रूपन्देही । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना अघि बढाउने र पुरातात्विक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी नयाँ नेतृत्वसामु छ। तर लुम्बिनीको विकासलाई भौतिक संरचना निर्माणमा मात्रै सीमित नराखी बुद्धका उपदेश, दर्शन र शान्तिको विश्वव्यापी सन्देशसँग जोड्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ नेतृत्वले काम सुरु गर्ने अपेक्षा बढेको छ। नयाँ नेतृत्वका लागि यो जिम्मेवारी सामान्य प्रशासनिक परिवर्तन मात्रै होइन, विश्वकै महत्वपूर्ण आध्यात्मिक तथा पुरातात्विक सम्पदाको भविष्य निर्धारण गर्ने अवसर र चुनौती पनि हो।
सन् १९७८ मा जापानी वास्तुविद् केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयन सुरु भएको झण्डै ४८ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। १७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गुरुयोजना दशकौँ बितिसक्दा पनि अधुरै छ। यसबीच लुम्बिनीमा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। तर गुरुयोजनाको मूल मर्मअनुसार लुम्बिनीलाई आध्यात्मिक, शान्तिपूर्ण र आनन्ददायी गन्तव्यका रूपमा विकास गर्ने कामले अपेक्षित गति लिन सकेको छैन।
लुम्बिनीको विकास भन्नासाथ भवन, सडक, पार्क, सम्मेलन केन्द्र र अन्य भौतिक संरचना निर्माणलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको सरोकारवालाको धारणा छ। लुम्बिनी पुग्ने पर्यटक केही समय घुम्ने, तस्बिर खिच्ने र दृश्यावलोकन गरेर फर्किने अवस्थाको अन्त्य गर्दै उनीहरूलाई केही दिन बस्न, बुद्ध दर्शन बुझ्न, ध्यान गर्न र आध्यात्मिक आनन्द अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापन गर्ने सुरज घिमिरे लुम्बिनी संसारको ध्यान आकर्षित गरेको महत्वपूर्ण आध्यात्मिक क्षेत्र भएकाले नयाँ नेतृत्वले यसको विशिष्टता बुझेर काम गर्नुपर्ने बताउँछन्। उनका अनुसार लुम्बिनीलाई भौतिक संरचनाको विकासमा मात्रै सीमित राख्नु हुँदैन। बुद्धका उपदेश, शान्ति, करुणा, मैत्री र मानव कल्याणका सन्देशलाई विकासको आधार बनाउनुपर्छ।
लुम्बिनी बौद्ध धर्मावलम्बीको मात्रै तीर्थस्थल नभई संसारभरिका मानिसले शान्ति, ध्यान र आध्यात्मिक आनन्द प्राप्त गर्न सक्ने अन्तर्राष्ट्रिय गन्तव्य बन्नुपर्ने घिमिरेको धारणा छ।
समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजाल पनि लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको महत्वपूर्ण पहिचान र ब्रान्डका रूपमा विकास गर्नुपर्ने बताउँछन्। धार्मिक आस्थामा मात्रै सीमित नरहेको लुम्बिनीको विश्वव्यापी पहिचान, आध्यात्मिक महत्व र सांस्कृतिक सम्पदालाई एकीकृत रूपमा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ।
लुम्बिनीको विकास सरकार वा विकास कोषको एकल प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै रिजालले स्थानीय समुदाय, विश्वविद्यालय, धार्मिक संस्था र अन्तर्राष्ट्रिय समुदाय सबैको साझा दायित्व रहेको धारणा राख्छन्।
पुरातात्विक सम्पदाको संरक्षण अर्को चुनौती
लुम्बिनीको विकासमा उत्तिकै महत्वपूर्ण पक्ष यहाँको पुरातात्विक सम्पदाको संरक्षण हो। पुरातात्विक विषयका विद्यार्थी शशी पन्थी लुम्बिनी धार्मिक तथा आध्यात्मिक क्षेत्रका रूपमा मात्र नभई विश्वकै महत्वपूर्ण पुरातात्विक क्षेत्रका रूपमा परिचित रहेको बताउँछन्। त्यसैले यहाँको विकास गर्दा पुरातात्विक महत्व, ऐतिहासिक प्रमाण र मौलिक संरचनाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
गुरुयोजनाको अधुरो काम पूरा गर्नु आवश्यक भए पनि विकासलाई त्यतिमा मात्रै सीमित राख्न नहुने सरोकारवालाको जोड छ। समय, प्रविधि, पर्यटनको स्वरूप र विश्वव्यापी आवश्यकतामा आएको परिवर्तनलाई ध्यानमा राखेर गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ। पुरानो गुरुयोजनाको मूल मर्म र ऐतिहासिक महत्व सुरक्षित राख्दै वर्तमान समयअनुकूल लुम्बिनीको समग्र विकासको अवधारणा तयार गर्नुपर्ने उनीहरूको सुझाव छ।
बुद्धकालीन सभ्यतासँग जोड्नुपर्ने लुम्बिनी
लुम्बिनीको महत्व बुद्ध जन्मस्थलमा मात्रै सीमित छैन। यससँग जोडिएको बुद्धकालीन सभ्यता, ऐतिहासिक भूगोल र पुरातात्विक सम्पदाको विशाल क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सकिने सम्भावना छ।
बुद्धकालीन रोहिणी सभ्यता, रोहिणी नदी, शाक्य–कोलीय सम्बन्ध, देवदह, तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा र रामग्राम स्तूपलगायत क्षेत्रलाई एकीकृत बौद्ध सांस्कृतिक तथा पुरातात्विक पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ। विशेषगरी रोहिणी नदीसँग जोडिएको बुद्धकालीन सभ्यताको ऐतिहासिक महत्व उजागर गर्दै त्यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ।
लुम्बिनी विकास कोषको जिम्मेवारी बुद्ध जन्मस्थलको परिसरमा मात्रै सीमित छैन। कपिलवस्तुको तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा र गोटिहवा, रुपन्देहीको देवदह तथा पश्चिम नवलपरासीको रामग्राम स्तूपलगायत बौद्ध सम्पदाको संरक्षण र विकास पनि कोषको दायित्वभित्र पर्छ। यी क्षेत्रलाई एउटै बौद्ध सांस्कृतिक सभ्यताको ऐतिहासिक सम्बन्धमा जोडेर विकास गर्न सके लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने सम्भावना छ।
बुद्धले जीवनकालमा दिएका शान्ति, सहअस्तित्व, करुणा र संवादका सन्देशलाई लुम्बिनीको पर्यटनसँग जोड्न सके यस क्षेत्रको महत्व अझ व्यापक बन्न सक्छ। ध्यान, विपश्यना, बौद्ध अध्ययन, सांस्कृतिक अन्तरक्रिया, शान्ति पदयात्रा र स्थानीय जीवनशैलीसँग पर्यटकलाई जोड्ने कार्यक्रम सञ्चालन गर्न सके लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ। यसबाट स्थानीय समुदायको आर्थिक तथा सामाजिक सहभागिता पनि विस्तार हुनेछ।
निर्माण भएका संरचनाको उपयोगिता र आर्थिक स्रोतको प्रश्न
लुम्बिनी विकासका क्रममा निर्माण भएका केही संरचनाको गुणस्तर र उपयोगितामाथि पनि प्रश्न उठ्दै आएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्र निर्माणमा ठूलो रकम खर्च भए पनि हस्तान्तरण हुनुअघि नै चुहावटको समस्या देखिएको विषय सार्वजनिक भएको थियो। त्यस्तै, सम्पदा क्षेत्रको जग्गा उपयोग र संरक्षणसम्बन्धी विवादले पनि कोषको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
कोषको आर्थिक अवस्था पनि नयाँ नेतृत्वका लागि महत्वपूर्ण चुनौती हो। सार्वजनिक विवरणअनुसार कोषले वार्षिक करिब १७ देखि १८ करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। तर कर्मचारीको तलबभत्तामै १२ देखि १३ करोड रुपैयाँ खर्च हुने र अन्य प्रशासनिक तथा सञ्चालन खर्चसमेत जोड्दा आम्दानीले नियमित खर्च धान्न कठिन हुने अवस्था रहेको कोषले जनाएको छ।
यस्तो अवस्थामा ठूला विकास आयोजना सञ्चालन गर्न दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्नु आवश्यक छ। उपलब्ध स्रोतको प्रभावकारी परिचालन, निर्माण भएका संरचनाको उपयोगिता वृद्धि, पारदर्शी आर्थिक व्यवस्थापन र अन्तर्राष्ट्रिय साझेदारी नयाँ नेतृत्वका लागि महत्वपूर्ण काम हुनेछन्।
नयाँ सदस्यसचिव पाण्डेय संरचनागत इन्जिनियरिङ र सहरी पूर्वाधार विकासको अनुभवसहित कोषमा आएका छन्। रुपन्देहीको तिलोत्तमा निवासी उनले काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन्। उनको प्राविधिक अनुभवले गुरुयोजना कार्यान्वयन र पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। तर लुम्बिनीको नेतृत्वका लागि प्राविधिक अनुभवसँगै यसको धार्मिक, सांस्कृतिक, आध्यात्मिक र अन्तर्राष्ट्रिय महत्वलाई समग्र रूपमा बुझेर काम गर्नु उत्तिकै आवश्यक छ।
कङ्क्रिटको विकास कि आध्यात्मिक केन्द्र ?
अब नयाँ नेतृत्वसामु मूल प्रश्न छ– लुम्बिनीलाई थप भौतिक संरचनाले भरिएको पर्यटकीयस्थल बनाउने कि बुद्धका उपदेश र शान्तिको अनुभूति गर्न सकिने विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने ?
यसको अर्थ पूर्वाधार निर्माण आवश्यक छैन भन्ने होइन। सडक, आवास, सरसफाइ, यातायात, सूचना प्रणाली, पर्यटक सेवा र सम्मेलन सुविधाको विकास पनि उत्तिकै आवश्यक छ। तर यी सबै संरचना लुम्बिनीको आध्यात्मिक पहिचान र ऐतिहासिक महत्वलाई सहयोग गर्ने माध्यम बन्नुपर्छ, आफैँमा विकासको अन्तिम उपलब्धि होइनन्।
गुरुयोजनाका बाँकी काम पूरा गर्नु, पुरातात्विक सम्पदाको वैज्ञानिक संरक्षण गर्नु, रोहिणी सभ्यतासहित बुद्धकालीन क्षेत्रको प्रवर्द्धन गर्नु र स्थानीय समुदायलाई विकासको साझेदार बनाउनु नयाँ नेतृत्वका प्राथमिकता हुनुपर्ने देखिन्छ। त्यस्तै, ध्यान, अध्ययन, अनुसन्धान र आध्यात्मिक पर्यटनका कार्यक्रम विस्तार गर्दै पर्यटकलाई लुम्बिनीमा केही समय बिताउन प्रेरित गर्न सक्नुपर्छ।
लुम्बिनी बुद्धको जन्मस्थल भएकाले यसको महत्व कुनै एउटा धर्म वा समुदायमा मात्रै सीमित छैन। यो मानवता, शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश दिने भूमि हो। यहाँ आउने प्रत्येक मानिसले शान्ति, आनन्द र सकारात्मक अनुभूति लिएर फर्किने वातावरण निर्माण गर्नु नै लुम्बिनी विकासको वास्तविक उद्देश्य हुनुपर्छ।
अधुरो गुरुयोजना पूरा गर्नु नयाँ नेतृत्वको तत्कालीन जिम्मेवारी हो। तर त्यससँगै लुम्बिनीलाई विश्वकै शान्ति, अध्ययन र आध्यात्मिक आनन्दको केन्द्र बनाउने दीर्घकालीन सोच कार्यान्वयन गर्न सके मात्रै नयाँ नेतृत्वको जिम्मेवारी सार्थक हुनेछ।