नेभिगेशन
सबै कुरा

चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस

१९ असोज, काठमाडौं । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनलाई निरास बनाउँछ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ । 

Extreme Energy
citizen life

“अघिल्लो वर्ष महङ्गो टिकट खरिद गरेर दसैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दसैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ”, जोशीले भने । महङ्गो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।

धनगढीकी निशा पाण्डे यतिखेर दसैँको टिकट जोहोका लागि एयरलाइन्स धाईरहेकी छिन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाइन् । खोटाङकी दीपा राई दसैँमा घर जानका लागि हवाई टिकटको खोजीमा छिन् । “जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दसैँमा कसरी घर पुग्ने हो चिन्तित छु”, उनले भनिन् ।      

दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ । दसैँ आउन दुई साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए। अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उनले बताए । 

सामान्यतया दसैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिउ । “दसैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ”, उनले भने, “अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।”

 तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पुरा

आन्तरिक उडानको महत्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ । सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ ।

बुद्ध एयरले अहिले १६ थान एटिआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ । “तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडादरमा पाउनसक्ने ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ”, सूचना अधिकारी कर्णले भने । 

धनगढीका लागि १७ हजार बढी भाडा

बुद्ध एयरका अनुसार दसैँको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक छ ।

त्यस्तै सुर्खेतको १४ हजार एक सय ६८, नेपालगञ्जको भाडादर १३ हजार तीन सय ९४ रहेको छ । काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार तीन सय ८३ तोकिएको छ । उक्त गन्तव्यको सहुलियत भाडादर आठ हजार एक छ ।

दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेँसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् ।

“दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ”, । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए । 

आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दसैँमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताए । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताए । उनले भने, “पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ ।”

प्रवक्ता बर्तौलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एयरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गरे । यती एयरलाइन्सले पाँच थान एटिआर जहाजमार्फत सेवा दिइरहेको छ ।

तुलनात्मक रुपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन् ।

दसैँमा राजधानी काठमाडौं छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ ।

विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष यही असोज २८ गते घटस्थापना र आगामी कात्तिक ७ गते  विजयादशमी टीका रहेको छ ।

असी प्रतिशत बुकिङ

बुद्ध एयरको विभिन्न गन्तव्यमा ८० प्रतिशत हाराहारी बुकिङ भएको छ । यती एयरलाइन्सले आफ्नो करिब ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुकिङ भइसकेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए । 

विगतमाजस्तो यस पटकको दसैँमा यात्रुले टिकट पाउन समस्या नहुने उनको भनाइ छ । श्री एयरलाइन्सले ‘ड्यास एट’ चार थान जहाजले आन्तरिक उडान गर्दै आएको छ । आन्तरिक उडानका सौर्य एयरलाइन्स र समिट एयरले पनि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम...
अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८...
सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम...
आज पनि घट्यो नेप्से परिसूचक

आज पनि घट्यो नेप्से परिसूचक

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको...