काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात पूर्वाधार, विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल नवप्रवर्तनलगायत पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुई र रास्वपा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा उक्त प्रस्ताव राखिएको हो।
भेटमा नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई विकास र साझा समृद्धिमा केन्द्रित व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डलका प्रस्तावलाई सकारात्मक रूपमा लिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले पहिलो प्राथमिकतामा सुरक्षित र भरपर्दो सीमापार यातायात पूर्वाधारलाई राखेको छ। पछिल्ला विपद्ले नेपाल–चीन सीमामा बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको प्रतिनिधिमण्डलको भनाइ थियो। हिमालपारिको व्यापार र आवागमनलाई सुरक्षित तथा भरपर्दो बनाउन सहकार्य गर्नुपर्ने प्रस्ताव नेपाली पक्षले राखेको छ।
दोस्रो प्राथमिकतामा पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उत्थानशीलतालाई राखिएको छ। नेपाल र सिचुवानको पर्वतीय वातावरण तथा विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच सहकार्य गर्न सकिने प्रस्ताव गरिएको छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक र विपद् पूर्वतयारीमा ज्ञान तथा सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ।
स्वच्छ ऊर्जा र हरित उद्योगलाई तेस्रो प्राथमिकताका रूपमा अघि सारिएको छ। नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्न सकिने रास्वपाको प्रस्ताव छ। जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावनासमेत बैठकमा उठाइएको छ।
चौथो प्राथमिकतामा हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धनलाई राखिएको छ। चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवाका लागि थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ। त्यस्तै, नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाको चीनतर्फ निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचमा सहकार्य गर्न प्रस्ताव गरिएको छ।
युवा तथा डिजिटल नवप्रवर्तन पाँचौँ प्राथमिकता हो। नेपाली युवाको प्रविधिसम्बन्धी रुचि र सिचुवानको अनुसन्धान क्षमतालाई जोडेर कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्न सकिने प्रस्ताव रास्वपाले राखेको छ।

चीनसँगको सम्बन्धप्रति प्रतिबद्धता
भेटमा सिचुवानका प्रान्तीय सचिव वाङले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराएका थिए। उनले नेपाल र चीन शताब्दीयौँदेखि मैत्री सम्बन्ध कायम राखेका असल छिमेकी र साझेदार रहेको बताएका थिए।
गत भदौमा रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीले दुवै देशमा जनधनको क्षति गरेको स्मरण गर्दै वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको उल्लेख गरेका थिए। दुवै देशले मिलेर कठिनाइ सामना गरेको घटनालाई उनले परम्परागत मित्रताको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।
महामन्त्री आचार्यले भोटेकोशी विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेका थिए। विपद्पछि चीनले आफ्नै भूमिमा उद्धार तथा राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको भन्दै उनले त्यसप्रति आभार व्यक्त गरेका थिए।
प्रतिनिधिमण्डलले चीनसँगको सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गरेको थियो। एक–चीन सिद्धान्त नेपालको दशकौँदेखिको स्थिर अडान भएको स्पष्ट पार्दै रास्वपा र सरकारले त्यसलाई निरन्तरता दिने तथा चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने धारणा राखेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधिमण्डलले भ्रमणअघि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेको जानकारी दिँदै दल र सरकार दुवै चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहेको बताएको थियो।
राजनीतिक प्रणाली फरक भए पनि समृद्धिको लक्ष्य साझा
महामन्त्री आचार्यले नेपाल र चीनका राजनीतिक दलका प्रणाली, दर्शन र कार्यशैली फरक भए पनि नागरिकको विश्वासको कदर गर्दै उनीहरूको समग्र हित र समृद्धिका लागि काम गर्ने विषय साझा रहेको बताएका थिए।
रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक तथा शासन सञ्चालनको अनुभवलाई खुला र जिज्ञासु दृष्टिले अध्ययन तथा अवलोकन गर्न चाहेको पनि प्रतिनिधिमण्डलले जनाएको थियो।
विगतमा अस्थिर गठबन्धनका कारण नागरिकको हित र समृद्धिका उद्देश्यले अघि सारिएका कतिपय आयोजना कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले रास्वपाले स्थिर सरकार र स्पष्ट राजनीतिक इच्छाशक्तिमार्फत विकास आयोजनालाई गति दिने धारणा राखेको थियो।
सिचुवानका सचिव वाङले नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य क्रमशः अघि बढिरहेको उल्लेख गर्दै दुवै देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने प्रतिबद्धता जनाएका थिए। उनले स्थानीय तहमा पार्टीगत तथा सरकारी सम्बन्ध थप बलियो बनाउने र नयाँ क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा प्रतिनिधिमण्डलको भ्रमणलाई लिएको बताएका थिए।
महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिएका थिए। सिचुवानलाई नेपालको विश्वासिलो र दीगो साझेदारका रूपमा उल्लेख गर्दै उनले पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए।