नेभिगेशन
समाज

भोटेकोशीमा कसरी बाढी आयो, कति पुगेको थियो जलसतह ? (प्रतिवेदनसहित)

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा १६८ किलोमिटर दूरी पार गर्दै नारायणी नदीको देवघाटसम्म पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनअनुसार भदौ १० गते बिहान ९ः१५ बजे भोटेकोशीमा प्रवेश गरेको बाढी दिउँसो ३ः२० बजे देवघाट क्षेत्रमा पुगेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीको बहाव भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर तल्लो तटीय क्षेत्रमा फैलिएको थियो। घटनाको सुरुवातदेखि नै जलसतह र बहावको अवस्थालाई निरन्तर अनुगमन गर्दै महाशाखाले विभिन्न जिल्लाका नदी तटीय बस्तीमा पूर्वसूचना प्रवाह गरेको थियो।

Ncell
Extreme Energy

प्रतिवेदनअनुसार तिब्बत–नेपाल सीमादेखि नारायणीको देवघाटसम्मको दूरी १६८ किलोमिटर छ। सीमाबाट करिब ९ किलोमिटर तल भोटेकोशी रसुवागढी जलमापन केन्द्र, त्यसपछि ३६ किलोमिटरमा त्रिशूली बेत्रावती, थप ५६ किलोमिटरमा त्रिशूली–मलेखु (फुर्के खोला), थप ३६ किलोमिटरमा त्रिशूली कालीखोला र त्यसपछि १३ किलोमिटरमा त्रिशूली भोर्ले जलमापन केन्द्र रहेका छन्। भोर्लेबाट थप १८ किलोमिटर तल नारायणीको देवघाट जलमापन केन्द्र रहेको छ।

बिहानैदेखि बाढीको संकेत

बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजे भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। उक्त केन्द्रबाट प्राप्त अन्तिम तथ्याङ्क बिहान ८ः४० बजे १.६२ मिटर थियो। सो केन्द्रको चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेको प्रतिवेदनमा उल्लेख छ।

बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय रसुवा तथा बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना महाशाखालाई प्राप्त भएको थियो।

त्यसपछि बिहान ९ः१५ बजे बाढी भोटेकोशीमा प्रवेश गरेको औपचारिक सूचना प्राप्त भएको थियो। महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा प्रारम्भिक पूर्वसूचना पठाउँदै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

बिहान ९ः१६ बजे नेपाल टेलिकम र एनसेलमार्फत ठूलो संख्यामा एसएमएस पठाइएको थियो। उक्त चरणमा मात्रै ६ लाख ७९ हजार २९५ वटा एसएमएस प्रवाह गरिएको थियो। नेपाल टेलिकमबाट ४ लाख ३५ हजार ६३५ र एनसेलबाट २ लाख ४३ हजार ६६० वटा एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।

यसका अतिरिक्त फोन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत समेत निरन्तर सतर्कता अपनाउन आग्रह गरिएको थियो।

बेत्रावतीपछि पनि जलमापन केन्द्रहरू बन्द

बिहान ९ः२० बजे बेत्रावती जलमापन केन्द्रबाट समेत तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। त्यसबेला केन्द्रमा अन्तिम जलसतह ३.५५ मिटर मापन भएको थियो। उक्त केन्द्रको चेतावनी तह ४.१ मिटर र खतरा तह ५ मिटर रहेको थियो।

यसपछि बाढी तल्लो तटीय क्षेत्रमा तीव्र रूपमा अघि बढेको थियो।

बिहान १०ः२८ बजे बाढी धादिङको गल्छी आसपास पुगेको अनुमान गरिएको थियो। त्यसबेला केही घण्टामै बाढी मुग्लिन पार गर्ने अनुमान गर्दै पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा पुनः उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको थियो।

मलेखुमा खतरा तह पार

बिहान ११ः२६ बजे फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो। जलसतह निरन्तर बढ्दै गएपछि ११ः४३ बजे खतरा तहसमेत पार गरेको थियो।

खतरा तह पार गरेको केही समयमै फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ। यसका कारण उक्त केन्द्रबाट थप तथ्याङ्क प्राप्त हुन सकेन।

बाढी मलेखु बजार आसपास पुगेपछि ११ः५० बजे महाशाखाले करिब आधा घण्टामा मुग्लिन पार गर्ने अनुमान गरेको थियो। मुग्लिन, नारायणघाट तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान एसएमएसमार्फत अनुरोध गरिएको थियो।

दिउँसो १ बजे मुग्लिन पार

दिउँसो १ बजे बाढी मुग्लिन पार गरिसकेको जानकारी प्राप्त भएको थियो। त्यसपछि महाशाखाले देवघाटसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई नदी आसपासबाट सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

दिउँसो १ः२० बजे चितवन–देवघाट बाढी मापन केन्द्रमा जलसतह ४.७६ मिटर मापन भएको थियो। त्यतिबेला मुख्य बाढीको बहाव करिब ३ः३० बजे देवघाट पुग्ने प्रारम्भिक अनुमान गरिएको थियो।

महाशाखाले जलसतहमा करिब ३ मिटर वृद्धि भई करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक आँकलन गरेको थियो।

माथिल्लो भोटेकोशीमा जोखिम कायमै

यसैबीच दिउँसो १ः३५ बजे चीनतर्फबाट प्राप्त सूचनाले थप जोखिम देखाएको थियो। नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी प्राप्त भएपछि महाशाखाले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको सूचना पुनः प्रवाह गरेको थियो।

नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेका कारण माथिल्लो भोटेकोशीमा थप पानीको बहाव आउन सक्ने सम्भावनालाई तत्काल नकार्न नसकिने प्रतिवेदनमा उल्लेख छ।

कालीखोलामा पनि खतरा तह पार

दिउँसो २ः१४ बजे कालीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको थियो। उक्त केन्द्रको खतरा तह १२.१ मिटर रहेकोमा जलसतह निरन्तर बढेको थियो। केन्द्रमा उच्चतम जलसतह १२.३ मिटर मापन भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसपछि बाढी त्रिशूली हुँदै नारायणी नदीतर्फ अघि बढेको थियो।

३ः२० बजे देवघाटमा बाढी

दिउँसो ३ः२० बजे स्वचालित बाढी मापन केन्द्रबाट नारायणी–देवघाट क्षेत्रमा बाढी पुगिसकेको र जलसतह बढ्दो क्रममा रहेको सूचना प्राप्त भएको थियो।

त्यसको करिब ४० मिनेटपछि साँझ ४ बजे देवघाट जलमापन केन्द्रमा बाढीको उच्चतम अवस्था मापन भएको थियो। त्यसबेला जलसतह ६.५७ मिटर पुगेको थियो। त्यसपछि भने जलसतह घट्न थालेको प्रतिवेदनमा उल्लेख छ।

देवघाटमा दिउँसो २ः१० देखि साँझ ६ बजेसम्म जलसतह र बहावमा उल्लेख्य वृद्धि भएको थियो। सो अवधिमा करिब १६ बजे अधिकतम बहाव ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको थियो।

केन्द्रमा सामान्य अवस्थाको आधार बहाव २ हजार ६०० घनमिटर प्रतिसेकेन्डलाई आधार मानेर गरिएको गणनाअनुसार देवघाटबाट पार भएको कुल पानीको अनुमानित आयतन ५७.४० मिलियन घनमिटर रहेको थियो। त्यसमध्ये आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन १९.९६ मिलियन घनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ।

साँझसम्म बहाव सामान्यतर्फ

साँझ ६ः३० बजेसम्म देवघाटमा नदीको बहाव सामान्य अवस्थातर्फ फर्किँदै करिब ४ मिटरमा आएको थियो। प्रतिवेदनले प्रारम्भिक रूपमा देवघाटबाट पार भएको अतिरिक्त बाढीको पानीको आयतन करिब २ करोड घनमिटर देखाएको छ।

यद्यपि बाढीको मुख्य बहाव तल्लो तटीय क्षेत्रमा पुगिसकेपछि पनि नदी किनार तथा सम्भावित डुबान क्षेत्रमा जोखिम पूर्ण रूपमा समाप्त भएको मानिएको थिएन।

बाढी पूर्वानुमान महाशाखाको सक्रियता

बाढीको घटनाका क्रममा महाशाखाले एसएमएससँगै विभिन्न माध्यमबाट पूर्वसूचना प्रवाह गरेको थियो। प्रतिवेदनअनुसार कुल ६ लाख ७९ हजार २९५ एसएमएस पठाइएको थियो।

त्यस्तै महाशाखामा नेपाल टेलिकम र एनसेलमार्फत १४७ वटा फोन कल प्राप्त भएका थिए। नेपाल टेलिकमबाट १०१ र एनसेलबाट ४६ कल प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

महाशाखाले तीन वटा भिडियो अन्तर्वार्ता, दुई वटा फेसबुक लाइभ, ११ वटा फेसबुक पोस्ट तथा ३० वटा सञ्चारमाध्यम अन्तर्वार्तामार्फत समेत बाढीको अवस्था र सावधानीका विषयमा जानकारी प्रवाह गरेको थियो।

चितवन र नवलपरासीमा ठूलो डुबानको सम्भावना कम

प्रतिवेदनको प्रारम्भिक आकलनअनुसार चितवन तथा नवलपरासी क्षेत्रमा ठूलो स्तरको डुबानको सम्भावना कम देखिएको थियो। तर नदीको जलसतह बढ्दो अवस्थामा रहेको, स्थानीय भू–आकृति तथा नदी किनारका तल्लो भूभागमा पानी पस्न सक्ने सम्भावना रहेको र रातिसमेत वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको थियो।

तीन जलमापन केन्द्र बाढीले बगायो

बाढीका कारण रसुवाको भोटेकोशी स्याफ्रुबेँसी, नुवाकोटको त्रिशूली बेत्रावती र धादिङको मलेखु (फुर्के खोला) जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन सकेन।

यस घटनाले अत्यधिक बाढीको अवस्थामा वास्तविक समयको तथ्याङ्क संकलन गर्ने पूर्वाधारसमेत जोखिममा पर्न सक्ने देखाएको छ। त्यसैले आगामी दिनमा जलमापन केन्द्रको थप सुरक्षित व्यवस्थापन र वैकल्पिक तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।

जोखिम अझै सकिएको छैन

बाढीको मुख्य बहाव देवघाट पार गरिसकेको भए पनि माथिल्लो भोटेकोशी क्षेत्रमा नदी थुनिएको स्थानको अवस्था पूर्ण रूपमा सामान्य नभएको सूचनाका कारण जोखिम पूर्ण रूपमा समाप्त नभएको महाशाखाको निष्कर्ष छ।

महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीका प्रमुख जलमापन केन्द्रमा वास्तविक समयमै निरन्तर अनुगमन गर्न, चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्थाबारे प्राप्त सूचनालाई अद्यावधिक गर्न र देवघाट तथा तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव निरन्तर मूल्याङ्कन गर्न सिफारिस गरेको छ।

त्यस्तै नदी किनार तथा सम्भावित डुबान क्षेत्रमा रहेका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
भोटेकोशी  बाढीका घाइते भेट्दै आङ्देम्बेले भने– उपचारमा कुनै कमी नहोस्

भोटेकोशी  बाढीका घाइते भेट्दै आङ्देम्बेले भने– उपचारमा कुनै कमी नहोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।