काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा भएको पराजयले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताएकी छन्। उनले निर्वाचनको परिणामबाट निराश भएर निष्क्रिय बस्नुभन्दा कमजोरी पहिचान गरी नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बुधबार आफ्नो धारणा राख्दै भण्डारीले पार्टीको पुनर्जागरणका लागि संगठनात्मक सुदृढीकरणसँगै नेता तथा कार्यकर्ताको जीवनशैली र जनतासँगको सम्बन्धमा सुधार आवश्यक रहेको बताइन्।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन। तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘अहिले हामीले भोगेको धक्का अस्थायी हो। सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ अघि बढ्ने हाम्रो पार्टीको भविष्य जनताको विश्वास र समर्थनसँग जोडिएको छ।’
उनले गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा एमालेले व्यहोरेको पराजयबाट निराश हुनुपर्ने कारण नरहेको बताउँदै विगतका संघर्ष र सफलताबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने धारणा राखिन्।
भण्डारीले पार्टीको सदस्यका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रा राष्ट्रपतिको सर्वोच्च संवैधानिक पदसम्म पुगेको स्मरण गराउँदै राष्ट्रपति पदको जिम्मेवारी पूरा गरेपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको बताइन्।
उनले आफ्नो पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउने उद्देश्यले भएको स्पष्ट पारिन्।
‘अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु। किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनिन्, ‘पार्टी राजनीतिमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृ पार्टीसँग जोडिएर यसको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउने उद्देश्यले लिएको हुँ।’
ओली नेतृत्वको सरकार र संसद् विघटनबारे मौन, वर्तमान सरकारको आलोचना
भण्डारीले वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासमाथि प्रश्न उठाएको बताइन्।
उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परेको र मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको बताइन्।
सरकारप्रति जनताका गुनासा बढिरहेको, महँगीले न्यून आय भएका नागरिकको जीवन कष्टकर बनेको, रोजगारीका अवसर खुम्चिएको र व्यापार घाटा बढिरहेको उनको भनाइ थियो।
‘समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ,’ उनले भनिन्।
उनले राजनीतिक दलहरूले सानातिना मतभेद थाती राखेर मुलुकको बृहत्तर हितका लागि संवाद, सहकार्य र पहलकदमी लिनुपर्ने बताइन्।
संविधान संशोधनको विषयमा पनि उनले राष्ट्रिय सहमति आवश्यक रहेको बताइन्। संविधान समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि त्यसका आधारभूत दृष्टिकोण, प्रस्तावना र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी संशोधन गर्न नहुने उनको भनाइ छ।
राजनीतिक प्रतिशोधका नाममा पक्राउ र प्रेस स्वतन्त्रता संकुचन गर्न नहुने
भण्डारीले पछिल्लो समय राजनीतिक दलका नेता, सार्वजनिक जीवनमा सक्रिय व्यक्ति र सञ्चारमाध्यमप्रति सरकारले देखाएका गतिविधिले चिन्ता बढाएको बताइन्।
कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने र सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारविपरीत हुने उनको भनाइ थियो।
‘कानुन उल्लङ्घन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्छ, तर कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन,’ उनले भनिन्।
उनले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै अहिलेको आवश्यकता प्रतिशोध र निषेध नभई संवाद, सहकार्य र राष्ट्रिय सहमति भएको धारणा राखिन्।
पार्टीका कमिटी मानार्थ होइन, कार्यार्थ हुन्
भण्डारीले एमालेको संगठनात्मक संरचना र कार्यशैलीमाथि पनि प्रश्न उठाइन्। आवश्यकता र कामका आधारमा भन्दा मागका आधारमा ठूला र भद्दा कमिटी बनाउने प्रवृत्ति बढेको उनको टिप्पणी थियो।
‘पार्टीका विभिन्न तहका कमिटीहरू मानार्थ होइनन्, कार्यार्थ हुन्,’ उनले भनिन्, ‘कमिटीमा निर्वाचित वा मनोनीत हुनु भनेको निश्चित जिम्मेवारी प्राप्त गर्नु हो।’
बैठक बस्ने, निर्णय गर्ने र प्रतिवेदन तयार गर्ने औपचारिकतामा मात्र संगठन सीमित हुन नहुने उनको भनाइ थियो। केन्द्रीय कमिटीदेखि वडा तथा टोल तहसम्मका संरचना क्रियाशील र परिणाममुखी हुनुपर्ने उनले बताइन्।
उनले पार्टीभित्र आलोचना र आत्मालोचनाको पद्धति प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन्।
‘पार्टी काम गर्ने सिलसिलामा कमीकमजोरी हुन सक्छन्, त्यसका लागि आलोचना र आत्मालोचनाको पद्धतिलाई अपनाउनै पर्दछ,’ उनले भनिन्, ‘पार्टीमा कसैको स्वस्थ आलोचना समाप्त पार्नका लागि गरिएको हुँदैन र आत्मालोचना हीनताबोधको पर्याय पनि होइन।’
नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सहिष्णुतायुक्त, समन्वयात्मक र सहयोगी हुनुपर्ने भन्दै उनले मदन भण्डारी र जीवराज आश्रितको जीवनबाट सादगी, निष्ठा, अनुशासन, अध्ययनशीलता र जनतासँगको आत्मीय सम्बन्धको प्रेरणा लिन आग्रह गरिन्।
जनप्रतिनिधिले सुविधाभन्दा जनताको सेवा गर्नुपर्छ
पूर्वराष्ट्रपति भण्डारीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले व्यक्तिगत प्रतिष्ठा र सुविधाभन्दा जनताको सेवामा ध्यान दिनुपर्ने बताइन्।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, विकास निर्माण र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
जनप्रतिनिधिहरूले पारदर्शिता, इमानदारी, मितव्ययिता र जवाफदेहितालाई कार्यशैलीको आधार बनाउनुपर्ने तथा पार्टीले उनीहरूको कामको नियमित समीक्षा गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताइन्।
त्यस्तै, एमालेका जनसंगठनहरूलाई पनि थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको धारणा थियो। युवा, विद्यार्थी, महिला, मजदुर, किसान तथा पेसागत संगठनले सम्बन्धित समुदायका समस्या र आवाज पार्टीसम्म पुर्याउनुपर्ने उनले बताइन्।
विशेषगरी युवामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायनको अवस्था सम्बोधन गर्न जनसंगठनहरूले अनुसन्धान, उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
मदन भण्डारीको भनाइ स्मरण गर्दै चुनावी तयारीमा जुट्न आग्रह
भण्डारीले आगामी स्थानीय तहलगायत निर्वाचनलाई ध्यानमा राखेर पार्टीका नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्याउनुपर्ने बताइन्।
उनले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै भनिन्, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन।’
उनका अनुसार पार्टीले विगतका उपलब्धिप्रति गर्व गर्दै कमजोरीबाट पाठ सिक्नुपर्छ र भविष्यप्रति आत्मविश्वास जगाउनुपर्छ। जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको उनको भनाइ थियो।
उनले जनताको बहुदलीय जनवादलाई विगतको गौरवका रूपमा मात्र नभई वर्तमानका चुनौती समाधान गर्ने र भविष्य निर्माण गर्ने जीवन्त मार्गदर्शक सिद्धान्तका रूपमा बुझ्नुपर्ने बताइन्।
कृषि, पर्यटन, जलविद्युत्, उद्योग, प्रविधि, नवप्रवर्तन र उत्पादनका क्षेत्रमा नयाँ सम्भावना खोज्दै देशभित्रै रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्ने उनले बताइन्।
जलवायु परिवर्तनका कारण उत्पन्न विपत्तिको चर्चा गर्दै उनले रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन नागरिकको पुनःस्थापना र जीविकोपार्जनको व्यवस्था राज्यको प्राथमिक दायित्व हुनुपर्ने बताइन्।
अन्त्यमा उनले एमालेको संगठनात्मक सुदृढीकरण, अनुशासन र जनतासँगको आत्मीय सम्बन्धलाई प्राथमिकता दिँदै पार्टीलाई भरोसायोग्य र निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्न सबैलाई आह्वान गरिन्।
‘आउनुहोस्, हामी सबै मिलेर बदलिएको समयमा सामाजिक–आर्थिक रूपान्तरणको जबजजस्तो सही सिद्धान्त अंगीकार गरेको नेकपा (एमाले)लाई संगठनमा सुदृढ, व्यवहारमा अनुशासित र जनताको सुख–दुःखमा साथ दिने भरोसायोग्य निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्ने फेरि एकपटक संकल्प गरौँ,’ उनले भनिन्।