नेभिगेशन
समाज

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

काठमाडौं । बिहानै, मानिसहरू काममा लागिसकेका थिएनन् । अकस्मात भोटेकोशीको उग्र अनुहार देखियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हामीकहाँ दुईतिर भोटेकोशी छ । एउटा तातोपानी नाका हुँदै आउँछ । अर्को रसुवागढी नाका हुँदै । 

Ncell
Extreme Energy

बिहान ८ बजेसम्म रसुवागढी नाका हुँदै बग्ने भोटेकोशी शान्त नै थियो । सधैँ सुशाएकै शैली अपनाएको थियो ।

तर साढे आठ बजेपछि शैली फेरियो । उसको शान्त लयमा ज्वालामुखी थपियो । भीषण भूकम्प आएझैं जमिनमा कम्पन तुल्यायो । घर, रूखहरू हल्लन थाले ।

RN_Trishulia-1787727995.jpg
केरूङ नाका,  टिमुरेको भन्सार यार्ड, रसुवागढीलगायत हाइड्रोमा काम गर्नेहरूले के भयो, कसो भयो सोच्नै भ्याएनन् ।

केरूङ नाकाको त भयावह दृश्य छ । जमिन काप्न थालेपछि त्यहाँ भागदौड मच्चिन्न । उनी सडकैसडक दौडन्छन् । यसरी दौडनेमध्ये कतिपयलाई यो पनि थाहा हुँदैन, उनीहरूमाथि के हुुँदैछ ?

क्षणभरमै बहुलाएको भोटेकोशीले उनीहरूलाई एकै झट्कामा बेर्छ । उनीहरूको अवस्था के हुन्छ, कुनै दृश्यमाध्यमले कैद गर्न सक्दैन । सिसिटिभीले के सकोस् ।

केरूङभन्दा अघिको पनि त्यस्तै दृश्य छ । केही क्षणअघि शान्त ल्हेन्दो खोलाको साक्षी बसिरहेको एउटा हाइड्रोमाथि जब राक्षसी भोटेकोशी बज्रन्छ । त्यहाँका मानिसहरूले सोच्नै सक्दैनन् ।

ज्यान जोगाउन झार समात्दै, बुट्यान समात्दै डाँडा चढ्छन् । त्यस हाइड्रोमा काम गर्ने कतिलाई भोटेकोशीले लपेट्यो, अहिलेसम्म यकिन हुन सकेको छैन । स्याफ्रुबेसी पार गरेर त्रिशूलीको संगत पाउँदै अघि बढेको बाढी बेत्रावती पुग्दा अकल्पनीय भइसक्छ । पहाडै सोहोरेर बगेको भोटेकोशीलाई कसले छुन सक्नु ? कसले कल्पना गर्नु सक्नु ? त्यसको रौद्र रूपबारे कसले यकिन गर्न सक्नु ।

तटीय क्षेत्रका घर नाघ्दै आएको ज्वालामुखीतुल्य बाढीले बेत्रावती क्षणभरमै स्वाहा तुल्याउँछ । बगरमा मिलाइदिन्छ । बेत्रावती बजारको आँगनमा अहिले ठुल्ठूला ढुंगा पसारिएका छन् । बाढीले निलेको बजार खण्डहर बनेको छ ।

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(5)-1787734963.jpeg
बेत्रावतीपछि ढुंगे, त्रिशूली बजारको स्वरूप त्यस्तै छ, भग्न, उदेकलाग्दो । उराठ लाग्दो ।

त्रिशूली र तादीको दोभान देवीघाट बजार पनि हिलाम्य छ । नदी किनारका घर खोलाका आहारा बनेका छन् ।

गल्छी, मलेखुसहित कम्तीमा ६ बजार बगर बनेका छन् । 

भोटेकोशी विभीषिका २७० फिट माथिसम्म पुगेको अनुमान छ । यो लप्काले के बाँकी राख्यो, के सक्यो, कतिका आँसु मिसिए, कतिका सपना बगे, कतिको जीवन रित्तिए, कतिका जीवन खण्डहर बने त्यो बेहिसाब छ ।

गणितमै बताउने हो भने अहिलेसम्म कम्तीमा २१ जनाको मृत्यु भएको छ । भोटेकोशी भेलबाढीमा सुरक्षा निकायतर्फ नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका ३२ जना, सशस्त्रका ९ जना सम्पर्कविहीन छन् । उनीहरू जलविद्युत, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका थिए । बाढीमै ८ बैंकका २६ कर्मचारी हराइरहेका छन् ।

भोटेकोशी विपत्तिमा परी घाइतेको संख्या १०० नाघिसकेको छ । २५ बढीको काठमाडौंको उपचार भइरहेको छ । नुवाकोटको जिल्ला अस्पताललाई आधार बनाएर घाइते जम्मा गर्ने र थप उपचारका लागि अन्यत्र पठाउने काम भइरहेको छ ।

अहिलेसम्म राज्यको प्रयास नागरिक बचाउने छ । भौतिक संरचना हाम्रो काबुभन्दा बाहिरको कुरा भइगयो ।

भौतिक संरचनाकै कुरा गर्दा अहिलेसम्म सानाठूला गरी १७ वटा पुल बाढीले बगाएको छ । धादिङबेसी जोड्ने पुल नै बाढीले बगायो । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले २ खर्ब बराबरको भौतिक क्षति भएको बताएका छन् ।

dhading-1787736637.jpg
भौतिक संरचना त हामी साहस, धैर्य र एकताले फेरि उभ्याउँला । तर गुमेका जीवन हाम्रा लागि निकै पीडादायी छ । अमूल्य छ ।

तटीय क्षेत्र उठ्न गाह्रो परिरहँदा भोटेकोशी एक्कासि किन बहुलायो भन्ने प्रश्न छ ।

सरकार यसको कारण खोज्न लागेको छ ।

हामी केही तथ्य बताउने छौं ।

हामीले सुरूमै भन्यौं ल्हेन्दे खोलाको उत्पत्ति तिब्बतबाट हुन्छ । यसको स्रोत हिमताल नै हो । नेपाल र तिब्बती क्षेत्रका हिमताल संकटपूर्ण अवस्थामा छन् । विश्वव्यापी तापमानवृद्धिको सोझा असर हिमाली क्षेत्रमा परिराखेको छ । नयाँनयाँ हिमताल बन्ने, हिमनदीको सतहको पानी पग्लिएर ताल बन्ने गर्ेको छ । यसरी हिमनदीको सतह, हिमालभन्दा मुनिका ठाउँमा ससाना पोखरी बन्ने उपक्रम सुप्रग्यासियर लेक हो । गतसाल यस्तै ताल फुट्दा त्यही भोटेकोशीमा भीषण बाढी आएको थियो । भन्सार यार्डसहित सुरक्षाकर्मी बेपत्ता बनाएको थियो। स्याफ्रुबेसी–केरूङ जोड्ने बाटो, मितेरी पुल बगाएको थियो ।

जसको पुनर्निर्माण भर्खरै भएको थियो।

यसपटकको घटना भिन्नै छ ।

यसपटककको घटनाबारे हामीले बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद विनोद पराजुलीलाई सोध्यौं । उनले यसबारे चिनियाँ पक्षले पनि अध्ययन गरिरहेको बताए । सुरूमा चिनियाँ पक्षले हिमताल विस्फोटको आकलन गरेका थिए । नेपाली विज्ञहरूको मत अहिले पनि त्यही छ ।

हिमताल नफुटी यत्रो परिमाणमा बाढी आउनै नसक्ने उनीहरूको भनाइ छ । दुई वर्षअघि सोलुखुम्बुको थामेमा हिमताल विस्फोट हुँदा तल्लो तटीय क्षेत्रमा पुगेको असरबाट हामी हिमताल फुट्दाको क्षति बुझ्न सक्छौं ।

RSS3-1787727991.jpg
त्यसपछि चिनियाँ पक्षले दोस्रो अध्ययन पठाएको थियो । जसमा हिमपहिरोपछि नदी थुनिएको र एक्कासि खोलिँदा अकल्पनीय बाढी गएको चिनियाँ पक्षले बताएको थियो ।

यो विश्लेषण यथार्थको नजिक छ ।

जल तथा मौसम विज्ञान विभागले प्लानेट ल्याबको भूउपग्रह तस्बिरका आधारमा ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा भीषण चट्टानसहितको पहिरो खसेको विश्लेषण गरिएको छ ।

‘प्लानेट ल्याबका स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखाएको छ,’ विभागले भनेको छ ।

यद्यपि यो नै अन्तिम सत्य होइन । यसबारे थप अध्ययन आवश्यक रहेको विभागले बताएको छ ।

भोटेकोशी बहुलाउनुको प्रारम्भिक कारण बाहिर आइसकेको छ ।

यस्तो बाढीले किन यसरी बढी क्षति पु¥याउँछ भनेर पनि हामीले थाहा पाउनुपर्छ ।

हिमताल फुटेर, बरफ पग्लिएर, हिउँको चट्टान झरेर आउने बाढीले भेलबाढी निम्त्याउँछ । हिमाली, पहाडी क्षेत्र स्वाभाविक हिसाबले भिरालो हुने हुँदा लेदोसहितको बाढीकोको तीव्रता अकल्पनीय हुन्छ । यसमा पानीको मात्रा केबल ३० प्रतिशत हुन्छ । ७० प्रतिशतसम्म थेग्रिनी हुन्छ । विपदसम्बन्धी जानकार श्रीकमल द्विेदीले सेती भेलबाढीमा यस्तो अध्ययन गरेका थिए ।

उनले गरेको अध्ययनअनुसार उक्त बाढीमा ६५ प्रतिशतसम्म गेग्रान थियो ।

यस्तो गेग्रान बहावसँग भीमकाय ढुंगा ल्याउने तागत हुन्छ । एकै झट्कामा घर पल्टाउने शक्ति हुन्छ । पुलहरू जुरूक्कै उठाउने सामर्थ्य हुन्छ ।

घरभन्दा माथिमाथिसम्म फैलने यसका ज्वारभाटाले जेसुकैलाई निमेषभरमै निमिट्यान्न बनाउनसक्छ ।

बेत्रावतीमा देखिएको स्वरूपले तल्लो तटीय क्षेत्रमा केके विपत्ति निम्त्यायो, कुन हदसम्म कटाउन ग¥यो, केके सोहो¥यो, त्यो बताउन सकिँदैन ।

भोटेकोशीको संकेत मेलम्ची, थामे र हुम्लाको नाम्खाले दिएकै थियो । हामीले पूर्वानुमान प्रणाली, सीमापार विपद संयन्त्र, सूचना आदानप्रदान व्यवस्थित गर्न सकेनौं । सरकारी संयन्त्र हुस्सु बन्यो ।

सरकारी संयन्त्रको यही उदासीनता, लाचारीका कारण भोटेकोशीबाढीले कयौंको जीवन निल्यो ।

जे नहुनु भइसक्यो, समीक्षा पछि गरौंला । कमजोरी सुधारौंला । 

पहिला मान्छे बचाऊँ ।

विपत्तिको सुरूआतमा मानिसको जीवनरक्षा नै प्राथमिता हो । मान्छे बचाउन सक्दा ठूलो उपलब्धी हुन्छ । सरकारले ध्यान यसैमा छ ।

नेपालको उत्तरी सीमाभन्दा झण्डै पाँच सात किलोमिटर पर– चीनको तिब्बतबाट आएको बाढी केही घण्टामै दक्षिणी भारतको सीमासम्मै पुग्यो । तिब्बतको ल्हेन्दे खोलाबाट रसुवाको भोटीकोशी नदीमा मिसिएको बाढीको प्रभाव सात जिल्लामा परेको छ ।

भोटेकोशी र त्रिशूली नदी किनारको सभ्यतामै गम्भीर क्षति पुगेको छ । 

बाढीले यति धेरै क्षति पुर्याएको छ कि, यसले पुर्याएको क्षतिलाई एघार वर्षअघिको महाभूकम्पको क्षतिसँग तुलना गर्न थालिएको छ । देशले मानवीय र आर्थिक दुवै रुपमा ठूलो क्षति भोगेको छ । 

तीर्थस्थल हिँडेका ३८४ पर्यटक, गोसाइँकुण्ड हिँडेका पदमार्गी बेपत्ता छन् । बससहित मानिसहरू हराइरहेको भन्दै सूचना आएका छन् । सम्पर्कविहीन बनेकाहरूको परिवारजन अहिले शोकमा चुर्लुम्म डुबेका छन् । उनीहरूले आज रात नपरे पनि हुन्थ्यो भन्ने सोचिरहेका होलान् । 

सकुशल भेटिन्छन् कि भन्ने आशमा रहेका परिवारलाई मानिसहरू मृत फेला परेका तस्बिर, दृश्यले आहत बनाइरहेको छ।

उनीहरूको परिवारमा के बितिरहेको छ, हामी अनुमान गर्न सक्दैनौं।

यो संकटको घडीको सामना गर्न सिंगो देश एकजुट भएको छ । राहत र उद्धारमा सरकार, सरकारी संयन्त्रहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, निजी क्षेत्र, गैरसरकारी तथा सामाजिक संघ संस्थाले हातेमालो गरेका छन् ।

विपदका बेला एकजुट हुने नेपाली संस्कार र परम्परा नै हो । भूकम्प, मेलम्ची भेलबाढीमा पनि यो देखिएकै हो ।

राजनीतिक दलको झण्डा होइन, मानवीय सहायता पहिलो प्राथमिकता हो भन्ने भावनालाई नेपालका राजनीतिक दल र तिनका नेताले यसपालि पनि प्रमाणित गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकबाटै राहत र उद्धारका लागि सबैलाई अपिल गरे । 

बैठकमा प्रतिपक्षी दलका नेताहरुको आवाज पनि समान रह्यो । 

सत्तारुढ दल रास्वपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत दलहरुले आकस्मिक बैठक डाकेर राहत र उद्धारमा सक्रिय हुन आ आफ्ना संयन्त्रलाई आग्रह गरे । प्रभावित क्षेत्रका नागरिकहरुलाई सहयोग गर्न सरकारसँग हातमा हात मिलाउने निर्णय गरे ।

बाढीले अकल्पनीय क्षति पुर्याएको छ । यातायात अबरुद्ध छ । सडक र पुल बाढीसँगै बगेका छन् । ४ सय मेगावाटभन्दा बढी जलविद्युत उत्पादन बन्द भएको छ । त्रिशूली र भोटेकोशी नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत परियोजनाहरु बगेका छन् । बस्ती मात्रै होइन, सहरै बगेका छन् ।   

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन् । तीर्थ जाँदै गरेका यात्री बाढीसँगै बेपत्ता छन् । पदयात्रामा निस्केका पर्यटकको अवस्था बेखबर छ । भोटेकोशीको बाढीले नेपालको पर्यटन क्षेत्रलाई पनि असह्य पीडा दिएको छ ।

प्रकृतिले हामी नागरिकहरूमाथि पटकपटक संयम र धीरताको परीक्षा लिन्छ । जस्तै विपत्तिलाई धैर्यले सामना गर्दै आएका छौं ।

यो परीक्षामा पनि हामी धैर्य, संयम र सदासयताले नै जित्नेछौं ।

पीडित, प्रभावितहरूको घाउमा आफूले सकेको मल्हमपट्टी गरौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...