नेभिगेशन
सबै कुरा
समाचार टिप्पणी :

डीआईजी मनोजसँग डराएको सत्ता

काठमाडौँ । साउन १० गते सौर्य एयरको विमान दुर्घटना भयो । सारा देशको ध्यान प्लेन दुर्घटनातिर केन्द्रीत भयो । तर, जनताको ध्यान एकातिर भएको बेला अर्कै स्वार्थ केन्द्रीत काम गर्ने नेताहरूको पुरानो परिपाटी अहिले पनि दोहोरियो । नवनियुक्त गृहमन्त्री रमेश लेखकले यति ठूलो दुर्घटनालाई आफू र आफ्नो सरकारलाई आलोचनाबाट जोगाउनका लागि प्रयोग गरे । 


Dish Home
Global Ime Bank

उनले सो दिन नेपाल प्रहरीको विशेष ब्यूरोको नेतृत्व गरिरहेका डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाएर अर्कै प्रहरी अधिकृतलाई उनको ठाउँमा ल्याउने निर्णय गरे । सबै मिडिया जहाज दुर्घटनाको समाचार बनाउनमै व्यस्त भए । सो दिन भएको डीआइजी केसीलाई अन्तै सरुवा गरिएको विषय कसैको नजरमा परेन । 

प्रश्न उठ्छ गृहमन्त्री जत्तिको व्यक्तिलाई एउटा डीआईजी तहको अधिकृतलाई सरुवा गर्न विशेष दिन आवश्यक पर्थ्याे ? सामान्यतया सबै कुरा ठिकठाक भएको अवस्थामा पक्कै पर्दैनथ्यो । किनभने डीआईजी केसी ति गृह मन्त्रालय मातहतका यस्ता दर्जनौँ अधिकृत मध्येका एक अधिकृत मात्रै थिए । तर, मन्त्री लेखक यसका लागि यस्तो विशेष दिनको खोजीमा थिए की भुटानी शरणार्थी प्रकरणको अनुसन्धान मात्रै होइन त्यसको जरो नै काट्ने प्रयास गरेका अधिकृतलाई हटाउन उनले देश शोकमा डुबेको समयलाई रोजे । 

अब कुरा गरौँ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरुवात बारे ।  

उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख हुँदा डीआईजी केसीले नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए । नेपाल प्रहरीमा काबिल अफिसरको छवि बनाएका उनले सबै अवरोधहरूलाई चिर्दै  नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिकामा बिक्री गर्ने निकृष्ट कार्यको अनुसन्धान गृह मन्त्रालय हुँदै उच्च राजनीतिक कनेक्सनसम्म सोझ्याएका थिए ।   

नक्कली भुटानी शरणार्थी प्रकरणको जाहेरी महाशाखामा २०७९ जेठ १८ गते परेको थियो । सो समयमा उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख थिए तत्कालीन एसएसपी तथा हालका आइजीपी बसन्त कुँवर । उनले सो समयमा जाहेरी दर्ता गरेर १० दिनपछि अर्थात २०७९ जेठ २८ गते दुई जनालाई पक्राउ समेत गरेका थिए । 

सो समयमा गृहमन्त्री थिए नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँण । तर, खाँणको हस्तक्षेपपछि तत्कालीन एसएसपी रहेका कुँवरले पक्राउ गरेकाहरूको रेकर्ड समेत मेटेर उनीहरूलाई छोडेका थिए । 

२०७९ असार १७ गते तत्कालीन एसएसपी कुँवरको डीआइजीमा बढुवा भयो । उनी मधेश प्रदेश सरुवा भए । अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा आए जनक भट्टराई । उनको कार्यकलमा भुटानी शरणार्थी प्रकरणको फाइल नै खुलेन । त्यसपछि २०७९ पुस २८ गते मनोजकुमार केसी अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा आए । यतीबेला केसी एसएसपी थिए । 

कार्यालयको प्रमुख परिवर्तन हुने श्रृङ्खला चलिरहेको बेला भुटानी शरणार्थी प्रकरणमा ठगिएकाहरु निरन्तर कार्यालय धाईरहेका थिए । तर, यो प्रकणमा उच्चस्तरीय राजनीतिक कनेक्सन जोडिएको बारे राम्रो जानकार रहेका तत्कालीन प्रमुख केसी गतिलो मौकाको खोजीमा थिए । 

२०७९ चैत १० गते तत्कालीन आइजीपी धिरज प्रताप सिंह अनिवार्य अवकासमा गए । त्यसको २ दिनमा एसएसपी केसीले २०७९ चेत १२ गते नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरूङलाई पक्राउ गरे । सोही दिन वर्तमान आइजीपी वशन्त कुँवरले पदभार सम्हालेका थिए । आइजीपी कुँवरले फुली लगाइ पदभार सम्हाल्नु अगावै केसीले तीन जनालाई पक्राउ गरे । सोही दिन बयान लिए र यो प्रकरणको अनुसन्धान गृह मन्त्रालयका उच्च अधिकारीमाथि पनि हुनुपर्ने राय दिदै काठमाडौँ प्रहरी परिसरलाई केस हस्तान्तरण गरिदिए ।

त्यतिबेला काठमाडौँ प्रहरी परिसरको नेतृत्वमा एसएसपी दानबहादुर कार्की थिए भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख थिए एआइजी श्याम ज्ञवाली । यता गृहको नेतृत्वमा थिए नारायणकाजी श्रेष्ठ । 

गृहमन्त्री नारायाणकाजी श्रेष्ठको अनुमतिमा एआइजी श्याम ज्ञवालीले यो प्रकरणमा जोडिएका हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्ने निर्णय गरे । अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का सल्लाहाकार इन्द्रजीत राई लगायत पक्राउ परिसकेका थिए । त्यतिबेला पक्राउ गर्नुपर्नेको सूचीमा थिए पूर्वगृहमन्त्री बालकृष्ण खाँण । गृह स्रोतका अनुसार खाँणलाई पक्राउ गर्न लागिएको बारे आइजीपी कुँवरलाई पत्तो दिइएको थिएन । 

एआइजी ज्ञवालीले मनोजकुमार केसीको नेतृत्वमा खाँणलाई पक्राउ गर्ने टोली खटाएका थिए । केसीले २०८० बैशाख २७ गते खाँणलाई पक्राउ गरे । 

यो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले रफ्तार पायो । पहिलो चरणको अनुसन्धान पुरा गरी २०८० जेठ १० गते ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरियो । २०८० असार १ गते जिल्ला अदालत काठमाडौँले खाँण, रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । 

पहिलो चरणको अनुसन्धान सकेर मुद्दा दायर भईसकेपछि पनि थप जाहेरी पर्यो । फेरि अनुसन्धानको क्रम जारी रह्यो । तर, २०८० भदौ २ गते एआइजीहरुको सरुवा भयो । सोही मेसोमा एआइजी ज्ञवाली रानीपोखरीबाट हटाइए । सयय क्रममा अपराध अनुसन्धानबाट एसएसपी केसी र काठमाडौँ प्रहरी परिसरबाट दानबहादुर कार्की दुबैको सरुवा गरियो । यो सबै नक्कली भुटानी शरणार्थी प्रकरण रोक्ने उद्येश्यले भएको थियो । 

२०८० फगुनमा सत्ता समिकरण परिवर्तन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बने । केही दिनमै सुन प्रकरणमा छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले उक्त प्रकरणमा सीआईबीकी प्रमुख रहेकी किरण बज्राचार्यकै बदमासी देखाउँदै प्रतिवेदन पेश गर्यो । तत्कालीन गृहमन्त्री लामिछानेले बज्राचार्यलाई हेडक्वाटर तानेर एआइजी ज्ञवालीलाई सीआईबीको नेतृत्व गर्न पठाए । 

२०८१ जेठ ४ गते मनोजकुमार केसी र दानबहादुर कार्की एसएसपीबाट डीआईजीमा बढुवा भए । गृहमन्त्री लामिछानेले मनोज केसीलाई प्रहरी प्रधान कार्यालयका विशेष ब्यूरोको जिम्मेवारी दिए । केसीले विशेष ब्यूरो पुगेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल फेरि खोले । 

उच्च पदस्थको संरक्षणमा रहेका अपराधीलाई सही मौका र गौडो कुरेर हत्कडी लगाउन माहिर केसीले यो पटक पनि त्यस्तै गरे । आइजीपी कुवँर र गृहसचिव एक नारायण अर्याल विदेश भ्रमणमा रहेका बेला केसीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र भुटानी शरणार्थी प्रकरणका राजनीतिक तहको बिचौलिया बेचन झालाई असार १४ गते पक्राउ गरिदिए ।

आइजीपी वशन्त कुँवर र गृहसचिव एकनारायण अर्याल अमेरिकामा असार १० देखि १८ गतेसम्म व्यस्त रहँदा केसीले भुटानी शरणार्थी प्रकरणको मुख्य राजनीतिक बिचौलियलाई हतकडी लगाएर उक्त अपराधको राजनीतिक फेरोको खोजी सुरु गरे । एमाले छवी बनाएका गृहसचिव एक नारायण अर्याल र भुटानी शरणार्थी प्रकरणको फाइल बन्द गरेर आईजीको फुली लगाएको आरोप लागेका कुवँरलाई छलेर बेचन पक्राउ परेपछि संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमालेको दैलोमा पुगेर अनुसन्धानको फाइल रोक्न लाचार प्रस्तुत भयो । 

बेचन झा पक्राउ परेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए । बेचन झा मार्फत कांग्रेसको उच्च तहसम्म र प्रतिक थापामार्फत एमाले तहसम्म शरणार्थीको अनुसन्धान सोझिने भएपछि देउवा र ओलीले सो प्रकरणको अनुसन्धान गरिरहेको सत्ता समिकरण नै भत्काउने निर्णय लिए । 

बेचन पक्राउकाे तेस्रो दिन असार १७ मा कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति नै गरे । असार ३० गते ओली प्रधानमन्त्री बने भने गृहमन्त्रीमा कांग्रेसका रमेश लेखकको नियुक्ती भयो । जुन उद्येश्यसाथ सत्ता गठबन्धन भत्कियो सोही कुराको पुष्टि गर्न प्लेन दुर्घटनाकाे दुखद् मौका छोपी रमेश लेखकले सुटुक्क डीआइजी मनोज केसीको जिम्मेवारी खोसिदिए । उनको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याइयो भने केसी प्रशिक्षण प्रतिष्ठानमा पठाइए । 

मन्त्रालय सम्हालेको केही दिन नबित्दै र मुलुक नै शोकको घडीमा रहेका बेला डिआइजी केसीको सरुवा गर्ने गृहमन्त्री लेखकको समय छनोटले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी र उनको पार्टी कुन हदसम्म डराई रहेको छ भन्ने छर्लङ्ग भएको छ । सो अपराधमा  कांग्रेसका शिर्ष नेताहरुकै संलग्नता रहेको आम नागरिकको आशंकालाई लेखको हतारोले थप पुष्टि गरिदिएको छ ।

गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै ठूला फाइल खोल्दा सरकार ढलेको प्रतिक्रिया दिएका थिए । सोही सरकारका प्रधानमन्त्री प्रचण्डले पनि नक्कली भुटानी शरणार्थी प्रकरण सरकार ढल्नुको एक कारण भएको बताएका थिए ।

अहिले डीआईजी मनोज केसीलाई विशेष ब्यूरोबाट हटाइएको विषयमा चौतर्फी आलोचना भईरहेको छ । उक्त विषयमा संसदमा समेत प्रश्न उठेको छ । यता कांग्रेसका सांसदहरुले भने यसको बचाउको प्रयास गर्दै आएका छन् । उनीहरुले फाइल खोलेर सरकार परिवर्तन भएको भन्ने आरोप गलत भएको टीप्पणी गरेका छन् । तर, ओली नेतृत्वको सरकार गठन भएको दुई सातामै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित पार्न भएको प्रयासले आम नागरिकको आशंकालाई थप मलजल गरिदिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...