नेभिगेशन
सबै कुरा

एनपिएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हुँदैछ । शीर्ष दुई स्थानमा पुगेका यी दुई टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् । 

Everest cinsult

सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ । एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् । सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् । 

खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ । तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु प¥यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । क्वालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ । 

नेपालीलाई सफलता

एनपिएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३  लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् । करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् । उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरु छन् । तर नेपाली खेलाडीहरुले पनि सयौं रन लिन सफल भएका छन् । सर्वाधिक रन लिनेको सूचीमा चौंथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दिपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् । न्युजिल्याण्डबाट एनपिएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरुको सशक्त उपस्थिति देखाएका छन् । अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वदेशमा पहिलोपटक आयोजित एनपिएल खेल्न बोलाएर उनिहरुको प्रतिभाको कदर गरेको छ । 

यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरुले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरुलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरु प्रोत्साहित हुन पुगेका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपिएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरु कीर्तिपुर रंगशालामा दिनहुँ भैरहेको दर्शकहरुको भिडले गर्दा लोभिएका छन् । 

कीर्तिपुरमै बास 

कीर्तिपुर रंगशालाको वरिपरि ओछ्यान ओछ्याएका पनि देखिन्छन् । रंगशाला प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री बेच्नका लागि ठाउँ ओगटन व्यापारीहरु खुल्ला आकाशमै सुत्ने गरेका छन् । तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरै देखि घुईंचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरुको उत्साहमा भने कमी देखिएको छैन । काठमाडौं बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौँ आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर रङ्गशालामा दर्शकहरुले गरेका फोहर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरुले सक्रियता देखाएका छन् । 

खेलाडी पर्यटक बन्दै

नेपालमा एनपिएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरुको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरुले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपिएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए । कर्णाली याक्सका तर्फबाट ४ वटा खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्बिर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्व दिएर प्रकाशित गरेका थिए)। एनपिएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । 

कमेण्टेटरको कमाल   

एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपालको ब्यापक रुपमा प्रचार भैरहेको छ । एक्सन स्पोर्टस अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ । क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याती कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । उनीहरुले अङ्ग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौंँ उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । 

आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर  नेपालमा सयौं टेलिभिजन भएता पनि एनपिएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अंग्रेजी नबुझ्नेहरुका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भैरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोलि देखि सुरु हुदै छ सहिद स्मारक एन्फा महिला लिग २०८२

भोलि देखि सुरु हुदै छ सहिद स्मारक एन्फा महिला लिग २०८२

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लव र त्रिभुवन आर्मी...
एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित

एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित

एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन्...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...