काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणमा केही नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। प्रतियोगिता प्लेअफ चरणतर्फ अघि बढिरहँदा बलिङमा राहुल यादव र रिजन ढकाल तथा ब्याटिङमा लोकेश बम र राशिद खान विशेष लयमा देखिएका छन्।
लिग चरणका खेलहरू अन्तिमतिर पुग्दा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। प्रतियोगितामा विदेशी खेलाडीको प्रभावसँगै नेपाली युवा खेलाडीले पनि आफ्नो प्रदर्शनबाट चर्चा बटुलिरहेका छन्।
एनपिएलका अघिल्ला संस्करणले नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने मञ्च प्रदान गरेका थिए। यसपटक पनि केही खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय टोलीमा आफ्नो दाबेदारी थप बलियो बनाउने संकेत दिएका छन्।
ट्यालेन्ट हन्टबाट आएर गोल्डेन क्यापको दौडमा राहुल
यस संस्करणमा सर्वाधिक चर्चा कमाउने खेलाडीमध्ये एक हुन् तीव्र गतिका बलर राहुल यादव। जनकपुर बोल्ट्सबाट खेलिरहेका राहुल ट्यालेन्ट हन्टमार्फत छनोट भएर टोलीमा आबद्ध भएका हुन्।
पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक र क्रिकेटप्रेमीको ध्यान खिचेका छन्। सात खेलमा १२ विकेट लिएका राहुल प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्।
काठमाण्डु गोर्खाजविरुद्धको खेलमा उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएका थिए। त्यसपछिका लगातार दुई खेलमा विकेटविहीन भए पनि पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे। त्यसपछि क्रमशः एक र तीन विकेट लिएर उनले आफ्नो लय कायम राखेका छन्।
ट्यालेन्ट हन्टबाट छनोट भएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलरको दौडमा पुग्नु राहुलका लागि उल्लेखनीय उपलब्धि हो। उनको प्रदर्शनले घरेलु क्रिकेटमा प्रतिभा पहिचान र अवसरको महत्त्वसमेत देखाएको छ।
हरेक खेलमा विकेट लिँदै रिजन
बलिङतर्फ चितवन राइनोजका रिजन ढकाल पनि निरन्तर प्रभावशाली देखिएका छन्। उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन्। प्रतियोगितामा खेलेका प्रत्येक खेलमा विकेट लिन सफल हुनु उनको निरन्तरताको उदाहरण हो।
रिजनको बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ। चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित हासिल गरेको छ। टोलीलाई प्लेअफसम्म पुर्याउने क्रममा रिजनको प्रदर्शनले पनि योगदान गरेको छ।
अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका रिजनले नेपालका लागि आठ टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्। एनपिएलमा उनको निरन्तर विकेट लिने क्षमताले राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाउने अवसर दिएको छ।
ब्याटिङमा लोकेशको दबदबा
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम यस संस्करणका प्रभावशाली खेलाडी बनेका छन्। उनले सात खेलमा २४२ रन बनाएका छन्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्षस्थानमा छन्।
लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन्। आक्रामक ब्याटिङका लागि परिचित उनले टोलीलाई आवश्यक परेको अवस्थामा रन बनाउन सक्ने क्षमता देखाएका छन्।
नेपालका लागि २९ टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गरेका छैनन्। एनपिएलमा देखाएको प्रदर्शनले सीमित ओभरको क्रिकेटमा उनको सम्भावनालाई थप उजागर गरेको छ।
राशिदको पुनरागमनको प्रयास
काठमाण्डु गोर्खाजका राशिद खान पनि यस संस्करणमा ब्याटिङबाट चर्चामा छन्। उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन्।
राशिदले नेपालका लागि दुई टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका छन्। एनपिएलमा उनले देखाएको ब्याटिङ लयले राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई पनि चर्चामा ल्याएको छ।
चार खेलाडीको प्रदर्शनले यस संस्करणको एनपिएल केवल टोलीबीचको प्रतिस्पर्धामा सीमित नभई नेपाली क्रिकेटका नयाँ तथा सम्भावनायुक्त खेलाडीको क्षमता परीक्षण गर्ने मञ्चसमेत बनेको देखाउँछ।
राहुल र रिजनको बलिङ निरन्तरता तथा लोकेश र राशिदको ब्याटिङ लयले नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताको आकर्षण बनाएको छ। अब प्लेअफमा उनीहरूले आफ्नो लय कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने चासो रहनेछ।