नेभिगेशन
सबै कुरा

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति

काठमाडौँ ।  प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । 

Ncell
Extreme Energy

राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन् । 

काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । 

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । 

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ । 

पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् । एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ । कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ । 

भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् ।  त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।  सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ । 

अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ । नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए। 

यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ ।

सरकारले खोज तथा उद्धारमा ३० हजार सात सय ३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ । बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ ।
निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

आयोगका अध्यक्ष डा रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ ।
खोलामा पुल बन्यो तर छैन जाने बाटो

खोलामा पुल बन्यो तर छैन जाने बाटो

पुलको प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल बनेको सातवर्ष पूरा भएको छ ।  आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न गरिएको झोलुङ्गे पुलको...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।