नेभिगेशन
सबै कुरा

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ ।

Ncell
Extreme Energy

लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो । 

लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब छ सय वर्ष पुरानो बस्ती हो । “यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हामी दाबी छ”, उनले भने, “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो ।”

माटोको पर्खालभित्र प्राचीन बस्ती  

दुई सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ । दुई सय ८० मिटर उत्तर–दक्षिण र एक सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो । 

लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा÷मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । विसं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाए। 

यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन रहिआएको छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जानेक्रम बढेको छ । 

यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झै–झगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ । महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको सङ्केत नै पाङ्देन हो । गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा अझै पनि कायमै छ । 

सांस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा 

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभासमारोह र विशेष कार्यक्रम हुने स्थानीयवासी कर्म आङ्गेलले बताए । “सांस्कृतिक रुपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्”, उनले भने, “महत्वपूर्ण कार्यक्रम सांस्कृतिक राजपरिवारका सदस्यहरुको उपस्थितिमा हुन्छ ।”  

लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको विंस २०७३ मङ्सिरमा मृत्यु भएको थियो । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ विसं १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए ।

नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने २०७४ देखि भुरे राजा÷रजौटाको शासनलाई अन्त्य गरेको हो । मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए । गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सुविधा रोकिएको थियो । 

मुस्ताङी राजा आमे पालले इसं १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । ढुङ्गा, माटो र काठले बनेको यो दरबार विसं २०७२ को भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो । बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ । 

यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालनका गतिविधि गर्दथे । १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरु छन् । 

वार्षिक तीन हजार पर्यटक 

सन् २०२४ को सेप्टेम्बर २२ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए। वर्षको अन्तसम्म पर्यटक आगमनको सङ्ख्या तीन हजार नाघ्ने अनुमान गरिएको छ । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ । 

सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । 

सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ । 

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ । 

तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कूल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जादैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ । विदेशीको तुलनामा केही बढी नेपालीहरु उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरुको आधिकारिक तथ्याङ्क छैन ।

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए। 

मौलिक सम्पदा, संस्कृतिको संरक्षण र प्रवर्द्धनगरी पर्यटन विकासका लागि पहल गरिए पनि अर्धनिषेधित क्षेत्र र महँगो प्रवेश शुल्कका कारण समस्या भएको अध्यक्ष गुरुङले बताए।  निषेधित क्षेत्रका कारण विदेशी सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । 

बिदा र चाडपर्वका समयमा घुम्न आउने नेपालीहरुले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय जना पर्यटक बास बस्नसक्ने क्षमता रहेकोे मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताए। लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...