काठमाडौं। विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्बन्ध विवादमा तानिएपछि उनको पदसमेत धरापमा परेको छ । दुई महिलासँग विवाहेत्तर सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले उनलाई पदबाट हटाउने विषयमा छलफल अघि बढाएको छ ।
द वालस्ट्रिट जर्नलको रिपोर्टअनुसार, एनभिडियाको सञ्चालक समिति हुआङको भविष्यबारे निर्णय गर्न बैठक बस्ने तयारीमा छ । बुधबार सार्वजनिक भएको नयाँ विवरणले विवाद थप चर्काएको हो । यसअघि नै एक चिनियाँ महिलासँगको सम्बन्ध र सम्भावित जासुसी प्रकरणमा अनुसन्धानको सामना गरिरहेका हुआङमाथि आफ्नै कम्पनीकी एक उच्च अधिकारीसँग पनि सम्बन्ध रहेको आरोप लागेको छ ।
पहिलो सम्बन्धमा चिनियाँ जासुसीको शङ्का
विवादको सुरुवात हुआङको एलिस हुआङ नामकी महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि भएको थियो । एलिस चिनियाँ नागरिक हुन् र सिंगापुरस्थित मेगास्पिड इन्टरनेसनल नामक डेटा सेन्टर तथा क्लाउड कम्प्युटिङ कम्पनीकी पूर्व उच्च अधिकारी हुन् । उनी र जेन्सेन हुआङबीच पारिवारिक सम्बन्ध भने छैन ।
द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, अमेरिकी गुप्तचर निकायले एलिसलाई चीनको गुप्तचर निकायका लागि काम गर्ने र बेइजिङलाई सूचना उपलब्ध गराउने व्यक्तिका रूपमा पहिचान गरेको थियो । उनीसँगको सम्बन्धलाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग जोडेर हेरेका छन् ।
एलिस आबद्ध मेगास्पिडमाथि चीनसँग सम्बन्धित कम्पनीहरूलाई एनभिडियाका अत्याधुनिक एआई चिप उपलब्ध गराउन सहयोग गरेको आशङ्का गरिएको छ । अमेरिकाले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर प्रविधि उपलब्ध गराउन कडा प्रतिबन्ध लगाइरहेका बेला यस्तो सम्बन्ध सार्वजनिक भएको हो ।
द न्युयोर्क टाइम्सका अनुसार, मेगास्पिडले पछिल्ला दुई वर्षमा ४.८ अर्ब डलरभन्दा बढी मूल्यका एनभिडिया चिप खरिद गरेको थियो । यसले हुआङको व्यक्तिगत सम्बन्ध मात्र नभई कम्पनीको व्यापारिक कारोबार र अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित प्रश्नसमेत उठाएको छ ।
तर, एलिस जासुस भएको विषय स्वतन्त्र रूपमा प्रमाणित भएको छैन । चीनले उनीमाथि लागेको जासुसीको आरोपलाई आधारहीन अड्कलबाजी भन्दै खारेज गरेको छ ।
ट्रम्पलाई पनि थियो सम्बन्धबारे जानकारी
द न्युयोर्क टाइम्सको अर्को रिपोर्टअनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसै वर्ष मे महिनामा चीन भ्रमणका क्रममा हुआङको सम्बन्धबारे गुप्तचर सूचना दिएका थिए ।
रुबियोले बेइजिङ जाने क्रममा अलास्काबाट एयर फोर्स वानमा चढेका हुआङलाई राष्ट्रपति ट्रम्पसँगै चीन लैजानुअघि यसबारे जानकारी गराएको रिपोर्टमा उल्लेख छ । ट्रम्पलाई यसअघि पनि अमेरिकी अधिकारीहरूले एलिससँगको सम्बन्धबारे जानकारी दिएको बताइएको छ ।
तर, ट्रम्पले आफूलाई त्यतिबेला यस विषयमा जानकारी नभएको बताएका छन् । उनले हुआङलाई इमानदार व्यक्ति भन्दै उनको बचाउसमेत गरेका छन् । ह्वाइट हाउसले भने न्युयोर्क टाइम्सको पछिल्लो रिपोर्टको विवरण अस्वीकार गरेको छ ।
यस प्रकरणमा अमेरिकी सांसदहरूले पनि चासो देखाएका छन् । हुआङलाई संसद्मा उपस्थित गराएर गोप्य बैठकमा बयान लिन माग गरिएको छ । उनले जवाफ नदिए संसदीय समितिले उपस्थितिका लागि औपचारिक आदेश (समन) जारी गर्न सक्ने बताइएको छ ।
अर्की महिला आफ्नै कम्पनीकी उपाध्यक्ष
चिनियाँ महिलासँगको सम्बन्धको विवाद चलिरहेकै बेला द न्युयोर्क टाइम्सले हुआङको एनभिडियाकै एक उच्च महिला अधिकारीसँग पनि विवाहबाहिरको सम्बन्ध रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
कम्पनीकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग हुआङको सम्बन्ध रहेको रिपोर्टमा उल्लेख छ । एनभिडियामा काम गरेका पाँच पूर्व तथा वर्तमान कर्मचारीको भनाइ उद्धृत गर्दै प्रकाशित समाचारअनुसार पावेलले सिधै हुआङलाई रिपोर्ट गर्थिन् ।
यो खुलासाले हुआङको व्यक्तिगत आचरणसँगै कम्पनीको नेतृत्व र संस्थागत सुशासनमाथि पनि प्रश्न उठाएको छ । विशेषगरी प्रमुख कार्यकारीले आफू मातहत काम गर्ने उच्च अधिकारीसँग सम्बन्ध राखेको आरोपले कम्पनीभित्रको शक्ति सन्तुलन र व्यावसायिक मर्यादाबारे बहस सिर्जना गरेको छ ।
पत्नी र कर्मचारीसँग मागे माफी
विवाद सार्वजनिक भएपछि हुआङले आइतबार एनभिडियाका कर्मचारीलाई आन्तरिक सन्देश पठाउँदै पत्नीप्रति इमानदार नरहेको स्वीकार गरेका थिए । उनले आफ्नो व्यवहारबाट पत्नी, सन्तान र सहकर्मीलाई चोट पुगेको भन्दै जिम्मेवारी लिएका थिए ।
’एनभिडियाको नेतृत्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो । तपाईंहरूको विश्वासको योग्य बन्नु मेरो जिम्मेवारी थियो, तर म त्यसमा चुकेँ,’ उनको सन्देशमा उल्लेख थियो ।
उनले कम्पनीको सञ्चालक समितिले गर्ने स्वतन्त्र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । एनभिडियाको सञ्चालक समितिले हुआङ कुनै विदेशी गुप्तचर अभियानको निशानामा परेका थिए कि थिएनन् भन्ने विषयमा बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान थालेको छ ।
समितिले प्रारम्भमा कम्पनीको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको विश्वास गर्ने आधार नरहेको जनाएको थियो । तर, दोस्रो सम्बन्धको आरोप सार्वजनिक भएपछि हुआङको नेतृत्वमाथि दबाब थपिएको छ ।
सेयर बजारमा उथलपुथल, ६०० अर्ब डलरको बजार मूल्य घट्यो
विवादले एनभिडियाको सेयर बजारमा समेत असर पारेको छ । रोयटर्सका अनुसार, बुधबार नियमित कारोबारमा केही बढेको कम्पनीको सेयर सञ्चालक समितिको बैठक र दोस्रो सम्बन्धको समाचार सार्वजनिक भएपछि बजार बन्दपछिको कारोबारमा करिब आठ प्रतिशतले घटेको थियो ।
यस साताको कारोबारमा बजार पुँजीकरण करिब ६०० अर्ब डलरले घटेको रिपोर्टमा उल्लेख छ । यद्यपि, बजार मूल्यमा आएको गिरावटलाई व्यक्तिगत विवादको मात्रै परिणाम मान्न सकिँदैन । एआई क्षेत्रमा भइरहेको लगानी, चिप व्यापार र चीनसँगको प्रविधि प्रतिस्पर्धासम्बन्धी चिन्ताले पनि कम्पनीको सेयरमा प्रभाव पारिरहेको छ ।
सन् १९९३ मा एनभिडिया स्थापना गरेका ६३ वर्षीय हुआङ तीन दशकभन्दा बढी समयदेखि कम्पनीको नेतृत्वमा छन् । ग्राफिक्स चिप उत्पादनबाट सुरु भएको एनभिडियालाई उनले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक अत्याधुनिक चिपको विश्वकै प्रमुख आपूर्तिकर्ता बनाएका हुन् ।
करिब चार ट्रिलियन डलर बजार मूल्य भएको कम्पनीमा उनको भूमिका निकै प्रभावशाली छ । कम्पनीमा उनको विकल्पका रूपमा स्पष्ट उत्तराधिकारीसमेत तयार नरहेको विश्लेषकहरूको भनाइ छ । त्यसैले हुआङलाई तत्काल हटाउँदा कम्पनीको नेतृत्वमा ठूलो रिक्तता आउन सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ ।
तर, सञ्चालक समितिले उनलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।