नेभिगेशन
समाज

साल्पा–सिलिचुङमा दुई करोड ६२ लाख खर्चेर मुन्दुमी संरचना निर्माण

खोटाङ । किरात समुदायको ऐतिहासिक तथा धार्मिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी मिथकलाई भौतिक रूपमा उतार्ने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएको छ। खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा पर्ने यस क्षेत्रमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम र चिण्डोसहितका प्रवेशद्वार निर्माण गरिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देश तथा विदेशमा रहेका किराती र गैरकिरातीबाट सङ्कलित करिब दुई करोड ८४ लाख रुपैयाँमध्ये दुई करोड ६२ लाख रुपैयाँ संरचना निर्माणमा खर्च भएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले जानकारी दिए।

Marvel
Extreme Energy

उनका अनुसार किरात मुन्दुम र रिसियामा साल्पा–सिलिचुङलाई सृष्टि तथा मुन्दुमको उत्पत्ति केन्द्र मानिएको छ। मुन्दुमी मिथकलाई भौतिक रूपमा देखाउन र भावी पुस्तालाई त्यसको अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्‍याउन संरचना निर्माण गरिएको हो।

साल्पा–सिलिचुङको संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले २०७९ सालमा अन्तर्राष्ट्रिय समिति गठन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो। त्यसपछि तीन चरणमा संरचना निर्माणको काम अघि बढाइएको हो।

पहिलो चरणमा २०८१ वैशाख ७ गते सुम्निमा, पारुहाङ र नाक्छुङका प्रतिमा स्थापना गरिएको थियो। दोस्रो चरणमा २०८२ वैशाख १ गते सुम्निमा र पारुहाङका प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम निर्माण गरियो। यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबु (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा र नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको समितिले जनाएको छ।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालित अभियानमा नेपालसहित बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान र इजरायललगायत देशमा रहेका नेपाली जोडिएका छन्। आर्थिक सङ्कलनका लागि साउदी अरबमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा समिति गठन गरिएको थियो।

समुद्री सतहदेखि तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा–सिलिचुङ क्षेत्रको समग्र विकासका लागि अध्ययन तथा अनुसन्धान समिति पनि गठन गरिएको थियो। करिब चार वर्षदेखि सञ्चालित अभियानको आर्थिक तथा भौतिक प्रगति मङ्सिर १८ गते काठमाडौँमा कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी रहेको अध्यक्ष मूलघरे कान्छाले बताए।

साल्पा–सिलिचुङ धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्वपूर्ण गन्तव्य हो। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र मेरा पिकलगायत हिमशृङ्खला, तराईका फाँट, नदी, वनजङ्गल तथा किराती बस्ती देख्न सकिन्छ। साल्पापोखरीबाट उत्तरपूर्वमा रहेको सिलिचुङ समुद्री सतहदेखि चार हजार १५५ मिटर उचाइमा छ।

सिलिचुङको फेदमा रहेको साल्पापोखरी किरात समुदायको आस्थाको केन्द्र मानिन्छ। समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा रहेको यस पोखरीमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ आन्तरिक तथा बाह्य पर्यटकले पूजाआजा गर्ने गरेका छन्। यहाँ वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा वर्षमा चार पटक मेला लाग्छ।

पोखरीमा पूजाआजा गर्दा बोली नफुटेकाहरू बोल्न सक्ने, सन्तान नहुनेले सन्तान प्राप्त गर्ने र धामीझाँक्रीले मुन्दुमी शक्ति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ। कचौरा आकारको पोखरीमा पानीको मुहान र निकास दुवै नभएको स्थानीय जनविश्वास छ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यमा परेको मुन्दुम पदमार्ग पनि साल्पा–सिलिचुङ क्षेत्रसम्म विस्तार गरिएको छ। पदमार्गले छोएका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पदमार्ग निर्माण गरिरहेका छन्।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रमा पछिल्लो समय होटल तथा होमस्टे विस्तार हुन थालेका छन्। यसले मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन्। होटल तथा होमस्टे स्थापना हुनुअघि यहाँ पुग्ने पर्यटक चौँरीगोठ र भेँडीचोकमा बास बस्ने गरेका थिए।

पदमार्ग आसपासका घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक र घोडचढीका दृश्यले पनि यस क्षेत्रको पर्यटकीय आकर्षण बढाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकामा मुद्रास्फीति बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेपछि ब्याजदर थप बढ्ने अपेक्षा गरिएको छ।
डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।