काठमाडौं । नेकपा एमालेले आफू नेतृत्वमा रहेका र सरकारमा सहभागी भएका अवधिमा देशमा आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरेको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले बुधबार एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा पेस गरेको ‘देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ शीर्षकको दस्तावेजमा २०४७ सालदेखि २०८२ फागुन २४ सम्मका विभिन्न उपलब्धि समेटिएका छन्। दस्तावेजमा एमालेले नेतृत्व गरेको वा सहभागिता जनाएको सरकारका कामको मात्रै जिम्मेवारी लिने उल्लेख छ। २०४७ पछिका समग्र ३५ वर्षको जिम्मेवारी भने नलिने पार्टीको भनाइ छ।
एमालेका अनुसार उक्त अवधिमा पार्टीले नेतृत्व गरेको अल्पमतको सरकार करिब नौ महिना, बहुमतको सरकार करिब तीन वर्ष र अन्य दल सहभागी सरकारको नेतृत्व करिब तीन वर्ष छ महिना गरेको छ। त्यस्तै, अन्य दलको नेतृत्वमा बनेका सरकारमा एमाले करिब पाँच वर्ष सहभागी भएको दस्तावेजमा उल्लेख छ।
पार्टीले आफ्नो नेतृत्वमा रहेका र सरकारमा सहभागी भएका अवधिमा भएका उपलब्धि राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था र शक्ति सन्तुलनसँग पनि जोडिएको बताएको छ। सक्षम र इमानदार नेतृत्व तथा अनुकूल नीतिगत वातावरण हुँदा मात्रै विकासले गति लिने एमालेको निष्कर्ष छ।
गरिबी घटेको र प्रतिव्यक्ति आय बढेको दाबी
एमालेले सार्वजनिक गरेको दस्तावेजमा आर्थिक तथा सामाजिक सूचकांकमा सुधार आएको दाबी गरिएको छ। दस्तावेजअनुसार २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको छ। ग्रामीण क्षेत्रमा गरिबी ४३ प्रतिशतबाट २५ प्रतिशत र सहरी क्षेत्रमा २२ प्रतिशतबाट १८ प्रतिशतमा झरेको पार्टीको दाबी छ।
त्यस्तै, २०५२ सालमा ०.४३७ रहेको मानव विकास सूचकांक २०८० मा ०.६०२ पुगेको उल्लेख छ। २०४७ सालमा दुई सय अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २०८२ मा एक हजार पाँच सय ३५ डलर पुगेको दस्तावेजमा जनाइएको छ।
एमालेले कुल गार्हस्थ्य उत्पादन २०४७ सालको एक खर्ब २० अर्ब रुपैयाँबाट बढेर अहिले ६६ खर्ब पुगेको, वार्षिक बजेटको आकार ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब पुगेको र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको दाबी गरेको छ।
यस अवधिमा ७.५ प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल भएको र नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघबाट सिफारिस भएको पनि दस्तावेजमा उल्लेख छ।
सडक सञ्जाल र विद्युत् उत्पादनमा प्रगति
पूर्वाधार विकासलाई एमालेले आफ्नो सरकारका मुख्य उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गरेको छ। दस्तावेजअनुसार २०४७ सालसम्म देशभर आठ हजार तीन सय २८ किलोमिटर सडक रहेकोमा २०८१ सम्म एक लाख १० हजार किलोमिटर पुगेको छ। त्यसैगरी, एक आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुने अवस्थाबाट दैनिक पाँच किलोमिटर सडक कालोपत्रे गर्ने अवस्थामा पुगेको पार्टीको दाबी छ।
पृथ्वी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण राजमार्गको निर्माण तथा विस्तारलाई पनि एमालेले उपलब्धिका रूपमा उल्लेख गरेको छ। देशभर तीन हजारभन्दा बढी पुल सञ्चालनमा रहेको र पछिल्लो दशकमा मात्रै एक हजार पाँच सयभन्दा बढी मोटरेबल पुल निर्माण भएको दस्तावेजमा जनाइएको छ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, जयनगर–जनकपुर रेल सेवा सञ्चालन, सुरुङमार्ग निर्माण तथा विभिन्न स्थानमा नयाँ सहर र स्मार्ट सिटी निर्माणको कामलाई पनि पार्टीले आफ्नो पहलका उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
ऊर्जा क्षेत्रमा २०४७ सालमा दुई सय २७ मेगावाट रहेको विद्युत् उत्पादन क्षमता अहिले चार हजार एक सय २० मेगावाट पुगेको एमालेको दाबी छ। आठ हजार दुई सय ९२ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन रहेको र ९९ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको दस्तावेजमा उल्लेख छ।
एमालेले लोडसेडिङ अन्त्य, भारततर्फ विद्युत् निर्यात, प्रसारण लाइन विस्तार र सिँचाइ आयोजनाको निर्माणलाई पनि उपलब्धिका रूपमा समेटेको छ।
सामाजिक सुरक्षा भत्ता चार हजार पुगेको दाबी
सामाजिक सुरक्षाको विस्तारलाई एमालेले आफ्नो अर्को महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ। दस्तावेजअनुसार २०५२ सालमा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले चार हजार रुपैयाँ पुगेको छ। यसबाट लाभान्वित हुने नागरिकको संख्या ३६ लाख पुगेको पार्टीको दाबी छ।
ज्येष्ठ नागरिकका साथै एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, दलित, द्वन्द्वपीडित, सीमान्तकृत र अल्पसंख्यक समुदायलाई समेत सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याइएको दस्तावेजमा उल्लेख छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २० हजार रोजगारदाता आबद्ध रहेको, योगदानकर्ता श्रमिकको संख्या ३१ लाख पुगेको र कोषमा एक खर्ब २४ अर्ब रुपैयाँ जम्मा भएको पनि एमालेले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वर्षमा न्यूनतम एक सय दिन रोजगारीको प्रत्याभूति, बेरोजगार भत्ता, श्रमिकको न्यूनतम ज्याला, कार्यस्थल सुरक्षा र दुर्घटना बिमाको व्यवस्था गरिएको पार्टीको दाबी छ।
शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार
शिक्षातर्फ २०४८ सालमा ३९.६ प्रतिशत रहेको साक्षरता दर २०७८ मा ७६.२ प्रतिशत पुगेको एमालेले जनाएको छ। आधारभूत तहको विद्यार्थी भर्नादर ९७.८ प्रतिशत पुगेको, विद्यालय शिक्षामा विद्यार्थी संख्या ४६ लाखबाट ८५ लाख पुगेको र उच्च शिक्षामा विद्यार्थी संख्या एक लाखबाट बढेर छ लाख पुगेको दस्तावेजमा उल्लेख छ।
विद्यालयमा दिवा खाजा, छात्रालाई निःशुल्क स्यानिटरी प्याड, सामुदायिक विद्यालयको पूर्वाधार सुधार तथा प्राविधिक शिक्षाको विस्तारलाई पनि पार्टीले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
स्वास्थ्यतर्फ नेपालीको औसत आयु २०४७ सालको ५५ वर्षबाट बढेर २०८० मा ७२ वर्ष पुगेको दाबी गरिएको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा एक सय ३९ बाट घटेर २५ पुगेको र मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा आठ सय ५० बाट घटेर एक सय ५१ मा झरेको दस्तावेजमा उल्लेख छ।
त्यस्तै, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, असाध्य रोगको निःशुल्क उपचार र स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्यक्रमलाई एमालेले आफ्नो उपलब्धिका रूपमा समेटेको छ।
कृषि, पर्यटन र उद्योगमा जोड
कृषि क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र कृषि उपजको बजारीकरणलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ। दस्तावेजअनुसार तीन दशकमा धान उत्पादन ३३ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको छ। दूध, कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको पनि एमालेको दाबी छ।
पर्यटनतर्फ वार्षिक पर्यटक आगमन साढे दुई लाखबाट बढेर १२ लाख पुगेको, पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गरिएको र होटल, रिसोर्ट, केबलकार तथा अन्य पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी बढेको दस्तावेजमा उल्लेख छ।
उद्योग तथा व्यापारतर्फ दैलेखको प्राकृतिक ग्यास, धौवादीको फलाम खानी र विभिन्न स्थानमा बहुमूल्य धातुको अध्ययनलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, एकीकृत भन्सार जाँच चौकी, चोभार सुक्खा बन्दरगाह र चीनसँगको व्यापार तथा पारवहन सम्झौतालाई पनि एमालेले आफ्नो पहलमा अघि बढेका कामका रूपमा उल्लेख गरेको छ।
संविधान, संघीयता र राष्ट्रिय हित
एमालेले संविधान निर्माण, संघीयता कार्यान्वयन र शान्ति प्रक्रियालाई पनि आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। २०७२ असोज ३ मा जारी संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको र जनप्रतिनिधिमार्फत आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने व्यवस्था गरेको दस्तावेजमा उल्लेख छ।
संविधानसँग बाझिएका दुई सयभन्दा बढी कानुन संशोधन, प्रदेश तथा स्थानीय तहमा अधिकार र स्रोतसाधन हस्तान्तरण, प्रदेश सरकारका संरचना निर्माण र अन्तरसरकारी समन्वयका लागि कानुनी व्यवस्था गरिएको एमालेको दाबी छ।
त्यस्तै, सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने पहल, शान्ति प्रक्रिया टुंग्याउने प्रयास तथा नागरिकता समस्याको समाधानका लागि प्रक्रिया अघि बढाइएको दस्तावेजमा उल्लेख छ।
राष्ट्रिय हित र परराष्ट्र सम्बन्धतर्फ भारतसँगको १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव, चीनसँग व्यापार तथा पारवहन सम्झौता, सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट स्थापना र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नक्सा प्रकाशनलाई एमालेले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा भने एमालेले शून्य सहनशीलता, पारदर्शिता, वित्तीय अनुशासन र डिजिटल शासन प्रणाली विकास गर्ने नीतिगत प्रयास भएको दाबी गरेको छ।
दस्तावेजमा उल्लेख गरिएका यी उपलब्धि एमालेले आफ्नो नेतृत्व र सहभागिताका सरकारसँग जोडेर प्रस्तुत गरेका दाबी हुन्। विभिन्न आयोजना, नीति र कार्यक्रम फरक–फरक सरकार तथा राजनीतिक नेतृत्वका पालामा अघि बढेका भए पनि पार्टीले तिनलाई आफ्नो पहलकदमी र योगदानका रूपमा समेटेको छ।