नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन तस्करी प्रकरणमा सीआईबीको अधुरो अनुसन्धान, कसको के भुमिका ?

२६ भदौ, काठमाडौं । साउन २ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन सम्बन्धी अनुसन्धान सीआईबीले टुंग्याएको छ । राजश्व अनुसन्धान विभागबाट  साउन २१  गते अनुसन्धानको फाइल केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीमा गैरकानूनी तबरले पुर्याइएको थियो । 

सीआईबी स्रोतका अनुसार २१ नेपाली सहित ९ जना विदेशीलाई संगठित अपराध, राजश्व भन्सार छली तथा नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउने राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ । 

Global Ime Bank

सीआईबीले ६० किलो सुन तस्करीका मुख्य व्यवस्थापक बेल्जियम नागरिक दावा छिरिङलाई देखाएको छ भने चिनियाँ नागरिक एलेक्स भनिने याओ फुचेनलाई मुख्य कारोबारकर्ता भनेको छ । 

सुन तस्करीमा कसको के भुमिका ?

दावाले हङकङबाट तस्करी भएको सुन नेपाल भित्र्याउन विमानस्थल भन्सार, सुरक्षा निकायदेखि राजनीतिक सेटिङ मिलाउने गरेका थिए । साथै ब्रेक शु, पानी तान्ने मोटरमा आएको सुन पगाल्ने र अन्य आकार दिएर भरियासम्म पुर्याउने जिम्मा दावाको थियो । 

सीआईबीका अनुसार चिनियाँ याओ फुचेन भने हङकङ, दुबई र चीनबाट सुन आयात गर्ने मुख्य आयातकर्ता हुन् । उनले नै तस्करीको सुन विक्री गर्न नेपाल र भारतका खरिदकर्ताहरुसँग डिल गर्ने गरेको थिए ।  

दावा र एलेक्सको योजनामा तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन, चिनियाँहरू नेङकाई ली, सेग फा दिङ, अली भनिने वेन सुङ ली, जिक्वाङ लिन, तियान मी र वेन योङले काम गर्ने गरेको थिए ।  

छिरिङ थुप्तिन चिनियाँ तस्करका सहयोगी बनेर काम गरेका थिए भने ली नेङकाई र दिङ सेङ्फा, अली भनिने ली वेन सुङ र लिन जिक्वाङले विदेशबाट सुन आयात गर्न भुमिका खेल्थे । यस्तै ठमेलमा रेष्टुरेण्ट चलाउने चिनियाँ नागरिक मी तियान र योङ वेनले नेपालमा सुन बोकेर आएकालाई लुकाउने र प्रहरीको निशानामा पर्दा भगाउने जिम्मा थियो । 

तस्करीपछि उनिहरुले प्रशोधन गरेर आकार दिएको सुन दावा छिरिङका साझेदार किशोर बस्नेत र सुमन खरेलले नेपाल र भारतका व्यापारीसम्म पुर्याउने गरेका थिए । सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिव सरार्फले समेत तस्करीको सुन खरिद गर्ने तथा अन्य व्यापारीकहाँ पुर्याईदिने गरेको सीआईबी स्रोतका बताउँछ । 

सुन तस्करीका लागि उनीहरुले भन्सारका कर्मचारीदेखि एजेन्टहरुलाई समेत रकम दिएर सेटिङ मिलाएका थिए । सीआईबी स्रोतका अनुसार विमानस्थल भन्सारका तीन अधिकृत सन्तोष चन्द, पुष्पा जोशी र गणेश पौडेल, तीन जना नासु कमल परियार, वीरेन्द्र नेपाली र सरोज श्रेष्ठ तथा खरिदार कुमार ढकाल लगायतको सुन तस्करीमा कनेक्सन देखिएको छ । 

चिनियाँहरु र भन्सारका कर्मचारीसँग भन्सार एजेन्टहरुले विचौलियाको भुमिको निर्वाह गर्ने गरेका थिए । अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, रुक्मिना सुब्बा र सुदर्शन गौतमको समेत संलग्न देखिएको छ । 

सुन तस्करीकै लागि भनेर दावाको समुहले अन्य नेपालीहरुलाई प्रयोग गरी रेडी ट्रेडर्स समेत खोलेका थिए । सोही रेडी टे«डर्सले पछिल्लो ५ महिना मात्रै १३ पटक ब्रेक शु आयात गरेको थियो । रेडी टे«डर्सका गोदामबाट सुन निकालिएको ब्रेक शु भेटिएको थियो । 

अनुसन्धानका क्रममा सुन ल्याउने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल पक्राउ परेका छन् भने कम्पनी खोल्न र सुन तस्करीका लागि सहयोग गर्ने हर्कराज राई र नरेश तामाङ पनि पक्राउ परेका छन् । 

यस्तै हङकङबाट सुनसहितका सामान ल्याउने कार्गो कम्पनी ट्रान्स ग्लोबलका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्ट सहित  एलिस ट्रान्स ग्रुपका सञ्चालक राजनकुमार श्रेष्ठलाई मुद्दा चलाउनु पर्ने राय प्रतिवदेनमा समावेश गरिएकाे सीआईबी स्राेतकाे दाबी छ। 

सँगै साउन २ मा तस्करी भएको सुन बोक्न प्रयोग भएको ट्याक्सीका चालक अशोक लामा विरुद्ध पनि मुद्दा चलाउनु पर्ने देखिएकाे सीआईबीको दाबी छ । 

सुन प्रकरणमा राजनीतिक संलग्नता देखियो तर अनुसन्धान भएन

सीआईबी स्रोतका अनुसार सुन प्रकरणका मुख्य व्यवस्थापक दावाले माओवादीका नेताहरुसँग पारिवारिक र व्यापारिक साझेदारी गरी तस्करीको सञ्जाल खडा गरेका छन्  । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनको परिवारसँग सम्बन्ध देखिन्छ । 

दावाको कनेक्सन  अन्य केही नेताहरुसँग समेत देखिएको सीआईबी स्रोतको दाबी छ । उनले रोल्पाकी अमला रोकालाई विवाह गरी माओवादी नेताहरुका ज्वार्इँ बनेका थिए । 

अहिले दावाले गर्ने सबै व्यापार अमलाका नाममा दर्ता छन् । ति कम्पनीहरुमा माओवादी नेताहरुकै परिवारको लगानी रहेको छ । सुन तस्करीका लागि प्रयोग भएको भियना होटलबाट दावालाई पक्राउ गरेपनि दावाको सबै कारोबारको व्यवस्थापन गर्ने, दावालाई राजनीतिक कनेक्सन गराउने उनकी पत्नी अमला रोकालाई भने पक्राउ गर्न सकेको छैन । साथै राजनीतिक कनेक्सन देखिएको भनिएपनि कुन कुन नेतासँग कनेक्सन छ भनेर नखुलाइएको सीआईबीको दाबी छ । 

सुन तस्करीमा क्रिप्टोबाट भुक्तानी

सीआईबी स्रोतका अनुसार सुन तस्करले विदेशमा भुक्तानी हुण्डी र क्रिप्टोबाट गर्ने खुलेको छ । पछिल्लो डेढ वर्षमा मात्रै उनिहरुले करिब १ अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेका छन् । 

ति अधिकारीका अनुसार सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले ‘यूएसडीटी’ क्रिप्टो मार्फत  भुक्तानी  गरेका छन् । क्रिप्टोबाट भएको भुक्तानीलाई राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार सजाय हुने गरी सुन तस्करीमा संगठित अपराध, राजस्व र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने राय पनि प्रतिवेदनमा छ । 

सीआईबीले पक्राउ परेको चिनियाँहरुको साथबाट उनिहरुको नेपाली नागरिकता समेत जफत गरेको थियो । दावा छिरिङ सहित अर्का एक चिनियाँले काभ्रेबाट नागरिकता लिएका छन् । यो विषयमा सिआइबीले फर्जी कागजपत्र पेश गरेर निकालिएको नागरिकता जफत गरेपनि नागरिकता दिने अधिकारीहरुलाई भने पक्राउ गरेको छैन । 

हङकङ र भारत पुगेको प्रहरीले के ल्याए ? 

अनुुसन्धानकै क्रममा सीआईबीले एसपी दिनेश आचार्यलाई हङकङ र डिएसपी धर्म भण्डारीलाई भारत पठाएको थियो । हङकङमा तस्करी समुहको ३ वटा गोदाम भेटिएको भनिएपनि टोलीले अनुसन्धानमा प्रमाण मान्ने कुनै ठोस आधार नजुटाएको सीआईबी स्रोतको दाबी छ । साथै केही तस्करहरुले नेपालबाट भारत पुगेर सेल्टर लिएको दाबी गरिएपनि भारत पुगेको टोलीले उनीहरुलाई समेत पक्राउ गर्न सकेन । 

राहुल महराको मुद्दा छुट्टै 

६० किलो सुनसहित इलेक्ट्रिक भेपमा तस्करी भएको  ९ किलो सुन प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरामाथि भने अनुसन्धान जारी रहेको सीआईबी स्रोत बताउँछ । ९ किलो सुन प्रकरणमा छुट्टै मुद्दा लैजाने तयारी भइरहेको छ । 

अहिलेसम्मको अनुसन्धानका आधारमा तस्करीमा संलग्न केही व्यक्ति अझै फरार रहेकाले दोस्रो चरणमा पनि अनुसन्धान जारी राख्ने सीआईबीको भनाई छ ।  

झलकराम र भिमकान्तलाई उन्मुक्ति 

दावासँग शंकास्पद कुराकानी गरेका अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई भने उन्मुक्ति दिएको छ । 

दावासँग निरन्तर संवादमा रहेका अधिकारीले दावालाई भन्सारबाट पास गराइएका सामान र कागजपत्रको फोटो मात्रै पठाएका थिएनन, भेटेर ठुलो रकमको ठुलो काम गर्ने योजना समेत बनाएका थिए । दावासँग भेट भएको समेत अधिकारीले स्वीकार गरेका थिए । Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

तर सीआईबीले भने अधिकारीविरुद्ध अभियोग चलाउने राय पेश नगरेको बताएको छ । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निकट पात्र हुन् । प्रचण्डले नै अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएका थिए । अधिकारीमाथिको अनुसन्धानमा समेत प्रधानमन्त्री कार्यालयको दबाब परेको गृह मन्त्रालय स्रोतको दाबी छ । गृहमन्त्रालयले भने उनलाई महानिर्देशकबाट फिर्ता बोलाएको थियो । सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

यस्तै बिध ल्यावका संचालक भिमकान्त भण्डारीलाई दावाले सिंगापुरको एक बैकमा रकम जम्मा गरेर नेपालमा निकाल्नका लागि डिल गरेका थिए । त्यसका लागि एक पटक १० मिलिएन डलर जम्मा गर्ने गरी भएको संवाद सिधाकुराले सार्वजनिक गरेको थियो । सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

तर उनलाई पनि सीआईबीले सामान्य कागज गराएर छोडेको छ । उसो त भिमकान्त भण्डारी र दावा पत्नी अमला रोका बिध अटोमोबाइल्समा व्यापारिक साझेदार समेत रहेका छन् । अधिकारी मओवादी उपमहासचिव वर्षमान पुनका प्रिय पात्र हुन् भने अमला गाँउले चेली । वर्षमानका परिवारसँग दावा र अमलाको डिनर फोटो सार्वजनिक भएका थिए ।  भिमकान्त माथि थप अनुसन्धान गर्न राजनीतिक दबाबका कारण नसकिएको सीआईबी स्रोतको दावी छ । 

मंगलबारसम्म सीआईबीले अनुसन्धानका लागि ३७ दिन खर्चिएको छ  भने राजश्व अनुसन्धान विभागले १९ दिन अनुसन्धान गरेर सीआईबीलाई फाइल बुझाएको थियो । तर अनुसन्धानको ५६ दिनसम्म पनि प्रहरीले अझै अनुसन्धान पुरा नभएको बताएको छ । 

सेक्रेट्स अफगोल्ड माफियाका श्रृङ्खलाहरु 

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...