नेभिगेशन
समाज

जीवितै छन् भन्ने आशा गुमाइसकेका यामबहादुर जब फर्किए...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब ६ दशकपछि जन्मथलो फर्किएका हुन् । तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए । 

Ncell
Extreme Energy

देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गर्नुभएको थियो । उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए । “मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भने, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”

निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उनलाई फूलमाला लगाएर स्वागत गरे । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।

“एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भने, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।”

तिलिजा चार भाइमध्ये जेठा हुन् । उनका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन् ।  

तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसे । उनी भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुगेका थिए । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भने ।

मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किँदा भने उनले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन् । 

उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका थिए । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भने, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।”

रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए । उनका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने दिर्घकालीन योजना सार्वजनिक गरेको छ ।
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब...
गोरखामा बाढीले चार घर बगायो

गोरखामा बाढीले चार घर बगायो

गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।