नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्ला अहिले राजनीतिक बजार पिटेको छ। यो प्रकरणमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फ्रेन्स गरेर सबै विषयवस्तुहरू डिटेलमा राखिसक्नुभएको छ। जसको सार दुईवटा छ। एउटा, यो बदनियतका साथ चलाएको हल्ला हो। यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं। दोस्रो, नेपाली कांग्रेस पार्टी, पार्टीको नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार छ।
यति कुरा पार्टीको उपसभापतिले बोलिसकेपछि मैले नबोले पनि हुने हो। तर केही–केही विषयहरूमा मलाई डाइरेक्टली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडियो बनाएको छु।
फिक्सर इन्द्र सापकोटा, जो अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, उनको भनेर एउटा अडिओ बाहिर आएको छ। त्यो अडिओमा मेरो बारेमा के कुरा सुनिएको भनेर, त्यो अडिओ कहाँ बोलेको, कसले बोलेको, किन बोलेको, कहिले बोलेको थाहा छैन। बोलेको हो कि बोलाइएको हो, यो पनि थाहा छैन। मलाई यतातिर अहिले चासो पनि छैन, किनकि यो समग्र कुराका एकपछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान्, जानु पनि पर्छ।
तर एउटा कुरा क्लियर बनाउँछु। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो। भदौ २३ र २४ गते नवयुवाले विद्रोह गरे। त्यो विद्रोहको सम्मान गर्दै पार्टीभित्र चेन्ज चाहिन्छ भनेर हामीले कोसिस गर्यौँ। रेसिस्ट भयो। त्यसैले पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह, त्यो विद्रोहमा हामीहरू मिसिएको हो। विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ, के होला भनेर सोच्छ, सोच्दैन। करोडको कुरा गर्दैनन्।
नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।
फिक्सर इन्द्र सापकोटाको अडिओ भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रूपमा उत्तर दिन हेर्नुपर्ने, यो दिनुपर्ने नपर्ने विषय हो। तर यति कुरा भन्यौँ, अब सकियो। अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न कहाँ सोध्ने, जहाँ सोध्नुपर्ने हो त्यहाँ सोध्ने। फिक्सर इन्द्र सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्न। अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने। यसमा को–को जोडिन्छन्, ती सबै कुराहरू खोतल्ने। प्रेसको पनि यही जिम्मा हो र अरू चासो राख्नेहरूको पनि यही जिम्मा हो। जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध, पानीको पानी मज्जाले छुट्टिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ।
अर्को एउटा प्रसङ्ग पनि छ। अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु। म तर्सिने जिनिसै होइन, तर्सिने बानी नै परेको छैन।
नेपाली कांग्रेसको पार्टी सभापति छु। मेरो पार्टी सभापतिका रूपमा केही ड्युटीहरू छन्। मधेश प्रदेशको सरकार नेपाली कांग्रेसको छ। अबको पाँच–सात दिनभित्रमा विश्वासको मत लिनुपर्ने छ। अरू राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ। प्रचण्डलाई केही दिन अगाडि भेटेँ, त्योभन्दा पहिला उपेन्द्र यादवजीलाई भेटेँ र त्यही सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ। सकियो। कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन। जे गर्ने हो, खुला गर्ने हो।
हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूलाई बोलाएर खुला भनिसक्यौँ। यो सरकार पाँच वर्षका लागि आएको हो। फाइभ इयर्सको म्यान्डेट छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सरकारले राइट कुरामा फोकस गरोस्। आज उसको फोकस यत्रो डिजास्टर भएको छ, यति धेरै मानिसहरू घरबारविहीन भएका छन्, तिनको पुनःस्थापना कसरी गर्ने? सुकुम्बासीहरू घरटहरा छोडेर गएर खुलामा बसेको कति समय भयो, उनीहरूको पुनःस्थापना कसरी गर्ने? सबैभन्दा ठूलो कुरा इकोनोमी छ। खोइ जब्स, खोइ इन्भेस्टमेन्ट? जताततै बर्बाद हुँदै गएको छ, सब डरले थुरथुर भएको अवस्था छ। यसलाई सम्हाल्ने कसरी भन्ने कुरामा हाम्रो ध्यानाकर्षण पनि गराएका छौँ।
हाम्रो साथ सहयोग रहन्छ, जहाँ गल्ती गर्छ हाम्रो क्वेस्चन रहन्छ भनेर भनेका छौँ। तर डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मुकदर्शक भएर बस्दैनौँ। बोल्छौँ, क्वेस्चन गर्छौं, प्रतिवाद गर्छौं, किनकि त्यो हाम्रो ड्युटी हो।
खुला भनिरहेका छौँ। लुकाएर भन्नुपर्ने कुरा केही पनि छैन। हामीले जतिखेर सरकारमाथि क्वेस्चन उठायौँ, ठ्याक्क त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर्ड न्यारेटिभ सुरु भएको छ। के यसले हामीलाई क्वेस्चन गर्ने कुरा हाम्रो बन्द हुन्छ? हुँदैन। ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन। गलत कुरालाई प्रश्न गर्ने कुरा र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन।
लास्टमा एउटा कुरा भन्छु। म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मैले सधैँ भन्दै आएको छु। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ। माइ ह्यान्ड्स आर क्लिन। यति नभई लड्ने आँट आउँथ्यो?
म त आज मात्र हो, योभन्दा पहिला पनि, योभन्दा अझै बलियो सत्ता भएको बेलामा पनि सत्ताले गलत गरेको बेलामा त्यससँग लड्दै आएको छु, प्रश्न गर्दै आएको छु। आफ्नै पार्टीको सरकार हुँदै गर्दा त गलत हुँदै गर्दा बोल्न छाडिनँ। बोल्ने आँट कहाँबाट आउँछ? म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारी, मेरो नैतिकतामा कहीँकतै कम्प्रमाइज भएको भए त्यो बोल्ने आँट आउँछ, आउँदैन?
जबजब म अलि बलियो सत्तासँग मैले प्रश्न गरेको छु, लडेको छु, यस्ता कुनै न कुनै प्रायोजित म्यानुफ्याक्चर्ड न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ। कहिले यो भयो, कहिले त्यो भयो। र व्यापक रूपमा मेरो चरित्रमाथि क्वेस्चन गरिएको छ। तर प्रत्येक पटक लडेर आएँ नि म, प्रत्येकबाट बाँचेर आएँ नि म, ढलिनँ नि म। किन थाहा छ? तपाईंको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ, तर सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो। यो लडाइँमा म किन बाँचेको छु भने किनकि म सफा छु। म स्वच्छ छु। म ठीक ठाउँमा उभिएको छु। त्यसैले ढुक्क रहनुस्। मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुस्।
तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। त्यसैले तपाईं मेरो बारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ। मेरो बारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ, गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन, हुन सक्दैन।
कति साथीहरू भन्नुहुन्छ, यो होला, त्यो होला। ती कुनै कुराहरूसँग कुनै चिन्ता लिएर आफ्नो ड्युटी गर्ने होइन। आफ्नो ड्युटी गर्दै जाने हो। जे पर्छ, त्यो कुरालाई बेहोर्ने हो।
खाली एउटा कुरा अन्तिममा रिक्वेस्ट गर्छु। यत्रो प्रायोजित हल्लाहरूका बीचमा राइट क्वेस्चन मर्नु हुँदैन। क्वेस्चन मर्यो भने डेमोक्रेसी सकिन्छ। डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ। आजको सबैभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ? आजको प्रश्न पनि यही हो। सबैको ध्यान यसमा जाओस्, यति कुरा राख्छु। धन्यवाद, जय नेपाल।