नेभिगेशन
मुख्य समाचार

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

सुनसरी ।  बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।

कोशीटप्पुबाट सङ्कलन गरिएको निगुरो स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ। लगानी गर्न नपर्ने भएकाले निगुरो बिक्रीबाट हुने आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको स्थानीय बताउँछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्टाबारीकी मीरा मेहता विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छन्। उनी श्रीमान्सँगै दैनिक कोशीटप्पु पुगेर निगुरो खोजेर ल्याउँछिन्। बिहान ३ बजे घरबाट निस्किएर ६–७ घण्टापछि भन्टाबारी आइपुग्ने उनले बताइन्।

Ncell
Extreme Energy

'थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ। दैनिक हामी श्रीमान्–श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ। यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्,' उनले भनिन्।

मेहताका अनुसार दैनिक दुई हजारदेखि तीन हजार रुपैयाँभन्दा बढीको निगुरो बिक्री हुन्छ। 'व्यापार हो, कहिले कम हुन्छ, कहिले बढी पनि हुन्छ,' उनले भनिन्।

कोशीटप्पुबाट ल्याइएको निगुरो भन्टाबारीमा मुठा पार्ने, केलाउने र व्यापारीलाई बिक्री गर्ने गरिन्छ। स्थानीयस्तरमा निगुरो प्रतिमुठा १० रुपैयाँमा थोकमा बिक्री हुने गरेको छ। निगुरो बिक्रीबाट बालबालिकाको खाजा र घरखर्च चलाउन सहयोग पुगेको मेहताले बताइन्।

भन्टाबारीकै आशादेवी पनि १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो खोजेर बिक्री गर्दै आएकी छन्। उनी दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्मको निगुरो बिक्री गर्छिन्।

'बिहान सबेरै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जान्छु र त्यहाँबाट ल्याएर यहाँ बिक्री गर्छु। बजार धाउनु पर्दैन, यहीँबाट व्यापारीले सबै खरिद गरेर लैजान्छन्,' उनले भनिन्।

निगुरोको सिजनमा वर्षमा करिब पाँच–छ महिना व्यापार हुने आशादेवीले बताइन्। 'एकमुस्ट पैसा पाइने भएकाले गर्मीमा बिक्रीका लागि धेरै दुःख पनि गर्नु पर्दैन,' उनले भनिन्। निगुरो बिक्रीबाट घरखर्च टार्न सहयोग पुगेको उनको भनाइ छ।

महिनामा १२ लाखभन्दा बढीको निगुरो काठमाडौँ

स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरेर ल्याइएको निगुरो भन्टाबारीमा जम्मा गरी दैनिक काठमाडौँ पठाउने गरिएको छ।

उनका अनुसार भन्टाबारीबाट मात्रै महिनामा १२ लाख रुपैयाँभन्दा बढीको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा पठाइन्छ।

अर्का व्यापारी रामबहादुर गुप्ताले चार–पाँच वर्षदेखि निगुरोको खरिदबिक्री गर्दै आएका छन्। स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी काठमाडौँ पठाउने गरेको उनले बताए।

'यहाँ १० रुपैयाँमा खरिद गरेको निगुरो काठमाडौँमा १८ देखि २० रुपैयाँसम्ममा बिक्री हुन्छ। गाडी भाडालगायत खर्च कटाउँदा हामीलाई केही नाफा हुन्छ,' उनले भने।

स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर बिक्री गर्नुपर्ने अवस्था नरहेको गुप्ताले बताए। व्यापारीले एकमुस्ट खरिद गरिदिने भएकाले स्थानीयलाई बिक्री गर्न सहज भएको उनको भनाइ छ।

भन्टाबारी बजार क्षेत्रमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसममा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने गरेको छ। वर्षमा करिब छ महिना सञ्चालन हुने उक्त स्थानलाई स्थानीयले ‘निगुरो हाट’का रूपमा समेत चिन्ने गरेका छन्।

कोशीटप्पुको जङ्गलबाट सङ्कलन भएको निगुरो भन्टाबारी हुँदै व्यापारीमार्फत काठमाडौँको कालीमाटी बजारसम्म पुग्छ। स्थानीयका लागि भने निगुरोको सिजन केही महिनाको आम्दानी जुटाउने अवसर बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।
५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

नेपालमा विद्युत् उत्पादन सुरु भएको एक शताब्दीभन्दा बढी भइसक्दा देशको विद्युत् उत्पादन क्षमता हजारौँ मेगावाट पुगेको छ। तर नेपालको आधुनिक ऊर्जा यात्राको पहिलो अध्याय लेखेको फर्पिङ जलविद्युत् केन्द्र...