म्याग्दी । निर्माण सुरु भएको १५ वर्षपछि म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन सुरु गरेको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार प्राकृतिक विपत्ति, ठेकेदारको समस्या, कोरोना महामारी, निर्माण सामग्री अभाव र अन्तरराष्ट्रिय परिस्थितिका कारण आयोजना सम्पन्न हुन लामो समय लागेको हो।
आयोजनाको परीक्षण असोज ६ गतेदेखि सुरु भएको थियो। तर असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा कटान गरी क्षति पुर्याएपछि परीक्षण अवधि लम्बिएको थियो।
सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजनाको क्षमता पुनर्संरचनापछि ४० मेगावाट पुर्याइएको थियो। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध निर्माण गरिएको छ। बाँधदेखि विद्युत्गृहसम्म ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। विद्युत्गृह रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा छ।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार आयोजनाका लागि तिल्केनीचौरदेखि बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग र राहुघाटमा बेलिब्रिज निर्माण गरिएको छ। विद्युत्गृह परिसरमा स्वीचयार्ड तथा दाना–कुश्मा २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्न आवश्यक टावर र प्रसारण संरचनासमेत निर्माण गरिएको छ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो।
दुईपटक ठेकेदार परिवर्तन, चारपटक म्याद थप
नेपाल विद्युत् प्राधिकरणले राहुघाट आयोजना निर्माणका लागि भारतीय कम्पनी आइभीआरसीएलसँग २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम भएको भए आयोजनाबाट २०७० सालमै विद्युत् उत्पादन सुरु हुने थियो।
तर कमजोर आर्थिक अवस्थाका कारण कम्पनीले काम अघि बढाउन नसकेपछि प्राधिकरणले २०७२ सालमा ठेक्का रद्द गर्यो। त्यतिबेला पाँच वर्षमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशत मात्रै थियो।
त्यसपछि प्राधिकरणले आयोजनाको क्षमता ३२ बाट ४० मेगावाट पुर्याएर कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गर्यो। यसका लागि २०७३ सालमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरियो।
भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा आयोजना निर्माण अघि बढाइएको थियो।
नयाँ प्रक्रियाबाट छनोट भएको भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ४५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भयो। कम्पनीले २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो अडिटबाट सुरुङ निर्माण सुरु गरेको थियो। २०८१ साउन १५ गते मुख्य सुरुङ जोडिएको थियो।
निर्माण अवधिमा चारपटक म्याद थपिएको थियो। पछिल्लो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो। इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको प्रवेशबिन्दुका रूपमा लिइएको बताए। उनका अनुसार राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्।
“ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेकामा उत्साही भएका छौँ”, उनले भने।