काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच शक्ति सङ्घर्ष हुने बताएका छन्।
एमालेको राष्ट्रिय भेलामा दोस्रो दिनको सत्रमा आफ्नो धारणा राख्दै थापाले आगामी निर्वाचन सामान्य नहुने दाबी गरे। उनले गत फागुनमा सम्पन्न निर्वाचनको परिणाम दोहोरिन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै अहिलेको मुख्य राजनीतिक प्रश्न रहेको बताए।
उनले गत भदौमा केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि असंवैधानिक रहेको बताए। त्यसैको परिणामस्वरूप फागुनमा सम्पन्न निर्वाचन असामान्य र अस्वाभाविक भएको उनको भनाइ थियो।
'परिणामतः लोकतन्त्रवादी शक्तिहरूको अकल्पनीय पराजय भयो। पपुलिस्टहरू जादुमय ढङ्गबाट विजयी भए। आज सरकार र संसद्मा उनीहरूको एकछत्र राज छ,' थापाले भने।
उनले आगामी वर्ष चुनावी वर्ष हुने र संवैधानिक व्यवस्थाअनुसार वैशाखमा स्थानीय तह, मंसिरमा प्रदेशसभा, माघमा राष्ट्रिय सभा र फागुनमा राष्ट्रपतिको निर्वाचन हुने बताए।
थापाले पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न आगामी निर्वाचनमा दुई तिहाइ स्थानमा विजय हासिल गर्नुपर्ने रणनीति बनाएको आरोप लगाए। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा दुई तिहाइ संख्या भए मात्र आफूअनुकूल संविधान संशोधन गर्न सकिने भएकाले आगामी निर्वाचनलाई उनीहरूले त्यसैअनुसार उपयोग गर्न खोज्ने उनको दाबी छ।
प्रतिनिधिसभामा अहिले पपुलिस्टहरूको लगभग दुई तिहाइ रहेको उल्लेख गर्दै उनले एक–दुई जना यथास्थितिवादी सांसद खरिद गर्न उनीहरूलाई कठिन नहुने टिप्पणी गरे।
उनले राष्ट्रिय सभाको गठन स्थानीय तह र प्रदेशसभाको निर्वाचक मण्डलबाट हुने तथा संविधानको प्रमाणीकरण राष्ट्रपतिबाट हुने भएकाले आगामी निर्वाचनमा यी सबै निकायको शक्ति सन्तुलन महत्त्वपूर्ण हुने बताए।
'यस अर्थमा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्,' उनले भने।
एमालेको वर्चस्व जोगाउन एकताको प्रस्ताव
थापाले अहिले स्थानीय तह, प्रदेशसभा, राष्ट्रिय सभा र राष्ट्रपति पदमा पपुलिस्टहरूको उपस्थिति शून्य रहेको दाबी गरे। ती निकायमा देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरूको वर्चस्व रहेको भन्दै त्यसलाई कायम राख्न एमालेले आफ्ना कमजोरी सच्याउनुपर्ने बताए।
उनले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्नुपर्ने र प्रतिद्वन्द्वीका रणनीति तथा षड्यन्त्रप्रति सचेत रहनुपर्नेमा जोड दिए।
चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले भने, 'आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ।'
उनले विगतको निर्वाचनमा एमालेले प्रमुख प्रतिद्वन्द्वी पहिचान गर्न नसकेको, आफ्ना कमजोरी बुझ्न नसकेको र मुख्य प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्न नसकेको स्वीकार गरे।
त्यस्तै, पार्टीभित्र आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नु पनि पराजयका कारण रहेको उनको विश्लेषण छ।
'जब हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध सहकार्य गरेका छौँ, तब हामीले जितेका छौँ। जब हामीले जनतासँग प्रत्यक्ष मितेरी गाँसेका छौँ, तब हामी विजयी बनेका छौँ। जब हामी नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी हावी भएका छौँ,' उनले भने, 'जब हामी नेतृत्वका विरुद्ध उभिएका छौँ, तब हामी दुवै हारेका छौँ।'
एमालेले चुनावी पराजयको आत्मसमीक्षा गरेको दाबी
थापाले केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको बताए। अब ती निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
उनले पछिल्लो समय भूराजनीतिक शक्तिबीचको संघर्ष तीव्र बन्दै गएको, पपुलिस्टहरूको आन्तरिक सत्ता संघर्ष चर्किएको, लोकतान्त्रिक शक्तिबीच सहकार्य बढेको र जनतामा एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको दाबी गरे।
जनतामा आक्रोश चुलिँदै गएको उल्लेख गर्दै उनले यी घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत गरिरहेको बताए।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुनःस्थापित गर्न पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने, आगामी निर्वाचनको तयारी गर्ने, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवाद बढाउने निर्णय गरेको पनि उनले जानकारी दिए।
संसदीय दलको मुख्य जिम्मेवारीमा रहेकाले आफूले आगामी निर्वाचनको तयारीबारे धारणा राखेको बताउँदै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प नभएको निष्कर्ष सुनाए।