नेभिगेशन
समाज

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको विशेष महाधिवेशन र आधिकारिकताको विवादसँग जोडेर आफूविरुद्ध नियोजित रूपमा हल्ला फैलाइएको भन्दै उनले त्यसलाई पूर्ण रूपमा खारेज गरेका हुन् ।

Marvel
Extreme Energy

बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले प्रहरी हिरासतमा रहेका फिक्सर इमन सापकोटाको नाममा सार्वजनिक भएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा अनुसन्धानबाट सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।

‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ उनले भने, ‘अडियोमा मेरोबारेमा के कुरा सुनियो भन्ने विषयमा सार्वजनिक रूपमा जवाफ दिनुपर्ने विषय नै होइन। तर, यति कुरा स्पष्ट पार्न चाहन्छु।’

उनले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए । अडियोमा आफूलाई जोडेर आएका विषयमा हतारिएर प्रतिक्रिया दिनुभन्दा निष्पक्ष अनुसन्धानको प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा प्रहरी हिरासतमा रहेका सापकोटासँग अनुसन्धानका क्रममा प्रश्न गर्नुपर्ने बताए । अनुसन्धान निष्पक्ष हुनुपर्ने र प्रकरणमा जोडिएका सबै पक्षको भूमिका खोतलिनुपर्ने उनको माग छ ।

‘जब राम्रोसँग अनुसन्धान हुन्छ, निष्पक्ष अनुसन्धान हुन्छ, दूधको दूध पानीको पानी मज्जाले छुट्टिन्छ,’ उनले भने ।

विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको माग गर्दै तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहको निरन्तरताका रूपमा व्याख्या गर्दै थापाले त्यसको सम्मान गर्न आफूहरू पनि आन्दोलनमा सहभागी भएको बताए । भदौ २३ र २४ गतेको नवयुवा विद्रोहपछि पार्टीभित्र परिवर्तन आवश्यक ठानेर आफूहरूले प्रयास गरेको तर त्यसको प्रतिरोध भएपछि विशेष महाधिवेशनको अवस्था आएको उनको भनाइ छ ।

आफूविरुद्ध अडियो प्रकरण सार्वजनिक भएपछि पार्टीका नेताहरूसँग रातारात भेटघाट र छलफल गर्न थालेको भन्ने प्रचारको पनि उनले खण्डन गरे । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेकाले आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यसका लागि अन्य दलसँग संवाद गर्नु स्वाभाविक भएको उनले बताए ।

यसै सन्दर्भमा आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनको स्पष्टीकरण छ ।

थापाले वर्तमान सरकार पाँच वर्षका लागि आएको जनादेशको सम्मान गर्ने तर सरकारले गलत काम गरे प्रश्न उठाउन नछाड्ने बताए । बाढीपहिरो तथा विपद्बाट घरबारविहीन भएकाहरूको पुनःस्थापना, सुकुम्बासी व्यवस्थापन, रोजगारी सिर्जना, लगानी प्रवद्र्धन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ छ ।

लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरू कमजोर बनाउने प्रयास भए कांग्रेसले प्रतिवाद गर्ने पनि उनले बताए । सरकारका गलत काममा प्रश्न उठाउन थालेकै समयदेखि आफूहरूविरुद्ध नियोजित भाष्य निर्माण गर्न थालिएको उनको आरोप छ ।

आफ्नो नैतिकता र स्वच्छतामाथि कुनै सम्झौता नगरेको दाबी गर्दै थापाले आफू कमजोर नैतिक धरातलमा नरहेको बताए । विगतमा पनि शक्तिशाली सत्ताका गलत कामविरुद्ध प्रश्न उठाउँदा विभिन्न आरोप र चरित्रमाथि प्रहार हुने गरेको उनको भनाइ छ ।

‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ,’ उनले भने, ‘म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु। त्यसैले मलाई माया गर्ने साथीहरू ढुक्क रहनुहोस्।’

थापाले अन्त्यमा प्रायोजित हल्लाका बीच सही प्रश्नहरू मर्न नदिन आग्रह गरे । लोकतन्त्र र मुलुकको प्रगतिका लागि प्रश्न गर्ने संस्कृतिको संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।

‘प्रश्न मर्‍यो भने लोकतन्त्र सकिन्छ। लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...