काठमाडौं। नेकपा एमालेमा चलिरहेको पुनर्गठनको बहसलाई प्रदीप ज्ञवालीले खारेज गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा काउण्टर प्रतिवेदन तयार पार्दै उनकै महिमामण्डन गरेका हुन्।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्रपक्षको वस्तुनिष्ठ समीक्षा गर्नु पर्दछ,’ उनले प्रतिवेदनमा भनेका छन्।
पार्टी अध्यक्ष ओलीको नेतृत्वमा नेपालको राजनीतिमा हावी हुन खोजिरहेका हिंसा एवं जातिवाद र क्षेत्रीयवादमा आधारित विग्रहकारी एजेण्डाहरूको प्रतिवाद गर्ने कुरामा महत्वपूर्ण सफलता हासिल भएको ज्ञवालीले उल्लेख गरेका छन्। ओलीकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको तथ्य बिर्सन नमिल्ने ज्ञवालीको ठहर छ।
‘उहाँकै नेतृत्वमा संविधान जारी गर्ने कुरामा रोक लगाउन खोज्ने बाह्य हस्तक्षेप र संविधान जारी भएपछि लगाइएको अघोषित नाकाबन्दीको डटेर सामना गर्दै त्यसलाई असफल बनाउने काम भएको हो। उहाँकै नेतृत्वमा उत्तरी छिमेकी चीनसँग व्यापार पारवहन सम्झौता गरेर नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउने कुरामा सफलता प्राप्त भएको हो। भूकम्पपछिको पुननिर्माण, कोभिड महामारीको सामना, पूर्वाधार विकास र सामाजिक न्याय र सुरक्षाको विस्तारमा समेत महत्वपूर्ण सफलता हासिल भएको हो। दैलेखको ग्याँस खानी र धौवादीको फलाम खानीको अन्वेषण र मुस्ताङको युरेनियम खानीको खोज उक्त समयका युगान्तकारी महत्वका उपलब्धी हुन्। २०७४ सालको आमनिर्वाचनमा वामगठबन्धन बनाएर प्राप्त गरेको सफलता नेपालको कम्युनिष्ट आन्दोलन तथा हाम्रो पार्टी जीवनको सबैभन्दा ठूलो उपलब्धी थियो,’ ज्ञवालीको निष्कर्ष छ।
भदौ २३/२४ को घटनापछि विभिन्न राजनीतिक दलहरूले त्यसको प्रभावको सामना गर्न र नेतृत्व बारेमा उठेका प्रश्नको निक्र्यौल गर्न विभिन्न नीति अवलम्बन गरेको सन्दर्भ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
एमालेले मंसिर अन्तिममा अर्ली महाधिवेशन मार्फत् नेतृत्वको पुनःअनुमोदनको बाटो अवलम्बन गरेको बताएका छन्। नेपाली काङ्ग्रेसमा ‘पुरानो नेतृत्वलाई लिएर चुनावमा जान सकिँदैन’ भन्ने बहस उत्पन्न भएको र उसले ‘विशेष महाधिवेशन’ मार्फत् नयाँ नेतृत्व चयन गरेर चुनावमा गएको ज्ञवालीले बताएका छन्। नेकपा (माओवादी– केन्द्र)ले पुरानो पहिचानलाई नै बदलेर विभिन्न समूहसँग ‘पार्टी एकता’ गरेर नयाँ आवरणसहित निर्वाचनमा सहभागी भएको उल्लेख गरेका छन्।
त्यस्तै मधेसी दलहरू मोर्चा बनाएर निर्वाचनमा होमिएको, केही व्यक्तिहरूले ‘नयाँ दल’ को नाममा निर्वाचनमा भाग लिएको सन्दर्भ जोडेका छन्।
‘तर निर्वाचनमा यी सबै प्रयोगहरू असफल भए । त्यतिबेलाका सत्तारूढ पार्टीहरू मात्रै होइन, विपक्षी र सधैभरि प्रतिपक्षमा रहेका दलहरू समेत निर्वाचनमा पराजित भए । किनभने यो कुनै पार्टी विशेष या नेता विशेष विरूद्धको आक्रमण थिएन, नेपालले सुरू गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताबाट निर्मित संविधान मार्फत्शासित हुने नयाँ युग, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको साँचो उपयोग तथा प्रगतिशील एवं लोकतान्त्रिक प्रणालीको कोर्स परिवर्तन गर्ने पश्चगामी योजनाको कडी थियो। तत्कालीन अवस्थामा हामी सरकारको नेतृत्वमाभएको र यस घटनाको प्रतिवादमा अग्रणी मोर्चामा उभिएका कारण प्रहारको निशानामा हामी परेको भए पनि लोकतन्त्र, राष्ट्रियता र संविधानका पक्षधर सबै शक्तिले यस निर्वाचनमा क्षति बेहोर्नु परेको छ । हामीले निर्वाचनको परिणामलाई यसै वृहत्तर परिप्रेक्ष्यमा हेर्नुपर्छ र राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको रक्षाका लागि पुनःअग्रमोर्चामा उभिनु पर्दछ,’ उनले भनेका छन्।
यथास्थितिवादी पार्टीहरू र परिवर्तनकारी पार्टीहरूमा नेतृत्वको प्रश्न एउटै र उस्तै नभएको पनि उनले बताएका छन्। यथास्थितिवादी पार्टीहरूका लागि नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय प्रश्न रहेको किनभने उनीहरूले सचेतनतापूर्वक आन्दोलनको नेतृत्व गर्नुनपर्ने ज्ञवालीको कथन छ ।
‘तर एउटा क्रान्तिकारी पार्टीको नेतृत्व भने केबल साङ्गठनिक विषय नभएर वैचारिक विषय पनि हो,’ उनले भनेका छन्।
गत असोज १ गते अध्यक्ष ओली निवास गुण्डुमा बसेको सात नेताको छलफलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलको प्रतिवेदन दुवैमा सहमति जुट्न नसकेपछि ओलीले ज्ञवालीले निष्कर्ष प्रतिवेदन ल्याउने घोषणा गरेका छन्।
त्यसपछि कार्यदलको सदस्य नै नरहेका ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन्।
जसमा १३ वटा पार्टी सम्बद्ध कमिटी र निकायले लिखित रूपमा पेश गरेका सुझाव र पार्टी आन्दोलनको कार्यदिशाबारेको राय समेटिएको छैन।