काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्। प्रहरी हिरासतमा रहेका इमन सापकोटाको नाममा सार्वजनिक अडियोमा आफ्नो नाम जोडिएपछि भिडियो सन्देश जारी गर्दै थापाले आफ्नो नैतिकता र स्वच्छतामाथि प्रश्न उठाउने प्रयास गरिएको बताएका हुन्।
कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आधिकारिकता दिलाउन १८ करोड रुपैयाँको लेनदेन भएको भन्दै अडियो सार्वजनिक भएको थियो। त्यसप्रति प्रष्टीकरण दिँदै थापाले पार्टीको आधिकारिकताका लागि भएको राजनीतिक र कानुनी लडाइँमा एक रुपैयाँसमेत अनुचित रूपमा खर्च नभएको बताएका हुन्।
‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ उनले भिडिओमार्फत भनेका छन्।
उनले सार्वजनिक अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए। बोलेको हो वा बोलाइएको हो भन्ने पनि स्पष्ट नभएको उल्लेख गर्दै उनले यसबारे एकपछि अर्को तथ्य खुल्दै जाने र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।
‘अडियोमा हाम्रो बारेमा यस्तो सुनियो रे भनेर हामीले सार्वजनिक रूपमा उत्तर दिनुपर्ने विषय नै होइन। तर, यति कुरा स्पष्ट पार्न चाहन्छु,’ उनले भने।
थापाले अडियो प्रकरणमा आफूहरूलाई प्रश्न गर्नुभन्दा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सोधपुछ गर्नुपर्ने बताए। प्रहरी हिरासतमा रहेका सापकोटासँग अनुसन्धानका क्रममा प्रश्न गर्न र घटनामा जोडिएका सबै पक्षको भूमिका खोतल्न उनले आग्रह गरे।
‘अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने, यसमा को–को जोडिन्छन् ती सबै कुरा खोतल्ने प्रेसको पनि यही जिम्मेवारी हो,’ उनले भने, ‘जब राम्रोसँग अनुसन्धान हुन्छ, निष्पक्ष अनुसन्धान हुन्छ, दूधको दूध पानीको पानी मज्जाले छुट्टिन्छ। हामी त्यसैको प्रतीक्षामा छौँ।’
अडियोको आधिकारिकता र त्यसमा गरिएका दाबीबारे स्वतन्त्र पुष्टि सार्वजनिक भइसकेको छैन। सञ्चारमाध्यममा आएका विवरणअनुसार अडियोको स्रोत र रेकर्डिङको सन्दर्भसमेत स्पष्ट हुन सकेको छैन।
थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको माग गर्दै तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहको संज्ञा दिए। भदौ २३ र २४ गते नवयुवाले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र पनि परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू त्यस अभियानमा जोडिएको उनको भनाइ छ।
विशेष महाधिवेशनमा सहभागी हुने निर्णय कुनै व्यक्तिगत स्वार्थ वा आर्थिक लाभका लागि नभई पार्टी परिवर्तनको आवश्यकताबाट प्रेरित भएको उनले बताए।
अडियो सार्वजनिक भएपछि आफूले हतारहतार पार्टीका नेताहरूसँग भेटघाट र छलफल गरेको भन्ने प्रचारको पनि उनले खण्डन गरे। आफू नेपाली कांग्रेसको सभापति भएकाले पार्टीको नेतृत्वका हैसियतमा केही जिम्मेवारी रहेको र मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार भएकाले विश्वासको मत लिन अन्य दलसँग संवाद गर्नुपर्ने अवस्था रहेको उनले बताए।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले स्पष्ट पारे।
थापाले वर्तमान सरकार पाँच वर्षका लागि आएको जनादेशको सम्मान गर्ने बताए। तर, सरकारले सही विषयमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै विपद्बाट घरबारविहीन भएकाहरूको पुनःस्थापना, सुकुम्बासी व्यवस्थापन, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
‘सरकारलाई सही कुरामा साथ दिन्छौँ, जहाँ गल्ती गर्छ त्यहाँ प्रश्न गर्छौं,’ उनले भने, ‘लोकतान्त्रिक अधिकार खुम्च्याउने र हाम्रा संस्थाहरूलाई कमजोर बनाउने काम हुँदै गर्दा हामी मुखदर्शक भएर बस्दैनौँ। बोल्छौँ, प्रश्न गर्छौं र प्रतिवाद गर्छौं।’
सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूहरूविरुद्ध नियोजित भाष्य निर्माण गर्न थालिएको उनको आरोप छ। तर, त्यस्ता प्रचारले आफ्नो प्रश्न गर्ने जिम्मेवारी र सरकारका गलत कामको प्रतिवाद गर्ने भूमिकालाई कमजोर बनाउन नसक्ने उनले बताए।
आफ्नो राजनीतिक जीवनमा शक्तिशाली सत्ताका गलत कामविरुद्ध निरन्तर प्रश्न उठाउँदै आएको उल्लेख गर्दै थापाले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न पछि नहटेको बताए।
‘म गगन थापा तपाईंको दाइ, भाइ, साथी, छोरा र तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भने, ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ।’
आफूविरुद्ध विगतमा पनि विभिन्न समयमा प्रायोजित आरोप र चरित्रमाथि प्रश्न उठाउने प्रयास भएको उनको भनाइ छ। तर, आफ्नो नैतिक बल र स्वच्छताकै कारण त्यस्ता आरोपको सामना गर्दै अघि बढेको उनले बताए।
थापाले अन्त्यमा प्रायोजित हल्लाका बीच सही प्रश्न गर्ने परिपाटी मर्न नदिन सबैलाई आग्रह गरे। प्रश्न गर्ने संस्कृति लोकतन्त्र र मुलुकको प्रगतिसँग जोडिएको उल्लेख गर्दै उनले त्यसलाई कमजोर हुन दिन नहुने बताए।
‘प्रश्न मर्यो भने लोकतन्त्र सकिन्छ। लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ उनले भने, ‘आजको सबैभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ भन्ने हो।’