनीहरू सानेपा जान उचित ठानेन् ।
इतर पक्ष सानेपासँग मात्रै टाढिएको छैन, गोपालमानसँग पनि टाढिएको थियो ।
त्यसपछि तोडियो देउवा–गोपालमान सम्बन्ध
गोपालमान श्रेष्ठ साढे तीन दशक शेरबहादुर देउवा पक्षका नेता भनेर चिनिए । पहिले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग निकट थिए, पछि सम्बन्धको त्यही लहरो देउवासँग गाँसियो ।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदकै एक सदस्य थिए– गोपालमान । कोइरालाले केही मन्त्री हटाउँदा गोपालमान पनि परे । गोपालमानसमेतलाई हटाएकोमा गणेशमानले सार्वजनिक रूपमा नै कोइरालाको आलोचना गरेका थिए ।
स्याङ्जाका गोपालमानले, स्याङ्जामा मात्रै नभई तत्कालीन गण्डकी अञ्चलमै कोइराला विरोधी खेमाको नेतृत्व गरे । यतिसम्मकि, त्यतिबेला स्याङ्जामा एउटा नारा नै बनेको थियो– ‘काठमाडौँमा गणेशमान, स्याङ्जामा गोपालमान ।’
२०५९ असारमा, जब कांग्रेस फुट्यो, गोपालमान देउवा पक्षमा लागे । देउवा सभापति हुँदा उनी उपसभापति थिए । शाही ‘कू’ पछि देउवा जेल परेपछि त गोपालमान नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यबाहक सभापति बने ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र गोपालमान श्रेष्ठ Photo: RSS
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालीन सात दलले २०६२/०६३ को जनआन्दोलन गर्दा एउटा पार्टीको कमाण्ड गोपालमानले नै सम्हालेका थिए ।
लोकतन्त्र बहालीपछि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भयो । देउवा वरिष्ठ नेता बने, गोपालमान उपसभापति ।
कांग्रेसका बाह्रौं, तेह्रौं र चौधौं महाधिवेशनमा पनि गोपालमान देउवाको पक्षमै रहे । चौधौं महाधिवेशनमा त सभापतिमा देउवाको प्रस्तावक गोपालमान नै थिए ।
तर, महाधिवेशनपछि देउवासँग गोपालमानको सम्बन्धमा खटपट देखिन थाल्यो । जब पन्ध्रौं महाधिवेशनको चर्चा र तयारी सुरु भयो, त्यसपछि त सतहमै देखिन थाल्यो । केन्द्रीय समिति बैठकमा समेत गोपालमानले थुप्रै पटक देउवाको आलोचना गरेका थिए ।
गोपालमानको चाहना थियो– अब देउवाले अनुभव र नेतृत्व शैलीका हिसाबले पनि आफूलाई अगाडि सार्नुपर्छ । देउवाले कुनै संकेत गरेनन् ।
जेनजी आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग लिखित रुपमा नै केन्द्रीय समितिमा पेश भयो ।
गोपालमान विशेष महाधिवेशनको पक्षमा उभिए । उनको यही निर्णयपछि देउवा पक्षका नेताहरुको समूहबाट गोपालमान अलग भए ।
भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा गोपालमान सहभागी भए, भाषण गरे । र, अब युवाहरुको समय आएको उद्घोष गरे । यसले देउवा र उनीपक्षका नेताहरुलाई गोपालमानसँग थप चिढ्यायो ।
विशेष महाधिवेशनले गगनलाई सभापति र विश्वप्रकाशलाई उपसभापतिसहित पदाधिकारी छान्दा गोपालमान पहिलो नम्बरका केन्द्रीय सदस्य थिए ।
केन्द्रीय सदस्य भए पनि गगन, विश्वले गोपालमानलाई अभिभावक र आफ्नो नेता मान्दै आएका थिए । साउन ७ गते, बिपी स्मृति दिवसकै अवसरमा कांग्रेसले राष्ट्रिय सभागृहमा आयोजना गरेको सभामा सभापति गगनकुमार थापाले गोपालमानलाई पार्टीको वरिष्ठ नेता घोषणा गरे ।
घोषणा गर्नुअघि नै गगनले यसबारेमा गोपालमानलाई जानकारी गराइसकेका थिए । अस्पतालको शैय्याबाटै गोपालमानले गगनलाई धन्यवाद दिएका थिए । गोपालमानले वरिष्ठ नेताको सम्मान त पाए, वरिष्ठ नेताको रुपमा पार्टी कार्यालय टेक्न पाएनन् । संरचनामा सम्बोधन गर्न पनि पाएनन् ।
नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था छैन । वरिष्ठ नेता राख्ने प्रचलन पनि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीचको एकतापछि सुरु भएको हो । त्यतिबेला गिरिजाप्रसाद कोइराला सभापति हुँदा शेरबहादुर देउवालाई वरिष्ठ नेता भनियो ।
बाह्रौं महाधिवेशनमा सुशील कोइराला सभापति चुनिए, देउवा पराजित भए । त्यसपछि पनि देउवा वरिष्ठ नेताकै रूपमा रहे । तेह्रौं महाधिवेशनमा त देउवा सभापति नै चुनिए । त्यसपछि कुनै पनि नेता विशेषलाई वरिष्ठ नेता भन्न छाडियो ।
देउवापछि वरिष्ठ नेताको पद र सम्मान पाउने नेता गोपालमान नै हुन् ।
कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै गोपालमान श्रेष्ठ ।
२०४८ सालयता, गोपालमान चार पटक सांसद बने, पटक पटक मन्त्री बने, उपप्रधानमन्त्री पनि बने । कांग्रेस प्रजातान्त्रिकको त कार्यबाहक सभापति नै बने । कांग्रेसमै एकीकरण भएपछि पनि उपसभापति बने । अब उनी बन्न बाँकी पार्टीको सभापति र प्रधानमन्त्री मात्रै बाँकी थियो ।
७९ वर्षको उमेरसम्म पनि उनी सक्रिय नै थिए । तर, रोगका लागि उनको सक्रियता र साहसको केही जोड चलेन । तैपनि १० महिनासम्म त संघर्ष गरेकै थिए । अन्तिममा रोगले जित्यो, गोपालमानले हारे ।
बाल्यकालमै बिपी र गणेशमानको समिपमा पुगेका गोपालमानले जीवनभर लोकतन्त्रका लागि संघर्ष गरे । पटक पटक गरी ६ वर्ष त जेल नै बसे ।
काठमाडौंमा नेताहरू कहिले कुन गुटमा त कहिले कुन गुटमा हुन्छन् । यसमा गोपालमान पनि अछुतो रहेनन् । तर, स्याङ्जामा गोपालमान सर्वमान्य नेता थिए ।
कांग्रेसका नेता, कार्यकर्ताले मात्रै होइन, अन्य पार्टीका नेता कार्यकर्ताले समेत गोपालमानलाई अभिभावक मान्थे ।
राजनीतिमा उदाएका पछिल्ला पुस्ताले त उनलाई काका भन्थे । गोपालमान काका । त्यसैले त धेरैले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्– अल बिदा गोपालमान काका ।
सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।
मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...बुधबार, साउन १३, २०८३
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न...बुधबार, साउन १३, २०८३
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने,...बुधबार, साउन १३, २०८३