काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको मौलिक राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठालाई आर्थिक विकास, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हितसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले ‘ब्रान्ड नेपाल’लाई सरकारको विकास आकाङ्क्षा र परराष्ट्र नीतिको महत्त्वपूर्ण रणनीतिक आधारका रूपमा व्याख्या गरे ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘ब्रान्ड नेपाल : नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स एन्ड स्ट्राटेजिक अपर्च्युनिटिज’ विषयक परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रममा उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाले लगानी, कूटनीतिक सम्बन्ध र विश्व बजारमा देशको स्थान निर्धारणमा प्रभाव पार्ने बताए ।
‘राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र अन्तर्राष्ट्रिय जगत्मा देशको स्थान निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो’, उनले भने ।
नेपालको अन्तर्राष्ट्रिय पहिचान हिमाल, लुम्बिनी र समृद्ध सांस्कृतिक सम्पदासँग जोडिए पनि त्यसलाई यतिमै सीमित गर्न नहुने उनको भनाइ थियो । नेपालका विभिन्न जातजाति, भाषा, समुदाय र क्षेत्रका मौलिक परम्परा तथा सिर्जनालाई समेत राष्ट्रिय पहिचानको अभिन्न हिस्साका रूपमा विश्वमाझ प्रस्तुत गर्नुपर्ने उनले बताए ।
काठमाडौँ उपत्यकाको परम्परागत हस्तकला, हिमाली समुदायका बुनाइ परम्परा, थारू समुदायको कला र पर्यावरणसम्बन्धी ज्ञान, मैथिली तथा भोजपुरी भाषाका साहित्यिक अभिव्यक्ति र पूर्वी पहाडका किरात परम्परा नेपालको सामूहिक पहिचानका महत्त्वपूर्ण आधार भएको उनले उल्लेख गरे ।
नेपाली समुदायको उद्यमशीलता, कलाकारको सिर्जनशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विदेशमा रहेका नेपाली पेसाकर्मीको योगदानले पनि नेपालको अन्तर्राष्ट्रिय छविलाई थप समृद्ध बनाएको खनालले बताए ।
‘हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छौँ । आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ’, उनले भने ।
परराष्ट्रमन्त्री खनालले ब्रान्ड नेपालको प्रवर्द्धनका लागि तीनवटा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । उनका अनुसार नेपालको विविध राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र मूल्य अभिवृद्धि गर्नु, सार्वजनिक कूटनीतिमार्फत व्यापक र प्रभावकारी राष्ट्रिय पहिचान निर्माण गर्नु तथा राष्ट्रिय पहिचानलाई रणनीतिक अवसरसँग जोड्नु आवश्यक छ ।
नेपालका परम्परागत हस्तकला, कृषि अभ्यास, परम्परागत उपचारसम्बन्धी ज्ञान, क्षेत्रीय परिकार र कलात्मक सिर्जनामा सांस्कृतिक मात्र नभई आर्थिक सम्भावनासमेत रहेको उनले बताए । यस्ता मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, भौगोलिक सङ्केत (जिआई), प्रमाणीकरण प्रणाली र गुणस्तर मापदण्ड विकास गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालको पहिचानलाई विश्वमाझ स्थापित गर्ने काम प्रचारप्रसारमा मात्र सीमित हुन नहुने उनको भनाइ थियो । अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने राष्ट्रिय छविलाई व्यवहार र उपलब्धिबाट समेत पुष्टि गर्नुपर्ने उनले बताए ।
यस सन्दर्भमा सन् २०२५ मा आयोजना गरिएको सगरमाथा संवाद र सन् २०२७ मा पुनः आयोजना गर्ने तयारीलाई उनले नेपालको सार्वजनिक कूटनीतिको महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरे । जलवायु परिवर्तन र दिगो विकासजस्ता विश्वव्यापी चुनौतीमा अन्तर्राष्ट्रिय संवाद सहजीकरण गर्दै नेपाललाई रचनात्मक भूमिका निर्वाह गर्ने राष्ट्रका रूपमा स्थापित गर्न संवादले योगदान पुर्याएको उनको भनाइ थियो ।
‘हामीले विश्वमाझ प्रस्तुत गर्ने राष्ट्रिय पहिचान र कथ्यलाई व्यवहारमा सिर्जना गर्ने अनुभवले पनि पुष्टि गर्न सक्नुपर्छ । त्यसबाटै प्रभावकारी सार्वजनिक कूटनीतिको विकास हुन्छ’, उनले भने ।
खनालले नेपालको राष्ट्रिय पहिचानलाई आर्थिक तथा रणनीतिक अवसरसँग जोड्न जलविद्युत्, पर्यटन, डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपालको जलविद्युत् स्रोतले क्षेत्रीय ऊर्जा सहकार्य विस्तार गर्ने अवसर दिएको, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले विविध र उच्च मूल्यको पर्यटन प्रवर्द्धन गर्न सक्ने तथा युवा उद्यमी र पेसाकर्मीले डिजिटल सेवा र नवप्रवर्तनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोडिरहेको उनले उल्लेख गरे ।
त्यस्तै, हिमाली पारिस्थितिक प्रणाली र जलवायु जोखिमसम्बन्धी नेपालको अनुभवले विश्वव्यापी वातावरणीय कूटनीतिमा नेपालको आवाजलाई थप महत्त्वपूर्ण बनाएको उनको भनाइ थियो ।
यी सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्न दूरदर्शी रणनीति, सक्षम संस्थागत संरचना, विश्वसनीय पूर्वाधार र निरन्तर अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए ।
नेपालको आर्थिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजार र लगानीसँग जोड्न परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखा तथा विदेशस्थित नेपाली नियोगहरूले काम गरिरहेको जानकारी दिँदै उनले वैदेशिक लगानी, बजार पहुँच, प्रविधि र ज्ञान सञ्जाल विस्तारमा कूटनीतिक संयन्त्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।