नेभिगेशन
समाज

महँगीको मारमा ट्रम्प, मध्यावधिमा दुवै सदन गुमाउँदै रिपब्लिकन

टेक्सस र कन्सासजस्ता रिपब्लिकनका सुरक्षित गढमा समेत डेमोक्र्याटको ऐतिहासिक जित, इरान युद्ध र महँगीप्रति मतदाताको आक्रोश मतपत्रमा

काठमाडौं । दुई वर्षअघि महँगी घटाउने, अर्थतन्त्र सुधार्ने र अमेरिकी नागरिकको जीवन सहज बनाउने वाचा गरेर ह्वाइट हाउस फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अहिले त्यही महँगीले राजनीतिक रूपमा घेरेको छ। उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेको छ। विपक्षी डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण फर्काउने अवस्था बनेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटले रिपब्लिकनका परम्परागत गढ मानिएका राज्यहरूमा समेत ऐतिहासिक जित निकालेका छन्। एसोसिएटेड प्रेस (एपी) का अनुसार डेमोक्र्याटले सिनेटमा बहुमत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा पनि उनीहरू बहुमत नजिक पुगेका छन्। रोयटर्सले भने दुवै सदनमा डेमोक्र्याटले नियन्त्रण प्राप्त गर्ने प्रक्षेपण गरेको छ। केही निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले प्रतिनिधिसभाको अन्तिम परिणाम आउन बाँकी छ।

Marvel
Extreme Energy

ट्रम्पका लागि यो पराजय कति ठूलो हो भन्ने बुझ्न टेक्सस र कन्सासको परिणाम पर्याप्त छ।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले टेक्ससमा कमला ह्यारिसलाई करिब १३.७ प्रतिशत बिन्दुको अन्तरले पराजित गरेका थिए। तर यसपटक त्यही राज्यमा ट्रम्पको समर्थन पाएका रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई डेमोक्र्याट जेम्स टालारिकोले हराएका छन्। सन् १९८८ पछि ३८ वर्षमा पहिलोपटक टेक्ससबाट डेमोक्र्याट उम्मेदवार सिनेटमा निर्वाचित भएका हुन्।

टेक्ससको गभर्नर निर्वाचनमा पनि डेमोक्र्याट जिना हिनोहोजाले तीन कार्यकालदेखि पदमा रहेका रिपब्लिकन ग्रेग एबटलाई पराजित गरेकी छन्। सन् १९९४ पछि टेक्ससमा डेमोक्र्याटले राज्यव्यापी गभर्नर निर्वाचन जितेको यो पहिलोपटक हो।

अर्को रिपब्लिकन गढ कन्सासमा पनि डेमोक्र्याटले इतिहास बनाएका छन्। त्यहाँ एडम ह्यामिल्टनले रिपब्लिकन सिनेटर रोजर मार्सललाई पराजित गरेका छन्। कन्सासमा सन् १९३२ अर्थात् ९४ वर्षपछि पहिलोपटक डेमोक्र्याट उम्मेदवार सिनेटमा निर्वाचित भएका हुन्।

दक्षिण क्यारोलिनामा पनि डेमोक्र्याट एनी एन्ड्र्युजले रिपब्लिकन डार्लिन ग्राहमलाई हराएकी छन्। यस शताब्दीमा दक्षिण क्यारोलिनाबाट डेमोक्र्याटले सिनेट निर्वाचन जितेको यो पहिलोपटक हो। रोयटर्सले यी नतिजालाई रिपब्लिकनका परम्परागत गढमा डेमोक्र्याटको असाधारण विस्तारका रूपमा व्याख्या गरेको छ।

अमेरिकामा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको पार्टीले सिट गुमाउनु अस्वाभाविक होइन। तर विपक्षीले वर्षौंदेखि जित्न नसकेका राज्यमा समेत सत्तारूढ दलका उम्मेदवार पराजित हुनु ट्रम्पका लागि गम्भीर राजनीतिक सन्देश हो।

अमेरिकामा प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्ष, राष्ट्रपतिको चार वर्ष र सिनेटका सदस्यको छ वर्ष हुन्छ। प्रत्येक दुई वर्षमा प्रतिनिधिसभाका सबै सदस्यका लागि निर्वाचन हुन्छ। त्यही समयमा सिनेटका करिब एकतिहाइ सदस्यको कार्यकाल सकिने भएकाले ती पदमा पनि निर्वाचन हुन्छ।

राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा, अर्थात् राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ।

महँगीको वाचा, मतदाताको असन्तुष्टि

ट्रम्पको निर्वाचन पराजयको प्रमुख कारणमध्ये महँगी र जीवनयापनको बढ्दो खर्च देखिएको छ।

सन् २०२४ को निर्वाचनमा ट्रम्पले जो बाइडेन प्रशासनको आर्थिक नीतिलाई निशाना बनाउँदै महँगी घटाउने वाचा गरेका थिए। तर अहिले अमेरिकी मतदाताले खाद्यान्न, इन्धन, आवास र दैनिक उपभोगका वस्तुको बढ्दो मूल्यको सामना गरिरहेका छन्।

निर्वाचनपछि सार्वजनिक गरिएको मतदाताको सर्वेक्षणले पनि आर्थिक असन्तुष्टि व्यापक रहेको देखाएको छ।

रोयटर्सका अनुसार एसएसआरएसले एपीसहित अमेरिकी सञ्चारमाध्यमहरूको समूहका लागि गरेको मतदानपछिको सर्वेक्षणमा करिब १० मध्ये नौ मतदाताले जीवनयापनको खर्चलाई आफ्नो मतदानमा महत्त्वपूर्ण विषय मानेका थिए। करिब दुईतिहाइ मतदाताले बढ्दो महँगीका लागि ट्रम्पलाई जिम्मेवार ठहर्‍याएका थिए। सर्वेक्षणमा ७० प्रतिशत मतदाताले राष्ट्रपतिमाथि नियन्त्रण र सन्तुलन कायम गर्न कङ्ग्रेसले थप भूमिका खेल्नुपर्ने बताएका थिए।

अर्थात्, मतदाताको असन्तुष्टि मूल्यवृद्धिमा मात्र सीमित थिएन। राष्ट्रपतिको कार्यशैली र उनको निर्णयमाथि संसद्ले निगरानी बढाउनुपर्ने चाहना पनि निर्वाचनमा प्रकट भएको देखिन्छ।

ट्रम्पले सन् २०२४ को निर्वाचनमा महँगीलाई डेमोक्र्याट सरकारको असफलताका रूपमा प्रस्तुत गरेका थिए। त्यतिबेला मतदाताले मूल्यवृद्धिको जवाफ बाइडेन प्रशासनसँग मागेका थिए। अहिले सरकारको नेतृत्व गरिरहेका ट्रम्प र रिपब्लिकनसँग त्यही प्रश्नको जवाफ खोजिरहेका छन्।

इरान युद्धको असर पनि मतपत्रमा

महँगीसँगै इरान युद्ध पनि ट्रम्पका लागि राजनीतिक चुनौती बनेको छ।

युद्धका कारण तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावले पेट्रोल तथा अन्य इन्धनको मूल्य बढाएको छ। यसको प्रत्यक्ष असर अमेरिकी नागरिकको दैनिक खर्चमा परेको छ।

रोयटर्सको निर्वाचन विश्लेषणअनुसार मतदाताको आर्थिक असन्तुष्टिमा इरान युद्ध र विदेशी वस्तुमा लगाइएको भन्सार शुल्क (ट्यारिफ) को प्रभाव पनि जोडिएको छ। अधिकांश मतदाताले ट्रम्पका नीतिले आफ्नो आर्थिक अवस्था सुधार्नुको सट्टा थप कठिन बनाएको धारणा राखेका थिए।

डेमोक्र्याट उम्मेदवारहरूले पनि चुनावी अभियानमा युद्ध र त्यसले निम्त्याएको आर्थिक भारलाई प्रमुख मुद्दा बनाएका थिए।

दुई वर्षअघि ट्रम्पले आप्रवासन, अपराध र अर्थतन्त्रलाई मुख्य चुनावी मुद्दा बनाएका थिए। यसपटक भने मतदाताको प्राथमिकतामा जीवनयापनको खर्च, इन्धनको मूल्य र सरकारको कार्यशैली बढी देखियो।

यसले ट्रम्पको निर्वाचन रणनीति र मतदाताको वास्तविक प्राथमिकताबीच दूरी बढेको संकेत गर्छ।

ट्रम्पको समर्थनले पनि उम्मेदवार जोगाउन सकेन

यस निर्वाचनको अर्को महत्त्वपूर्ण पक्ष ट्रम्पले समर्थन गरेका उम्मेदवारहरूको पराजय हो।

रिपब्लिकन उम्मेदवारहरूका लागि ट्रम्पको समर्थन चुनाव जित्ने महत्त्वपूर्ण आधार मानिँदै आएको थियो। तर टेक्ससमा प्याक्सटन र अन्य राज्यमा रिपब्लिकन उम्मेदवारहरूको पराजयले उनको समर्थनले मात्र चुनावी परिणाम सुनिश्चित गर्न नसक्ने देखाएको छ।

एपीका अनुसार रिपब्लिकन उम्मेदवारहरूले ट्रम्पका नीतिप्रतिको असन्तुष्टि, महँगी र प्रशासनप्रतिको आक्रोशको सामना गर्नुपरेको थियो। ट्रम्पले निर्वाचन परिणामको दोष आफ्नो व्यक्तिगत प्रभावभन्दा उम्मेदवारहरूको कमजोरीमा थोपर्ने प्रयास गरेका छन्। उनले आफू उम्मेदवार भएको भए रिपब्लिकनले ठूलो अन्तरले जित्ने दाबीसमेत गरेका छन्।

यसले रिपब्लिकन पार्टीभित्र पनि आगामी नेतृत्व र चुनावी रणनीतिबारे बहस बढाउने सम्भावना छ।

पद रहन्छ, शासन गर्न कठिन हुन्छ

निर्वाचन परिणामले ट्रम्पको राष्ट्रपति पद भने समाप्त गर्दैन।

नेपालको संसदीय व्यवस्थामा जस्तो संसद्मा बहुमत गुमाउँदैमा अमेरिकी सरकार ढल्दैन। अमेरिकामा राष्ट्रपतिको कार्यकाल र संसद्को कार्यकाल अलग हुन्छ। ट्रम्प सन् २०२९ जनवरीसम्मका लागि निर्वाचित भएका हुन्। त्यसैले मध्यावधि निर्वाचनमा रिपब्लिकन पराजित हुँदैमा उनी तत्काल पदमुक्त हुँदैनन्।

तर पदमा रहनु र आफ्नो इच्छाअनुसार शासन गर्न सक्नु फरक कुरा हो।

नयाँ कङ्ग्रेसको कार्यकाल सन् २०२७ जनवरी ३ बाट सुरु हुनेछ। प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्र्याटको नियन्त्रण कायम भए ट्रम्पले नयाँ कानुन बनाउन, बजेट पारित गर्न र महत्त्वपूर्ण नीतिगत निर्णय अघि बढाउन विपक्षीसँग सहमति खोज्नुपर्नेछ।

अमेरिकामा कानुन निर्माण र बजेट स्वीकृत गर्ने अधिकार संसद्मा हुन्छ। राष्ट्रपतिले संसद्बाट पारित विधेयकमा भिटो लगाउन सक्छन्। तर दुवै सदनमा दुईतिहाइ बहुमत पुगेमा राष्ट्रपतिको भिटोलाई समेत निष्प्रभावी बनाउन सकिन्छ।

संसद्मा डेमोक्र्याटको बहुमत हुँदा ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय अनुसन्धान, सुनुवाइ र निगरानी बढ्न सक्छ। नियुक्ति, बजेट र नीतिगत कार्यक्रम अघि बढाउन पनि उनलाई कठिन हुन सक्छ। एपी र रोयटर्स दुवैले डेमोक्र्याटको संसदीय नियन्त्रणले ट्रम्पको बाँकी कार्यकालको राजनीतिक र नीतिगत वातावरण बदल्ने विश्लेषण गरेका छन्।

यसरी मध्यावधि निर्वाचनले ट्रम्पको राष्ट्रपति पद खोस्दैन, तर उनको राजनीतिक शक्ति र निर्णय कार्यान्वयन गर्ने क्षमतामाथि अंकुश लगाउने अवस्था सिर्जना गर्छ।

सन् २०२८ मा अमेरिकामा अर्को राष्ट्रपति निर्वाचन हुनेछ। त्यसअघि नै संसद्का दुवै सदनमा विपक्षीको नियन्त्रण स्थापित भए ट्रम्पका बाँकी दुई वर्ष राजनीतिक रूपमा थप चुनौतीपूर्ण बन्न सक्छन्।

दुई वर्षअघि महँगी घटाउने वाचा गरेर सत्तामा फर्किएका ट्रम्पका लागि अहिले मतदाताले दिएको सन्देश स्पष्ट छ—निर्वाचनमा गरिएका वाचाको मूल्याङ्कन अर्को निर्वाचनमा हुन्छ। टेक्सस र कन्सासजस्ता परम्परागत रिपब्लिकन गढमा आएको परिणामले अमेरिकी राजनीतिमा ट्रम्पको प्रभाव र मतदाताको प्राथमिकताबीचको बदलिँदो सम्बन्धलाई समेत उजागर गरेको छ।

स्रोत : एसोसिएटेड प्रेस (AP), रोयटर्स (Reuters)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन्।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाँचै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।