नेभिगेशन
विचार

विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

काठमाडौँ । प्रारम्भिक बाल विकास र बाल शिक्षा (इसिइडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो । यस्तो विकास पाठ्यपुस्तक कण्ठ पार्ने परिपाटीबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहमय अन्तरक्रियाद्वारा सम्भव हुन्छ । यद्यपि, नेपालमा विगत दुई दशकयता इसिइडीका कार्यक्रमहरू तीव्र रूपमा विद्यालयीकरण (स्कुलिफिकेशन)को सिकार बनिरहेका छन् । विद्यालयीकरण भन्नाले प्रारम्भिक बाल्यकालको सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाली डेस्क–बेन्च, किताब–कापी, गृहकार्य एवं परीक्षातर्फ मोड्ने अनि बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभतालाई पाखा लगाउने अभ्यास हो । हामीले विभिन्न मञ्चहरूमा यस विद्यालयीकरण र औपचारिक विद्यालयजस्तो बनाउने प्रवृत्तिप्रति निरन्तर ध्यानाकर्षण गराउँदै यसले इसिइडीलाई केबल ‘विद्यालय प्रवेशको तयारी’ मा सीमित तुल्याएको कुरा प्रस्ट पार्दै आएका छौँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाल्यकाललाई वयस्क जीवनको तयारीका रूपमा मात्र बुझ्नु हुँदैन । बाल्यकाल आफैँमा पूर्ण, अर्थपूर्ण र अधिकारसम्पन्न जीवनको अवस्था हो । त्यसैले इसिइडीको सफलता बालबालिकाले कति अक्षर चिने, कति शब्द लेखे वा कति गणितीय प्रश्न हल गरे भन्ने आधारमा मात्र मापन गर्न सकिँदैन । उनीहरू कति सुरक्षित, आत्मविश्वासी, जिज्ञासु, सिर्जनशील, आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बने भन्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ । यस अर्थमा बाल्यकालको संरक्षण, सम्मान र प्रर्वद्र्धन इसिइडीको शैक्षिक मात्र नभई नैतिक, सामाजिक र अधिकारसम्बन्धी दायित्व पनि हो ।

Marvel
Extreme Energy

विद्यालयीकरणका स्वरूपहरू

विद्यालय तयारी (स्कुल रेडिनेस) र विद्यालयीकरण (स्कुलिफिकेसन) समानार्थ अवधारणा होइनन् । विद्यालय तयारी भन्नाले बालबालिका विद्यालय प्रवेश गर्दा आवश्यक पर्ने आधारभूत शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक तथा संज्ञानात्मक क्षमताको समग्र विकासलाई बुझिन्छ । यसको विपरीत विद्यालयीकरणले प्रारम्भिक बाल्यकालकै सिकाइलाई औपचारिक विद्यालयको पाठ्यक्रम, समयतालिका, अनुशासन, परीक्षा र उपलब्धिमुखी प्रतिस्पर्धाको ढाँचामा सीमित गर्छ । वास्तविक विद्यालय तयारी बालबालिकालाई विद्यालयको दबाबअनुसार ढाल्नु होइन, विद्यालयलाई बालबालिकाको विकासात्मक आवश्यकता र विविधता (डिएपी) अनुसार तयार गर्नु हो । नेपालमा विद्यालयीकरण चार प्रमुख स्वरूपहरूमा प्रकट भएको पाइन्छ । 

क. स्थानीय सांस्कृतिक तथा सामाजिक सन्दर्भ 

यसमा आयातित मोडेलहरूको अन्धाधुन्ध प्रयोगलाई लिन सकिन्छ । विशेषगरी विकसित भनिएका शैक्षिक प्रणालीबाट सीधै अनुकरण गरिएका प्रि–स्कुल र तथा कथित ‘इन्टरनेसनल’ पाठ्यक्रमहरूलाई नेपाली भाषा, स्थानीय परिवेश, मौलिक संस्कृति र बालबालिकाको दैनिक जीवन जगतसँग जोड्ने कुनै गम्भीर प्रयास नगरी तिनिहरूलाई अँगाल्ने प्रवृत्ति व्यापक रूपमा बढेको छ । यसले इसिइडीलाई बालबालिकाको स्वाभाविक विकासको माध्यम बनाउनुको सट्टा एउटा ‘आयातित परियोजना’ मा सीमित गरिदिएको छ ।

ख. औपचारिक शैक्षिक सामग्रीको अत्यधिक प्रयोग

चार वर्षभन्दा कम उमेरका साना बालबालिकाका लागि पनि पाठ्यपुस्तक, अभ्यास पुस्तिका, कापी र निरन्तरको लेखन अभ्यासलाई अनिवार्य बनाउने प्रवृत्ति व्यापक छ । यस उमेरमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद, चित्रकला, कथा गायन तथा सामाजिक अन्तरक्रिया मुख्य माध्यम हुनुपर्नेमा थ्री आर (पढ्ने, लेख्ने र गणितीय गणना गर्ने) लाई नै सिकाइको मुख्य मानक मान्ने गरिएको छ । यसले गर्दा बालबालिकाको स्वाभाविक जिज्ञासा, सिर्जनशीलता र मौलिक सोच कुण्ठित हुन पुगेको छ ।

ग. कक्षा संरचना र मूल्याङ्कनको अत्यधिक विद्यालयीकृत ढाँचा 

प्रारम्भिक बाल विकास र बालशिक्षा केन्द्रहरूमा पनि साना बालबालिकालाई उमेर (अनुकूल खुला तथा लचिलो वातावरण दिनुको सट्टा औपचारिक विद्यालय जस्तै कडा कक्षा संरचनामा बाँध्ने गरिएको पाइन्छ । विद्यालयकृत बेन्च डेस्कको संरचनाले उनीहरूको शारीरिक तथा प्राकृतिक सिकाइको चाहनालाई पूर्णरूपमा नियन्त्रण गर्छ ।

घ. कानुनी व्यवस्था 

नेपालको विद्यमान कानुनी व्यवस्थाले चार वर्ष उमेर पूरा गरेका बालबालिकाका लागि कम्तीमा एक वर्षको प्रारम्भिक बाल विकास तथा शिक्षा सुनिश्चित गरेको छ । राष्ट्रिय प्रारम्भिक बाल विकास रणनीति, २०७७–२०८८ ले गर्भावस्थादेखि आठ वर्षसम्मको अवधिलाई समेट्दै स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण, हेरचाह र प्रारम्भिक सिकाइलाई एकीकृत रूपमा हेरेको छ । यस सन्दर्भमा चार वर्षभन्दा कम उमेरका बालबालिकाका लागि आवश्यक विकास अनुकूल हेरचाह (केयर) सुरक्षित वातावरण, पोषण, खेल र सामाजिक अन्तरक्रियाका अवसरहरूलाई पनि राज्यको नीतिगत जिम्मेवारीभित्र समेटिनुपर्छ । 

विशेषगरी घरबाहिर काम गर्ने अभिभावक, न्यून आय भएका परिवार र जोखिममा रहेका समुदायका बालबालिकाका लागि गुणस्तरीय बाल हेरचाह केन्द्रको व्यवस्था आवश्यक छ । यसरी (इसिइडी) लाई एक वर्षको विद्यालय प्रवेशपूर्व कार्यक्रमका रूपमा मात्र नभई जन्मदेखि आठ वर्षसम्मको निरन्तर र एकीकृत विकास प्रक्रियासँग जोडेर बुझ्नुपर्छ । एकीकृत विकासको दृष्टिकोणलाई बेवास्ता गरी अधिकांश अभिभावकहरूमा ‘जति धेरै वर्ष पढाउन सकियो र जति छिटो औपचारिक कापी–कलम समात्न लगाइयो, उति नै राम्रो इसिइडी  हुन्छ’ भन्ने गलत धारणा व्याप्त छ । अभिभावकको यही मानसिकताले प्रारम्भिक बाल विकासलाई एउटा गलत शिक्षा परियोजनना (मिसएजुकेशन प्रोजेक्ट) मा परिणत गरिएको छ । 

विद्यालयीकरणलाई अभिभावकको व्यक्तिगत चाहना वा विद्यालयको शिक्षण अभ्यासमा मात्र सीमित गरेर बुझ्नु पनि पर्याप्त हुँदैन । यो नेपालको शिक्षा प्रणालीभित्र विकसित हुँदै गएको एउटा संरचनागत समस्या पनि हो । निजी शैक्षिक संस्थाहरूबीचको प्रतिस्पर्धा, अङ्ग्रेजी माध्यमप्रतिको सामाजिक आकर्षण, छिटो शैक्षिक उपलब्धि देखाउने दबाब, व्यावसायिक पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको बजार र प्रारम्भिक बाल शिक्षामा प्रभावकारी नियमनको अभावले विद्यालयीकरणलाई थप संस्थागत बनाएका छन् । यसरी बाल्यकाल क्रमशः शैक्षिक प्रतिस्पर्धा र उपभोगको वस्तुमा रूपान्तरण हुने जोखिम बढेको छ । त्यसैले विद्यालयीकरणको समाधानका लागि अभिभावक सचेतना मात्र पर्याप्त हुँदैन, शिक्षा प्रणाली, संस्थागत अभ्यास, नियमन र बजार संरचनामा समेत परिवर्तन आवश्यक छ ।

विद्यालयीकरणका गम्भीर प्रभावहरू

विद्यालयीकरणले प्रारम्भिक बाल विकासका लक्ष्यहरूलाई विकृत मात्र गरेको छैन, यसले बालबालिकाको विकासमै दीर्घकालीन मुख्यगरी निम्न नकारात्मक असर पुर्‍याएको देखिन्छः

संज्ञानात्मक र सामाजिक–संवेगात्मक विकासमा नकारात्मक असर

नेपाली इसिइडीका सन्दर्भमा विद्यालयीकरण मुख्यतया चार स्वरूपमा प्रकट भएको पाइन्छ । पहिलो, रैथाने ज्ञान र स्थानीय परिवेशलाई बेवास्ता गर्दै पश्चिमा तथा आयातित प्रि–स्कुल मोडेलहरूको अन्धाधुन्ध प्रयोग गर्नु । दोस्रो, चार वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि घोकाउने र औपचारिक कापी किताब तथा गृहकार्यको भार थोपर्नु । तेस्रो, कक्षा संरचना, शिक्षक–केन्द्रित कण्ठा गर्ने शिक्षण विधि र प्राप्ताङ्कमा आधारित नतिजामुखी मूल्याङ्कन ढाँचा अँगाल्नु । चौथो, अतिरिक्त व्यापारिक कक्षाहरू सञ्चालन गरी प्रारम्भिक बाल शिक्षाको मानमर्दन गर्नु ।

तनाव र मनोवैज्ञानिक भार

प्रारम्भिक बाल्यकालमा बालबालिकामाथि थोपरिने अत्यधिक विद्यालयीकरणले उनीहरूको मानसिक र मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहेको छ । साना बालबालिकाले छिटो अक्षर चिन्नु, अङ्ग्रेजी बोल्नु वा धेरै हिसाब गर्नुलाई नै उत्कृष्ट बाल विकास मान्ने गलत धारणाका कारण विद्यालयहरू पनि कण्ठ गर्ने प्रणाली र विधि अपनाउन बाध्य छन् । सरकारले पनि सही पैरवी र स्रोतको व्यवस्था गर्न उदासिन रहँदा यो क्षेत्रको सही विकास भएको देखिन्न । पाँच वर्ष वा सोभन्दा कम उमेरका साना बालबालिकालाई उनीहरूको विकासक्रम अनुकूल नहुने गरी ‘कक्षा १’ वा सोभन्दा माथिल्लो तहको कठिन पाठ्यक्रम घोकाउने, दैनिक कापी–कलममा सीमित गराई अनिवार्य गृहकार्य दिने र लिखित परीक्षाको सामना गर्न बाध्य पारिँदा उनीहरूमा निरन्तरको चिन्ता, मानसिक तनाव र असफलताको डर पैदा हुन्छ । 

दबाब र असमानताको विस्तार

इसिइडीमा देखिएको अत्यधिक विद्यालयीकरणले बालबालिकाको समग्र मानसिक स्वास्थ्य, संवेगात्मक विकास र सामाजिक सम्बन्धहरूमा गम्भीर असर पारिरहेको छ । साना बालबालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा माथिल्लोस्तरको औपचारिक पाठ्यक्रम घोकाउने, दैनिक गृहकार्यको बोझ थोपर्ने तथा लिखित परीक्षाको सामना गर्न बाध्य पारिने अभ्यासले उनीहरूमा मानसिक तनाव र चिन्ता सिर्जना गर्दछ । 

प्रारम्भिक बालविकासमा सरकारको कम लगानीले एक प्रकारको विषम अवस्था उत्पन्न भएको छ । आर्थिक रूपमा विपन्न परिवारका बालबालिका महँगा निजी प्रि–स्कुलको प्रतिस्पर्धामा पछि पर्ने अवस्था सिर्जना हुन्छ । ठिकै शुल्क लिएर चलाइएका निजी, सामुदायिक र धेरै शुल्क असुल्ने (इसिइडी)  केन्द्रहरूबीचको शुल्कमा भएको खाडलले प्रारम्भिक वर्षदेखि नै सामाजिक विभाजनलाई संस्थागत गर्न सक्छ । इसिइडी क्षेत्रमा सरकारले लगानी बढाई स्रोतको सुनिश्चितताका साथ गरिब परिवारका बच्चाहरूका लागि गुणस्तरीय इसिइडीको व्यवस्था गर्नु जरूरी छ ।

सांस्कृतिक विरासत र भाषिक पहिचानको क्षय

विद्यालयीकृत इसिइडीले नेपाली र मातृभाषा, लोककथा, स्थानीय खेल र सामुदायिक ज्ञान प्रणालीलाई पाठ्यक्रमबाट बाहिर पार्दै लगेको छ । साना बालबालिकालाई उनीहरूको मौलिक परिवेशबाट टाढा राखेर आयातित, अङ्ग्रेजी माध्यम वा औपचारिक ढाँचाका विषयवस्तु घोकाउनाले उनीहरू आफ्नै भाषिक जग र सांस्कृतिक पहिचानबाट विमुख हुने खतरा बढेको छ । बालबालिकाले मातृभाषा वा स्थानीय भाषामार्फत अभिव्यक्ति व्यक्त गर्ने प्राकृतिक अवसर नपाउँदा उनीहरूको भाषिक सामथ्र्य, मौलिक शब्दावली र अभिव्यक्ति क्षमतामा सङ्कुचन आउँछ । 

यसैगरी, हाम्रा रैथाने लोककथा, गीतिकथा र हजुरआमा हजुरबाबाले सुनाउने परम्परागत दन्त्यकथाहरू ओझेलमा पर्दै गएका छन् । यी लोककथाहरू केबल मनोरञ्जनका साधन मात्र नभई जीवनमूल्य, नैतिकता र सामाजिक दायित्व हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम थिए । साथै, घुर्रा, डन्डीबियो, चङ्गा, गट्टा, र चुङ्गीजस्ता स्थानीय तथा परम्परागत खेलहरूले बालबालिकाको शारीरिक सुगठन, सामूहिक भावना, सहकार्य र सामाजिक सीपको विकासमा महत्वपूर्ण योगदान पुर्याउँथे । यसका साथै, स्थानीय कालीगढ, किसानहरूले प्रयोग गर्ने व्यावहारिक एवं सामुदायिक ज्ञान प्रणालीलाई समेत ओझेल पारिएको छ । 

कार्यक्रम बढ्दै, गुणस्तर खस्कँदै

नेपालमा विगत केही दशकयता इसिइडी कार्यक्रमहरूको सङ्ख्यात्मक विस्तार व्यापक रूपमा भएको छ । सार्वजनिक तथा निजी दुवै क्षेत्रबाट बाल विकास केन्द्र तथा प्रि–स्कुलहरूको पहुँच गाउँ–गाउँसम्म पुगेको छ । जति–जति कार्यक्रमहरूको विस्तार हुँदैछ, उति–उति बाल शिक्षाको मौलिक मर्म र गुणस्तर भने खस्कँदो अवस्थामा पुगेको छ  । विशेष गरी शिक्षा ऐनको आठौँ संशोधनपश्चात् प्रारम्भिक बाल विकास केन्द्रहरूलाई औपचारिक विद्यालय ढाँचाभित्र समायोजन गरियो । 

नेपालको प्रारम्भिक बाल विकास तथा शिक्षाको वर्तमान अवस्थाले पहुँच र गुणस्तरबीचको अन्तरलाई पनि उजागर गर्छ । युनिसेफको  ‘स्कुल रेडिनेस रिपोर्ट’मा प्रस्तुत शैक्षिक वर्ष २०२३÷२४ को तथ्याङ्कअनुसार नेपालमा ४० हजार ६८४ प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षाहरू सञ्चालनमा थिए । तीमध्ये ८१.२ प्रतिशत सरकारी वा सामुदायिक र १८.७ प्रतिशत निजी क्षेत्रबाट सञ्चालित थिए । यसै अवधिमा प्रारम्भिक बाल शिक्षाको कुल भर्नादर ९९.९ प्रतिशत पुगेको देखिन्छ तर उच्च भर्नादरले मात्र बालबालिकाले प्राप्त गरिरहेको सिकाइको गुणस्तर, अनुभव र विकासात्मक अवसर सुनिश्चित गर्दैन ।

तीन चार वर्षका बालबालिकालाई कापी कलम समात्न लगाएर अक्षर र अङ्क घोकाउने, गृहकार्यको बोझ दिने र लिखित परीक्षाका आधारमा मूल्याङ्कन गर्ने विकृत परिपाटीले व्यापकता पाएको छ । यसले अब नेपालको इसिइडी बहस पहुँच विस्तारबाट गुणस्तरीय, समावेशी, अर्थपूर्ण र विकासअनुकूल सिकाइ अनुभवतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखाउँछ ।

स्नातकदेखि विद्यावारिधिसम्मको संरचना

यस विरोधाभासलाई चिर्ने प्रण गर्दै निजी, सामुदायिक र सरकारी पक्षसँगको सहकार्यमा  काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्काय (कुसोड) ले इसिइडीमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । यसको मुख्य उद्देश्य पश्चिमा वा आयातित अभ्यासहरू र विद्यालयीकरणलाई चुनौती दिँदै नेपालको स्थानीय, सांस्कृतिक तथा सामाजिकसन्दर्भ अनुकूल इसिइडीको विकास गर्नु हो ।

गएको तीन वर्षमा कुसोड अन्तर्गतको समावेशी शिक्षा, प्रारम्भिक बाल विकास तथा व्यावसायिक अध्ययन विभाग (डिआइइपी) ले (इसिइडी) मा स्नातकदेखि विद्यावारिधिसम्मको एउटा पूर्ण शैक्षिक सोपान निर्माण गरेको छ । यसअन्तर्गत पिएचडी, इएमफिल, स्नातकोत्तर (१ र २ वर्षे), पिजिडी, ब्रिज कोर्ष र स्नातक ( ४ वर्षे) जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्न् । यसका अतिरिक्त भर्खरै युनेस्को चेयर अन्तर्गत (इसिइडी) लगायत अन्य विषयमा पोस्टडक्टरल कार्यक्रमको घोषणा पनि गरिसिकिएको छ । 

कुसोडमा हाम्रा अनुसन्धानहरूमा प्रारम्भिक बाल्यकालमा विद्यालयीकरणको प्रभावले स्वाभाविक प्राकृतिक खेल, जिज्ञासा र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिनुको सट्टा सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाल्ने अभ्यासलाई परेको असर के कस्तो छ भन्ने छ । अनुसन्धानको अर्काे पक्ष अत्यधिक गृहकार्य र प्राप्ताङ्कमा आधारित नतिजामुखी दबाबले बालबालिकामा कलिलै उमेरमा मानसिक तनाव, चिन्ता र असफलताको भय कसरी पैदा गराउँछ भन्ने हो । नेपाली लोककथा, स्थानीय खेल र मातृभाषा ओझेलमा पर्दा भाषिक तथा सांस्कृतिक पहिचानको क्षय भइरहेको कुरालाई अनुसन्धानको लागि विषय बनाइएको छ । 

नेपाल–केन्द्रित इसिइडीका लागि तीन आधारभूत रणनीति

विद्यालयीकरणलाई परास्त गर्न र नेपाल केन्द्रित प्रारम्भिक बाल विकास तथा  प्रारम्भिक बाल शिक्षा निर्माण गर्न निम्न तीनवटा अन्तरसम्बन्धित रणनीतिहरू आवश्यक पर्दछन्ः

क. खेल–आधारित, बाल–नेतृत्व र स्थानीय सन्दर्भमा आधारित सिकाइ

इसिइडीका लगि तयार पाठ्यपुस्तकको ठाउँमा कथा, गीत, स्थानीय खेल, बालुवा–पानीको खेल, र प्रकृति–अन्वेषणले भरिएको हुनुपर्छ । बालबालिकाले आफ्ना जिज्ञासाबाट सिक्न पाउनुपर्छ । शिक्षकको भूमिका निर्देशक होइन, सहजीकरणकर्ताको हुनुपर्छ ।  डिएपीले बालबालिकाको उमेर, विकासस्तर र सांस्कृतिक पृष्ठभूमिलाई सिकाइको केन्द्रमा राख्छ । यसका लागि शिक्षकहरूलाई मात्र होइन, अभिभावक र समुदायलाई समेत ‘खेल नै सिकाइ हो’ भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ ।

ख. स्थानीय ज्ञान र सांस्कृतिक सन्दर्भलाई पाठ्यक्रमको केन्द्रमा राख्ने

नेपाली समाजको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय यथार्थलाई इसिइडी पाठ्यक्रममा समेट्नुपर्छ । स्थानीय लोककथा, मौलिक खेल, चाडपर्व, र सामुदायिक ज्ञान प्रणालीलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्दा बालबालिकाले आफ्नो पहिचानसँग जोडिएर सिक्न पाउँछन् । समुदायसँगको सहकार्यमा विकास गरिएको पाठ्यक्रमले यस दिशामा महत्वपूर्ण कोसेढुङ्गा प्रदान गरेको छ, तर यसलाई थप गहिरो बनाउँदै स्थानीयस्तरमा ‘नेपाली इसिइडी  मोडेल’ विकास गर्नुपर्छ । हाम्रो अनुसन्धान कार्यक्रमले पनि इसिइडी पाठ्यक्रम विकास र कार्यान्वयनजस्ता विषयहरूलाई प्राथमिकता दिएको  छ । 

ग. नीतिगत सुधार, नियमन र अभिभावक सचेतना

प्रारम्भिक बाल विकासको तथा प्रारम्भिक बाल शिक्षाको उद्देश्य, खेलको महत्व, र औपचारिक पढाइको जोखिमबारे अभिभावक र समुदायमा व्यापक अभियान चलाउनुपर्छ । नीति निर्माताहरूले प्रारम्भिक बाल विकास तथा प्रारम्भिक बाल शिक्षालाई ‘प्राथमिक विद्यालयको तयारी’ होइन, ‘बालबालिकाको अधिकार’ का रूपमा हेर्नुपर्छ । 

अनुसन्धान, अभ्यास र नीतिबीचको सम्बन्ध स्थापना

नेपाल–केन्द्रित इसिइडी निर्माणका लागि अनुसन्धानलाई शैक्षिक कार्यक्रमको सहायक गतिविधिका रूपमा मात्र नभई ज्ञान निर्माण र अभ्यास रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्छ । यसका लागि विभिन्न भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक परिवेशमा बालबालिकाले कसरी सिक्छन्, खेल्छन्न् । सम्बन्ध निर्माण गर्छन् र आफ्नो संसारलाई अर्थ दिन्छन् भन्ने विषयमा निरन्तर अनुसन्धान आवश्यक छ । बालबालिका, अभिभावक, सहजकर्ता र समुदायका अनुभवलाई अनुसन्धानको केन्द्रमा राख्दै स्थानीय अभ्यासहरूको दस्तावेजीकरण, विश्लेषण र पुनःव्याख्या गर्नुपर्छ । अनुसन्धानबाट प्राप्त ज्ञानलाई पाठ्यक्रम विकास, शिक्षक तथा सहजकर्ता तयारी, अभिभावक शिक्षा र नीतिगत सुधारमा जोड्नुपर्छ । 

बाल्यकाललाई फिर्ता दिने नैतिक दायित्व

्काठमाडौँ विश्वविद्यालयले इसिइडीमा स्नातकदेखि पोस्टडक्टरल कार्यक्रमहरू स्थापना गरेर, समुदायसँगको सहकार्यमा सन्दर्भमुखी पाठ्यक्रम विकास गरेर र विभिन्न मञ्चहरूबाट विद्यालयीकरणको आलोचनात्मक बहसलाई अगाडि बढाएर एउटा वैकल्पिक बाटो देखाउने प्रयत्न गरेको छ । यस दिशामा निजी, सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्दै यो परिवर्तनको प्रकृयालाई व्यवहारमा उतार्ने इच्छाशक्ति, संस्थागत प्रतिबद्धता र सामुदायिक सहभागिताको आवश्यकता छ  ।

(लेखकत्रय काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश,  दुवै पक्षलाई बोलाइयो छलफलमा

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश, दुवै पक्षलाई बोलाइयो छलफलमा

प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा-टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

सुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री...
रास्वपाले चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गर्‍यो

रास्वपाले चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात पूर्वाधार, विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल नवप्रवर्तनलगायत पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गरेको छ।