नेभिगेशन
समाज

एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज समपन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।
     
दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ ।
     
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ आयोजित भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो ।
     
भेलाले वर्तमान सरकारका कार्य, लोकतन्त्र र संविधानको अवस्था, राष्ट्रिय स्वाधीनता, जनजीविका, बाढीपीडितको पुनःस्थापना, सडक सुरक्षा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पार्टीको आन्तरिक जीवनका विषयमा धारणा सार्वजनिक गरेको छ ।
     
भेलाले २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन पनि भेलाले माग गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
    
पारित प्रस्तावमा संविधान, सङ्घीयता र संवैधानिक संस्थाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रदेश खारेजी, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राज्यका संस्थाहरूलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ ।
     
जनजीविकाका सवालमा महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासीको उचित व्यवस्थापन तथा व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ ।
    
राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धका विषयमा भेलाले छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने उल्लेख गरेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भमा सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र लामो समयदेखि रोकिएका परियोजनाका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरिएको छ ।
     
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भेलाले बाढीपीडितको तत्काल पुनःस्थापना, पुनर्निर्माण र राहत वितरण प्रभावकारी बनाउन माग गरेको छ । बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्या प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीबाट क्षतिग्रस्त पुल तथा सडकको मर्मतसम्भार गरी यातायात सम्पर्कविच्छेद भएका बस्तीलाई जोड्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ ।
     
जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपत्तिलाई जलवायु न्यायको विषयका रूपमा उठाउँदै अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी कूटनीतिक भूमिका आवश्यक रहेको प्रस्तावमा उल्लेख छ । त्यस्तै, बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण र चालकको सीप तथा अनुशासन कायम गर्न माग गरिएको छ ।
     
भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त, लोकतन्त्र र संविधान पक्षधर राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग संवाद, सहकार्य र जनदबाब सिर्जना गर्न आह्वान गरेको छ । प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
     
भेलाले पार्टीको आन्तरिक जीवनमा सुधार, शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । त्यसमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, विगतका कमजोरी सच्याउने र उच्च मनोबलका साथ जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
     
पारित प्रस्तावमा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने तथा पार्टी र आन्दोलनमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । पार्टीका नेता तथा कार्यकर्तामा देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन र भ्रष्टाचारप्रति निर्मम हुने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
     
त्यस्तै, जिम्मेवारीअनुसार जवाफदेही हुने, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने, गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने तथा अधिवेशन र बैठकमा स्वस्थ बहस र लोकतान्त्रिक विधिलाई सम्मान गर्ने सङ्कल्प गरिएको छ । आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीको निर्णयअनुसार उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ ।

Marvel
Extreme Energy

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापाले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’ विषयमा सम्बोधन गरेका थिए ।

त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीका विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेस प्रदेशमा सरकार गठनको समयसीमा सकिन एक दिन बाँकी, दलहरुबीच अझै जुटेन सहमति

मधेस प्रदेशमा सरकार गठनको समयसीमा सकिन एक दिन बाँकी, दलहरुबीच अझै जुटेन सहमति

कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने...
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध आरोपपत्र दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध आरोपपत्र दायर

आयोगले अनुसन्धान अधिकृत चौधरीले चौधरीले सेवामा रहँदा बढुवा तथा पदस्थापनको प्रयोजनका लागि भारतको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तह (आईए) को लब्धाङ्कपत्र, अस्थायी प्रमाण्पत्र...
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ...
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्राररम्भिक आकलन अनुसार पुनःनिर्माणमा रु आठ अर्ब ३७ करोडभन्दा बढी लाग्ने देखिएपनि विपद्पछिको आवश्यकता मुल्याङ्कनको थप विस्तृत र पूर्ण प्रतिवेदन आउन बाँकी रहेको...