नेभिगेशन
समाज

बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले यसरी गरे सृष्टि बास्तोलाको अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते दुई साथीसहित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

Ncell
Extreme Energy

छोरीको खोजीमा उनका बुबा माधव बास्तोला दुईपटक रसुवा र नुवाकोट पुगेका थिए। बाढीले पुर्‍याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन। तर घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए।

“बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन्। बिहान परिवारसँग कुराकानी भएको रहेछ। त्यसपछि कुनै जानकारी प्राप्त भएन,” गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ। तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो।”

दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधुरै भएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए। अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको उनले बताए।

“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ,” बरालले भने।

भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ।

टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन थिए। लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।

यसैबीच भोटेकोशी बाढीमा परी भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्तीको पनि बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।

बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए।

“खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ। अब उपाय बाँकी रहेन। काजकिरिया सुरु गरेका हौँ,” उनले भने।

बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उनकी ४३ वर्षीया श्रीमती राधिका रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन भएका थिए। त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला पर्न सकेको छैन।

यस्तै, सोही बाढीमा बेपत्ता मर्स्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन। उनको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ।

भण्डारी माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सबइन्जिनियरका रूपमा कार्यरत थिइन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षण गर्न पठाइएको उनले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

एन्टी स्नेक भेनमको अभाव भएपछि बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सेवा बन्द गरेको छ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।