नेभिगेशन
सबै कुरा

चीनको सिसापाङमामा नेपालको झण्डा फहराउने दावा याङ्जुम (भिडियाे)

चीनको तिब्बतमा रहेको विश्वको १४औं अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन्।उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

'धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु,' पर्वतारोही दावा याङ्जुम शेर्पाले भनिन्, 'चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरुभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुशी र गौरवको अनुभूति हुँदो रहेछ।'

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेकी हुन्। 'जे जस्तो भएपनि चीनमा गएर देशको झण्डा फैलाउन  पाउँदा निकै खुशी लागेको छ,' उनले भनिन्, 'विदेश गएपछि मात्रै नेपालको महत्व थाहा हुन्छ। युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउदाँ बढी भावनात्मक भइँदो रहेछ।'अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ। शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन। एक पटक विश्वभरको ध्यान उनीतर्फ केन्द्रित भएको छ।

करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औं अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन्।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसकेकी दावाले नयाँ कीर्तिमान कायम गरेकी हुन्। आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन्। 'जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ। भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ,' उनले भनिन्।

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको  क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न छिन्। उनी सन् २०१८ देखि विश्वप्रसिद्ध ब्रान्ड नर्थफेस र २०२१ देखि रोलेक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध छिन्।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन्। उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन्। दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन्। हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन सङ्घले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ। उनको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को र्कीतिमान पनि छ। दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन्।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरुको विश्वास छ। नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताइन्।

'पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ,' उनले भनिन्। सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रबर्द्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

'नेपाली आरोहीको विश्वकीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवद्र्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउछ। युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ,' उनले भनिन्।

निमा रिञ्जी शेपाको नयाँ कीर्तिमान

कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाए। १८ वर्षीय शेर्पा ८ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका हुन्।  सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै उनी विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भए। रिञ्जी शेर्पाले असोज १६ गते विहान  सिसापाङ्मा हिमालको सफल आरोहण गरेका थिए। शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत ८ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेका थिए।

कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत

तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। चीनको सिसापाङ हिमाल आरोहण गरेर स्वदेश फर्किएका पर्वतारोहीलाई नेपाल पर्वतारोहण सङघ (एनएमए) को नेतृत्वमा विमानस्थलमा विशेष स्वागत गरिएको थियो।

स्वागत कार्यक्रममा पर्वतारोहण सङ्घसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर सङ्घ, गुरुङ सङ्घ, शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, यम्बु थामिचा किदुगलगायतका सङ्घसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए।

यसैबीच कीर्तिमानी आरोहीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत तथा सम्मान गरे। कार्यक्रममा  पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो।

सिसापाङमा आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु ५०औँ पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छोटो समयमा आरोहण गर्ने निर्मल पुर्जालाई स्वागत गरिएको थियो।

त्यस्तै  विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु सफल आरोहण गर्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित नौ जना नेपाली पर्वतारोहीहरुलाई आज स्वागत गरिएको थियो। -रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बाजुरा जिल्लाको विकट पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई कडा निर्देशन दिएका छन् ।
निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारीहरू यो प्रावधानले अवकाशमा जानेछन् । यो व्यवस्था लागु हुँदा साथ ५० भन्दा सचिव स्वत अवकाशमा जाने छन् भने ६० प्रतिशतबढी...
कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई...
सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका  थिए । तीमध्ये २० वर्ष माथिका औषधि...