नेभिगेशन
समाज

शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

काठमाडौँ । हिउँदमा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसमसँगै बढ्ने स्वास्थ्य जोखिम, वायु प्रदूषण र यातायात अवरोधलाई ध्यानमा राखेर पूर्वतयारी तथा प्रतिकार्य योजना अघि बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले बिहीबार आयोजना गरेको हिमपात तथा शीतलहर पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना समीक्षा बैठकमा कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले चिसो मौसमलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र लिन नहुने बताए । उनले मनसुनजन्य विपद्मा जस्तै शीतलहर र हिमपातबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि पनि सम्बन्धित निकायले समयमै योजना बनाएर सक्रिय हुनुपर्नेमा जोड दिए ।

Marvel
Extreme Energy

उनका अनुसार मध्य मङ्सिरदेखि मध्य फागुनसम्मको हिउँदे अवधिमा तराईका जिल्लामा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन्छ । विशेषगरी अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर घट्ने, लगातार चिसो दिन रहने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्न सक्छ ।

‘मध्य मङ्सिरदेखि मध्य फागुनसम्मको हिउँदे अवधिमा तराईमा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन्छ’, उप्रेतीले भने, ‘विशेषगरी अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर कम हुने, लगातार चिसो दिन रहने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्ने गर्छ ।’

प्राधिकरणले यसपटक चिसोसँगै वायु प्रदूषणबाट उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिमलाई पनि प्राथमिकतामा राखेको छ । शीतलहरका समयमा वायु प्रदूषण बढ्न सक्ने र हावामा रहेका सूक्ष्म कण पिएम २.५ तथा पिएम १० को मात्रा उच्च हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उप्रेतीले बताए ।

नेपालमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १५० देखि ४००–५०० सम्म पुगेका उदाहरण रहेको उल्लेख गर्दै उनले प्रदूषणको अवस्था गम्भीर हुँदा स्वास्थ्यसम्बन्धी विशेष सूचना र सचेतना जारी गर्नुपर्ने बताए । चिसो र प्रदूषणको प्रभाव अत्यधिक बढेमा विद्यालय बन्द गर्ने, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने र निर्माण कार्यसमेत रोक्ने उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।

यस्ता निर्णय प्रभावकारी बनाउन स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रसहित सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए ।

हिउँदमा बाक्लो हुस्सु र तुवाँलोका कारण दृश्यता घट्दा सडक तथा हवाई यातायात प्रभावित हुने र दुर्घटनाको जोखिम बढ्ने प्राधिकरणको आकलन छ । कतिपय अवस्थामा दृश्यता ५० मिटरसम्म सीमित हुनसक्ने भएकाले त्यस्तो अवस्थामा सवारीसाधन सञ्चालन र हवाई उडानमा विशेष सतर्कता अपनाउनुपर्ने उप्रेतीले बताए ।

त्यस्तै, दुई हजारदेखि दुई हजार ५०० मिटरभन्दा माथिका भूभागसहित उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहने भएकाले त्यहाँका स्थानीय बासिन्दा, पर्यटक र यात्रुको सुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

यस वर्ष एलनिनोको अवस्थाका कारण हिउँदमा चिसोको अवस्था कस्तो रहन्छ भन्नेबारे अहिल्यै निश्चित पूर्वानुमान गर्न नसकिने उप्रेतीले बताए । मौसम पूर्वानुमान महाशाखाबाट थप विवरण प्राप्त भएपछि सोहीअनुसार तयारीलाई परिमार्जन गर्दै लैजाने उनले जानकारी दिए ।

प्राधिकरणले चिसोबाट जोगिने उपायबारे पनि नागरिकलाई सचेत गराउनुपर्ने जनाएको छ । विशेषगरी घरभित्र दाउरा वा हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था गर्न उप्रेतीले आग्रह गरे । झ्यालढोका बन्द गरेर आगो वा हिटर बाल्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई निस्सासिने, बेहोस हुने र मृत्युसमेत हुनसक्ने जोखिम रहेको उनले बताए ।

शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुनसक्ने गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । शीतलहरको सूचना जारी भएपछि मात्र राहत तथा उद्धारको तयारी थाल्ने नभई जोखिमयुक्त क्षेत्रको पहिचान गरी पहिल्यै आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्ने, विपन्न परिवारलाई न्यानो कपडा र कम्बल उपलब्ध गराउने तथा आवश्यकताअनुसार अन्य राहत सामग्रीको व्यवस्था गर्नुपर्ने उप्रेतीको भनाइ छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी तथा विकास साझेदार संस्थाहरूले समेत पूर्वतयारी गर्नुपर्ने उनले बताए ।

‘मौसम विज्ञान विभागबाट शीतलहरसम्बन्धी सूचना आएपछि मात्र तयारी थाल्ने होइन, सूचना आउनुअघि नै आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापन गर्नुपर्छ’, उनले भने ।

प्राधिकरणले मौसम पूर्वानुमान महाशाखा, सुरक्षा निकाय, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, स्थानीय तह तथा सञ्चारमाध्यमसँग समन्वय गरेर पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने जनाएको छ ।

शीतलहर र हिमपातसम्बन्धी सूचना तथा स्वास्थ्य सुरक्षाका सन्देश प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाका आधिकारिक सामाजिक सञ्जालबाट नियमित सार्वजनिक गरिने उप्रेतीले बताए । जोखिमका बेला सञ्चारमाध्यमले मौसमको अवस्था, वायु प्रदूषणको स्तर र अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई समयमै जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।

भर्खरै