नेभिगेशन
समाज

छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला

महेन्द्रनगर । रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौरा भदौ १० गते बिहान ८ः३० बजे आमासँग फोनमा कुरा गर्दै थिए। आमालाई उपचारका लागि चिन्ता नगर्न ढाडस दिँदै उनले एक–दुई दिनमा घर फर्किने र भारतको नयाँ दिल्ली लगेर उपचार गराउने बताएका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'आमा, एक–दुई दिनमा घर आउँछु। चिन्ता नलिनू। दिल्ली गएर हजुरको उपचार राम्रोसँग गरौँला,' छोरासँगको अन्तिम संवाद सम्झँदै सुनिता डगौराले भनिन्, 'गरिबीले छोरा घरमा कहिल्यै बसेन। मजदुरीका लागि यताउता नै भयो। उसको कमाइले हाम्रो घरको चुल्हो बल्थ्यो। अब त घरमा दिउँसै अँध्यारो भयो।'

Ncell
Extreme Energy

आर्थिक अवस्था कमजोर भएकै कारण सुनिता विगत चार महिनादेखि दुवै मिर्गौलामा समस्या देखिए पनि घरमै थला परेकी छन्। यसअघि भारतको बरेलीमा उपचार गराउँदा डेढ लाख रुपैयाँ खर्च भएको उनका श्रीमान् बन्दुराम डगौराले बताए।

पैसा नभएर गत असारयता अस्पताल लैजान नसकिरहेका बेला छोरा अभिषेक भदौ १० गते रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्।

'मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ। छोराले ‘म उपचार खर्च त कमाइहाल्छु बुबा’ भन्थ्यो,' बन्दुरामले रासससित भने, 'उपचार खर्चसहित घरको खर्च चलाउने आशा दिएको छोरो बाढीपछि सम्पर्कविहीन हुँदा परिवारको सहारा गुमेको छ।'

गत जेठमा मात्रै अभिषेक लाङटाङ जलविद्युत् आयोजनामा काम गर्न रसुवा पुगेका थिए। त्यसअघि उनले भारतको बैङ्लोरमा काम गरेका थिए।

'बुबा चिन्ता नगर्नु, आमाको उपचार गरिहालौँला भन्थ्यो,' बन्दुरामले भने, 'भरोसा दिने छोराको न सास न लास पाउने अवस्था भयो।'

दुई छोरा र एक छोरीमध्ये २५ वर्षीय अभिषेक बन्दुरामका जेठा छोरा हुन्। छोरीको बिहे भइसकेको छ भने कान्छो छोरा पनि पढाइ छाडेर घरमै छन्।

'जेठो छोरा बाढीले बेपत्ता भएपछि गाउँलेले श्रीमतीको उपचारका लागि ६५ हजार रुपैयाँ चन्दा सङ्कलन गरेका छन्। केहीले दिएको चामलले भोक मेटाउँदैछौँ,' उनले भने।

श्रीमती मिर्गौला पीडित र छोरा सम्पर्कविहीन भएको अवस्थामा आर्थिक अभावकै कारण अस्पताल लैजान नसकेको बन्दुरामले बताए।

'एक पटक उपचारका लागि जाँदा १६ हजार भारतीय रुपैयाँ लाग्छ। आफूसित एक हजार ६०० पनि छैन,' उनले भने, 'वडा कार्यालयको सिफारिसपछि चन्दा सङ्कलन गरेर भए पनि उपचारमा लैजान्छु। नत्र बिना पैसा कसले उपचार गरिदेला र?'

घर बनाउने मिस्त्रीको काम गर्दै आएका बन्दुरामले परिवारमा समस्या परेपछि आफ्नो कामसमेत प्रभावित भएको बताए।

छोराको खोजीका लागि उनी काठमाडौँसम्म पुगे। तर अभिषेकको अवस्थाबारे कुनै जानकारी पाउन सकेनन्।

'छोरा खोज्न काठमाडौँसम्म पुगेँ। न सास न त लासकै अवस्था पत्ता लाग्यो,' उनले भने, 'ठेकेदारले छोराले काम गरेको १५ हजार रुपैयाँ पारिश्रमिक लिएर तीन दिन बसेँ र भारी मन लिएर घर फर्किएँ। छोरालाई लिएर फर्किने आशामा निराशा र रोदन मात्रै बाँकी रह्यो।'

बेपत्ता अभिषेककी आमा सुनिताले आफ्नो जीवन बचाइदिन सहयोगको याचना गरेकी छन्।

'छोराको त अवस्था सरकारले पत्ता लगाउन सकेन। मेरो उपचारमा त केही सहयोग गर्ला र?' उनले भनिन्, 'मेरो अवस्थाकै कारण घर फर्किने तयारी गरिरहेको छोरा बाढीमा बेपत्ता भयो।'

घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले उपचार पाउन नसकेको सुनिताले बताइन्।

'थोरै जग्गा थियो। त्यो पनि बन्धक राखेर भारतको बरेलीमा उपचार गरेको ऋण नै छ,' उनले भनिन्, 'अहिले पनि श्रीमान् उपचारका लागि ऋण खोजिरहनुभएको छ। अब उपचारका लागि ऋण खोज्ने कि सम्पर्कविहीन छोरा खोज्ने?'

बन्दुराम डगौराको परिवारको पीडा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का सांसद दीपकराज बोहराले सोमबार प्रतिनिधिसभाको बैठकमा समेत उठाएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै १४ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेको बताएका थिए।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराले सुनिताको स्वास्थ्य अवस्था समेटिएको पत्र बनाइदिएको बताए।

'छोरा रसुवा बाढीमा परेर सम्पर्कविहीन छन्। आमा दुवै मिर्गौलामा समस्या देखिएर समस्यामा परेको अवस्था छ। घरमा छाक टार्नलाई अन्न नभएको अवस्था छ,' वडाध्यक्ष डगौराले भने, 'गाउँलेले जीवन रक्षाका लागि हात अघि बढाएका छन्। सबैको सहयोग भयो भने नेपालमा उपचार गराउने योजना छ। तर पैसा जुटिसकेको छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहनेछ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
भोटेकोशी बाढी- जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी- जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् ।