नेभिगेशन
सबै कुरा
आलेख :

जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने !

वीरगञ्ज  । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन्, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुन्। 

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। 

Dish Home
Global Ime Bank

त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो। उनीहरुका बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै थिए। 

बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक थिए भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक थिइन्। 

बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाए। “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो। त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उनले भने, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु।”

शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिन्थे भने आमा समा भने केही मलिन मुद्रामा देखिन्थिइन्। “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो। तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भनिन्, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्‌ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ।”

सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो। त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन। उनी सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाइन्। 

“मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ। तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उनले भनिन्, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु।”       

सुदूरपश्चिमले  निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो। तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो। फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो। 

शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताइन्। “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो। मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उनले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताइन्। 

बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्छन्। “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो। म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भने, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थेँ।”

आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित छन्। आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आएका छन्। 

वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित छन् उनी।

नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्छन्।  ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ। आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन्। फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट भए। सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो।

आरिफका सहोदर भाइ हुन् आसिफ शेख। जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो। जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो।

आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिरेका थिए। आसिफले फाइनल खेलमा  १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए। प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्का थिए। 

विश्वकप जितेको हेर्ने बुबाको धोको

मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गरेका थिए। “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उनले भने, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन्।” उनलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ। 

आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउँछिन्। “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उनले भनिन्, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई...
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र...
भर्खरै