नेभिगेशन
सबै कुरा

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आएका छन् । 

होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए । 

Global Ime Bank

होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए । होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रुपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारु समुदायमा रहेको उनले जानकारी दिए । 

आइतबार साँझ मनिरामलगायत गाउँका थारु समुदायले देउथानमा होलिका जलाउने कार्य गरेका थिए । जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए । 

“हिजो बिहानै वरघरको घरमा जम्मा भयौँ”, उनले भने, “तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ । बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।”

नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए। उनका अनुसार देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारु समुदायमा छ । होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने जनविश्वास रहेको उनले बताए । 

“सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्”, स्थानीय गहनु चौधरीले बताए।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताए। आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रुपमा समान बाँड्ने चलन रहेको उनले जानकारी दिए ।   

घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताए । होलीका जलाएको ठाउँमा आज गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र उक्त ठाउँ सफा गरेका छन् । 

घर परिवारमा खरानीको टिका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए । “यतिबेला एक अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ”,उनले भने, “रमाइलोका लागि विगतको जस्तो हिलो छयाप्ने कामलाई निरुत्साहित गर्दै आएका छौँ ।” 

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसियाली साटासाट गर्ने प्रक्रिया भालिसम्म जारी रहने चौधरीले बताए। होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टिका लगाउने र आर्शीवाद लिने चलन पनि थारु समुदायमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।