नेभिगेशन
समाज

पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली

झण्डै सात महिना लामो विवाद, आरोप–प्रत्यारोप र रस्साकस्सीपछि कांग्रेस महाधिवेशनको बाटोमा अगाडि बढेको छ । पन्ध्रौँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ । आइतबारसम्म वडा अधिवेशन सकिएपछि कांग्रेसले पालिका र क्षेत्रीय अधिवेशन गर्नेछ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिएपछि असोज १६ देखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशनका लागि महत्वपूर्ण आधार तय हुने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक वर्षअघिको जेनजी आन्दोलनले उथलपुथल पारेको पार्टी हो– नेपाली कांग्रेस । एक वर्षको बीचमा कांग्रेसले यति धेरै हण्डर ठक्कर खायो कि, यसकै नेताहरुले कल्पनासम्म गरेका थिएनन् । 

Ncell
Extreme Energy

जेनजी आन्दोलनपछि, कांग्रेसमा एजेण्डा उठ्यो– तत्काल पन्ध्रौँ महाधिवेशन । तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए । खड्काले चुनावअघि महाधिवेशन गर्न सकेनन् । महाधिवेशनमा आलटाल देखिएको भन्दै चौधौं महाधिवेशनका आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागे । देउवा र खड्काले त्यसलाई पनि स्वीकार गरेनन् । बहुसंख्यक महाधिवेशनको मागलाई तत्कालीन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले साथ दिए, पुस अन्तिम साता विशेष महाधिवेशन गरिदिए । 
विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्यो । नयाँ केन्द्रीय समिति त बन्यो, त्यसले कांग्रेसमा विवादको नयाँ बीउ रोप्यो । 

विशेष महाधिवेशनले विवाद यति बढायो कि, कांग्रेसका नेतादेखि कार्यकर्तासम्म विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरको नाममा विभाजित भए । विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवासहितका नेताहरु सानेपा जानै छाडे । हुँदा हुँदा चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर पार्टी सञ्चालन गर्न थाले । 

कांग्रेसका नयाँ पुस्ताका नेताहरु गगनको पक्षमा लाग्दा अधिकांश पुराना नेताले देउवालाई नै साथ । तीन नेतापुत्र प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला देउवाकै पक्षमा लागे । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, प्रकाशशरण महत, मीन विश्वकर्मा लगायत नेताहरुको साथ पाएपछि देउवा थप उत्साहित भए । देउवा यति उत्साहित भए कि, नेपाली कांग्रेसको सभापति आफैं रहेको सार्वजनिक रुपमै दाबी गर्न थाले । पाँच महिना लामो विदेश बसाइपछि साउन २८ मा नेपाल फर्केका देउवा इतरपक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भए, एउटा मोर्चाको नेतृत्व सम्हाले । निवासदेखि चुनदेवी कार्यालयसम्म नेता, कार्यकर्ता भेटिरहँदा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई भेट्ने समयसमेत दिएनन् । 

संस्थापनले सानेपाबाट पन्ध्रौं महाधिवेशनको तयारी गरिरहेको थियो । महाधिवेशन तालिका सार्वजनिक गर्यो । देउवा पनि के कम ? काउन्टरमा अर्को तालिका ल्याइदिए । विशेष महाधिवेशन पक्षधरले घोषणा गरेको महाधिवेशनमा सहभागी नहुन भन्दै देउवा स्वयंले सार्वजनिक अपिल जारी गरे । यतिबेलासम्म देउवा उत्साहित थिए, उनीपक्षधर नेताहरु पनि उत्साहित नै थिए । 
तर, साउन २८ गते परिस्थिति बदलियो । 

सभापति गगन थापाले कार्यसम्पादन समिति बैठक डाके र विशेष महाधिवेशनमा सहभागी नेताहरुले राखेका माग सम्बोधन गर्ने निर्णय गराइदिए । चौधौं महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य तथा पदाधिकारीहरु स्वतः केन्द्रीय सदस्य बन्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नैपर्ने बाध्यतात्मक व्यवस्था हटाउने निर्णय कार्यसम्पादन समितिले गर्यो । यही निर्णयले इतरपक्षमा ‘८ रेक्टर स्केलको भूकम्प’ ल्याइदियो ।

सारथिबाटै एक्लिए देउवा
२८ साउनसम्म, देउवाका सबैभन्दा विश्वासिला र महत्वपूर्ण सारथि हुन् पूर्णबहादुर खड्का । उनै खड्काले देउवाको साथ छाडिदिए । आफू पक्षीय नेताहरुलाई गगन नेतृत्वको समितिले आह्वान गरेको महाधिवेशनमा सहभागी हुन निर्देशन दिए । खड्काको यो निर्देशनपछि १ असोजमा सानेपामा बसेको केन्द्रीय समिति बैठकमा, त्यसअघि विशेष महाधिवेशनमा सहभागी नभएका र देउवाको पक्षमा लागिरहेका ५१ जना नेता सहभागी भए । सात महिनापछि देउवा पक्षीय नेताहरु संस्थापनमा समाहित हुँदा सानेपामा उत्सवको माहोल बनेको थियो । 

वर्षौंदेखि देउवालाई साथ दिइरहेका पूर्णबहादुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, जीवनबहादुर शाही, किशोरसिंह राठौर, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, सीता गुरुङ, उमेश श्रेष्ठ, उमेशजंग रायमाझी, इन्द्र बानियाँ, नैनसिंह महर लगायत नेताहरु अब देउवाको साथमा छैनन् । सानेपा पुगिसकेका यी नेताहरु वडा अधिवेशनमा सहभागी भइसकेका छन् । खड्का भने अदालतमा विचाराधीन मुद्दाका कारण सानेपा गएका छैनन् । सानेपा नगए पनि सानेपाका निर्णयलाई स्वीकार गरेका छन् । 

अब देउवासँग डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत लगायत केही नेता मात्रै छन् । गएको चुनावमा गगनकै हस्ताक्षरमा टिकट लिएर चुनाव लडेका नेताहरु महाधिवेशनअघि जुनसुकै बेला सानेपामा पुग्न सक्ने चर्चा कांग्रेसभित्रै चलेको छ । तीन दिनअघिसम्म देउवापक्षको प्रचार समिति प्रमुखको जिम्मेवारी सम्हालेका मीन विश्वकर्माले सानेपा पुगेका छन्– ९० प्रतिशत नेताहरु महाधिवेशनमा सहभागी हुनेछन्, महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने छ ।
देउवा शक्ति र सत्तामा हुँदा उनको राप र ताप बेग्लै थियो । जो जो उनको पक्षमा लाग्थे, उनले कसैलाई निराश पारेनन् । तर, समय सधैँ उस्तै हुँदो रहेनछ । जेनजी आन्दोलन देउवाका लागि अभिषाप बन्यो । मुखमै आएको प्रधानमन्त्री पद गयो, भव्य बंगला जल्यो, बुढेसकालमा कुटपिट सहनुपर्यो, पार्टी सभापति पदबाटै अपदस्थ हुनुपर्यो । 

नेपालको राजनीतिमा भाग्यमानी नेतामा देउवाको नाम आउँछ । पाँच पटक प्रधानमन्त्री, दुई दुई पटक पार्टी सभापति । तर, जीवनको उत्तरार्धमा उनले आफ्नै पार्टीबाट अपमानजनक बहिर्गमन भोग्नु पर्यो । हुन त सभापति गगन थापाले महाधिवेशनको उद्घाटन गर्न देउवालाई केन्द्रीय समितिबाट आह्वान गरेका छन् । तर, पछिल्लो समय उनीहरुको सम्बन्धमा जुन तिक्तता आएको छ, त्यसले देउवा महाधिवेशनमा सहभागी हुने सम्भावना देखिँदैन । उल्टै छुट्टै महाधिवेशनको तयारीमा लागेका छन् । यसको अर्थ देउवाले कांग्रेसको मुलधार गुमाउँदैछन् र मुल कांग्रेसको प्रवाहबाट टाढिँदैछन् । 

२०५९ सालमा कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउने नेता हुन् देउवा । उतिबेलै उनीमाथि कांग्रेस फुटाएको दाग लागेको थियो । २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसमै पार्टी समाहित गरेपछि उनीमाथि लागेको पुरानो दाग हटेको थियो । करिव दुई दशकपछि उनै देउवामाथि फेरि पार्टी फुटाएको दाग लाग्ने सम्भावना बढ्दै गएको छ । 

शेखर कोइराला : न यता न उता 
चौधौं महाधिवेशनमा देउवासँग सभापतिमा चुनाव लडेका नेता हुन्– डा. शेखर कोइराला । शेखरलाई सभापति बनाउन साथ दिएका अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी हुँदा शेखर भृकुटीमण्डप गएनन् । चौधौं महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार हुँदा उनकै समूहबाट महामन्त्रीको उम्मेदवार थिए– गगन थापा । विशेष महाधिवेशनबाट गगन सभापति हुँदा उनको साथमा शेखर देखिएनन् । 
अहिले उनै शेखरले पार्टीमा पूर्ण एकता हुनुपर्ने बताइरहेका छन् । पार्टीमा एकताका लागि भन्दै उनले पार्टीका दुवै समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् । चौधौं महाधिवेशनपछि पार्टीमा फरक धारको नेतृत्व गरेका शेखर विशेष महाधिवेशनपछि  निकै कमजोर भए । उनी पक्षधर अधिकांश नेता कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी भए । बाँकी रहेका केही नेताहरुसमेत पछिल्लो समय संस्थापनमा समाहित भएका छन् । अघिल्लो कार्यसमितिका पदाधिकारीमध्ये जम्मा २ जना धनराज गुरुङ र बद्रि पाण्डे मात्रै शेखरको पक्षमा बाँकी छन् । धनराज पनि जुनसुकै बेला संस्थापनले आयोजना गरेको महाधिवेशनमा सहभागी हुन्छन् । पार्टी एकताको रटान लगाउने शेखर अन्तिममा एक्लै हुने सम्भावना बढ्दो छ । 

कांग्रेसको महाधिवेशनमा करिव साढे ८ लाख क्रियाशील सदस्य सहभागी हुँदैछन् । असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी क्रियाशील सदस्यहरु देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा प्रक्रियामा सहभागी हुने सम्भावना देखिँदैन । अर्कोतर्फ पार्टीको सम्पूर्ण संयन्त्र र संरचना नै संस्थापन पक्षसँग हुँदा देउवा समूहसँग कुनै पनि आधिकारिक अभिलेख रहने छैन । कतै देउवा सिपाही बिनाका सेनापति हुने त होइनन् ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।
४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन

४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया सुरु भएको छ। असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा निर्वाचन सकिएको केन्द्रीय निर्वाचन समितिले...
दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी

दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले बालेन शाह नेतृत्वको सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गरेका छन्।