काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्। अर्नब र मुरासुपछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको हो। यसले भारतको आन्ध्र प्रदेश र आसपासका तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ। तर नेपालमा भने यसको प्रभावबाट भारी वर्षा हुने सम्भावना अहिलेसम्म देखिएको छैन।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अकवान नोभेम्बर २० अर्थात् मंसिर ४ गते दिउँसो आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रअन्तर्गत नेल्लोर र विशाखापट्टनमबीचबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।
बुधबार बिहान जारी पछिल्लो बुलेटिनअनुसार अकवान गम्भीर चक्रवाती आँधीमा परिणत भइसकेको छ। यसको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर र झोक्का १२० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ।
यसअघि मंगलबारको पूर्वानुमानमा यो आँधी अझ शक्तिशाली भएर अति गम्भीर चक्रवाती आँधी बन्ने र हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर पुग्ने अनुमान गरिएको थियो। पछिल्लो बुलेटिनमा भने यसको सम्भावित तीव्रता घटाइएको छ।
आईएमडीले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारीदेखि अति भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको छ। नोभेम्बर १९ र २० मा केही स्थानमा अत्यधिक भारी वर्षासमेत हुन सक्ने अनुमान छ।
नेपालमा कस्तो पर्ला प्रभाव?
बंगालको खाडीमा विकसित चक्रवातको सीधा असर नेपालमा पर्ने सम्भावना कम हुन्छ। तर त्यसबाट उत्पन्न हुने न्यूनचापीय प्रणाली र वायुमण्डलको माथिल्लो तहमा हुने मौसमी गतिविधिका कारण नेपालमा बादल लाग्ने, वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहन्छ।
अकवानको सम्भावित मार्ग र नेपालमा पर्ने प्रभावबारे मौसमविद्हरूले पनि निगरानी गरिरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको मार्ग र तीव्रताका आधारमा थप आकलन गर्न सकिन्छ। अहिलेसम्मको मौसमी अवस्थाले भने नेपालमा उल्लेख्य प्रभाव पर्ने संकेत गरेको छैन।
उनका अनुसार चक्रवातका कारण पूर्वी नेपालतर्फ बादल प्रवेश गर्ने सम्भावना रहे पनि त्यसले ठूलो वर्षा गराउने सम्भावना देखिएको छैन। वर्षा भइहाले पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने प्रारम्भिक अनुमान छ।
त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि अकवानका कारण नेपालमा भारी वर्षा हुने संकेत नरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइतबार र सोमबार पूर्वी आधा नेपालका थोरै ठाउँमा हल्का वर्षा हुन सक्छ। अहिलेसम्म भारी वर्षाको स्पष्ट संकेत छैन।’
जल तथा मौसम विज्ञान विभागको बुधबारको मौसम विवरणअनुसार अहिले पश्चिमी वायुको आंशिक प्रभाव नेपालमा छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ। दिउँसो कोशी प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
विभागले आगामी पाँच दिनका लागि जारी गरेको मौसम चेतावनीमा पनि देशका कुनै क्षेत्रमा विशेष मौसमी चेतावनी जारी गरेको छैन।
अहिले कहाँ छ अकवान?
भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान साढे ५ बजे अकवान बंगालको खाडीको दक्षिणी तथा पश्चिममध्य भागमा केन्द्रित थियो। यो पछिल्लो ६ घण्टामा प्रतिघण्टा तीन किलोमिटरको गतिमा उत्तर–उत्तरपश्चिमतर्फ सरेको थियो।
त्यतिबेला आँधी चेन्नईबाट करिब ५८० किलोमिटर पूर्व, श्रीलंकाको त्रिणकोमालीबाट ६५० किलोमिटर उत्तरपूर्व, आन्ध्र प्रदेशको मछलीपट्टनमबाट ६१० किलोमिटर दक्षिणपूर्व र विशाखापट्टनमबाट ६१० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा थियो।
आईएमडीका अनुसार आँधी उत्तर–उत्तरपश्चिमतर्फ अघि बढ्दै नोभेम्बर २० मा आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र पार गर्ने अनुमान छ।
यसको प्रभावबाट आन्ध्र प्रदेशका तटीय जिल्लामा भारी वर्षा, तीव्र हावाहुरी र समुद्रमा ठूलो छाल उठ्ने जोखिम छ। तटीय क्षेत्रमा समुद्री पानीको सतह बढेर होचो भूभाग डुबानमा पर्न सक्ने चेतावनीसमेत दिइएको छ।
एकपछि अर्को चक्रवात
यसअघि अक्टोबर २५ अर्थात् कात्तिक ८ गते बंगालको खाडीमा अर्नब चक्रवात विकसित भएको थियो। त्यसबाट उत्पन्न न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा कात्तिक १२ देखि १४ गतेसम्म वर्षा र हिमपात भएको थियो।
अर्नबको प्रभाव कमजोर भएलगत्तै नोभेम्बर १ अर्थात् कात्तिक १५ गते बंगालको खाडीमा मुरासु नामको अर्को चक्रवात विकसित भएको थियो। नोभेम्बर ३ अर्थात् कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको उक्त चक्रवातको प्रभाव नेपालमा खासै देखिएको थिएन।
कात्तिक २५ गते भाइटीकाका दिन काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा असिनासहित वर्षा भएको थियो। तर उक्त वर्षा चक्रवातका कारण नभई पश्चिमी र स्थानीय वायुको प्रभावबाट भएको मौसमविद्हरूले बताएका थिए।
अहिले विकसित अकवानको प्रभाव पनि नेपालमा कति पर्छ भन्ने कुरा यसको आगामी मार्ग, तीव्रता र त्यससँग जोडिएर विकास हुने मौसमी प्रणालीमा निर्भर हुनेछ। अहिलेसम्मको पूर्वानुमानले भने नेपालमा ठूलो वर्षाको जोखिम देखाएको छैन।