नेभिगेशन
सबै कुरा

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौँ  । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर कर्‍याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । 

Ncell
Extreme Energy

चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाईसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गाचील आदि पर्छन् ।

यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना सुरु गरिएको छ । 

नेपाल पन्छीविद् सङ्घले गणनामा समन्वय गरिरहेको छ । सो संस्थाका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन गणना सुरु गरिएको बताए । 

हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म (पुस २० गतेबाट माघ ६ गते सम्म) सञ्चालन हुनेछ । कार्यकारी निर्देशक पौड्यालले भने, “यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरिने छ । यतिखेर खोलानालामा आगन्तुक चराको आगमन र गतिविधिले छुट्टै माहोल बनेको छ ।”

गणनामा हिमाली प्रकृति, वर्ड कन्जरभेसन नेपाललगायत स्थानीय सङ्घसंस्था, चरा संरक्षणकर्मी तथा सम्बन्धित सरकारी अधिकारीहरुको सहभागिता छ । सन् १९८७ देखि हरेक वर्ष जनवरी ४ देखि दुई हप्तासम्म जलपन्छी गणना गर्ने गरिएको । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ ।

सन् २०२४ मा गरिएको जलपन्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा चार सय दुई स्वयम्सेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपन्छी रेकर्ड गरेको सङ्घको तथ्याङ्क छ । यीमध्ये छवटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए ।

वर्ड कन्जरभेसन नेपालका पश्चिम क्षेत्र परियोजना फिल्ड अधिकृत हिरुलाल डंगौराले गणनाका क्रममा आफूले जलवायु परिवर्तनको असर, सिमसारमा आएको परिवर्तन, सिकार गर्ने प्रवृति, वासस्थानको विनासलगायतका समस्या देखेको बताए । यसबाहेक पछिल्लो समय चरा संरक्षणमा नागरिकमा सचेतना जागेको विषय सकारात्मक भएको आफूले पाएको उनले उल्लेख गरे । उनका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी आएको छ ।

“मुलुकमा अभिलेख भएका आठ सय ९७ प्रजातिका चरामध्ये दुई सय हाराहारी जलपन्छी छन्”, परियोजना फिल्ड अधिकृत डंगौराले भने, “बराइँसराइ गरेर आउने चरामा यसपटक कैले टाउने हाँस, मालक हाँस, मरुल हाँस नयाँ चरा रेकर्ड भएका छन् ।” जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । 

कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले कोशीका विभिन्न नदी तालतलैयामा शनिबार र आइतबार गरिएको जलपन्छी गणनामा चराको सङ्ख्या अपेक्षित नै देखिएको जानकारी दिए । यद्यपि कतिपय स्थानमा सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका गतिविधिका कारण चरा आहारामा चुनौती देखिएको उनको भनाइ छ । “यस क्षेत्रका केही ताल र सिमसार क्षेत्रमा आवश्यकभन्दा जलकुम्भी देखिएको छ, यसले पन्छीलाई आहारा खान कठिनाइ हुन्छ”, उनले भने । 

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका अध्यक्ष तिम्सिनाको भनाइ छ ।

सन् १९८७ देखि नेपालमा पनि नियमितरूपमा हुँदै आएको जलपन्छी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने र पानीमा र यस वरिपरि बस्ने चराको सङ्ख्या र वितरणबारेमा जानकारी सङ्कलन गर्नु हो । यसबाट हामी सिमसार क्षेत्रको अवस्था, जलपन्छीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे समेत जानकारी पाउन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...