काठमाडाैँ । दुर्गा प्रसाईँमाथि मुद्दाका चाङ थोपरिएका छन् । जसमध्ये यस अघिनै उजुरी दर्ता भएका मुद्दाका फाइल पनि १५ गतेको घटनापछि मात्रै खोलिएको छ ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा आतङ्क मच्याएको कसुरमा पक्राउ परेका प्रसाईँविरुद्ध आधा दर्जन बढी कसुरमा अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका विभिन्न निकायमा प्रसाईँविरुद्ध १० भन्दा बढी कसुरमा अनुसन्धान भइरहेको छ ।
कुन कसुरमा कहाँ कहाँ अनुसन्धान ?
तीनकुने घटनालाई लिएर काठमाडौँ प्रहरी परिसरमा ३ कसुरमा अनुसन्धान
राजसंस्था पुनर्स्थापनाको माग गर्दै दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्यो । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गरिएको सो आन्दोलनका ‘कमाण्डर’ उनै प्रसाईँ थिए । प्रसाईँले कमाण्ड गरेको सो प्रदर्शन, प्रदर्शनमा सीमित भएन । तीनकुने रणमैदान बन्यो ।

एक जना पत्रकार जलेको अवस्थामा मृत भेटिए, अर्का सर्वसाधारण बाटोमै गोलीले ढालियो । अन्य २० जनालाई गोली लाग्यो, दर्जनौँ घाइते भए ।
केही निजी घरसहित जडीबुटीको सन्चो उत्पादन गर्ने सरकारी उद्योगमै आगजनी भयो । दर्जनौँ निजी तथा सरकारी सवारी साधन जले । प्रदर्शन अराजक भयो । करोडौँको भौतिक क्षति भयो ।
सरकारले यी सबै घटनाको जिम्मेवार आन्दोलनका कमान्डरसमेत रहेका दुर्गा प्रसाईँलाई बनायो ।
तीनकुने र त्यस परिसरका क्षेत्र रणमैदान बनिरहँदा आन्दोलन कमाण्डर रहेका प्रसाईँ भने लुसुक्क भारततर्फ भागे । आन्दोलनले उग्र रूप लिनासाथ प्रहरीले पक्राउ गर्ने डरले सटरमा लुकेका उनी रातारात भारत छिरे ।
सो बिचमा प्रसाईँले आफू काठमाडौँमै रहेको, आफूलाई प्रदर्शनका क्रममा सुटर खटाएर मार्ने योजना भएकाले ज्यान जोगाउन सुरक्षित ठाउँमा पुगेको भन्दै भिडियो पोस्ट गरे ।
त्यति मात्रै हैन, उनले दोस्रो भिडियो पोस्ट गर्दै आफूलाई ५ जना कानुन व्यवसायी र ५ जना मानवअधिकारकर्मीसँगै कुरा गर्ने भए २४ देखि ३६ घण्टा भित्र सार्वजनिक हुने चुनौती समेत दिए ।
तर उनको चुनौती ३६ घण्टा पनि टिकेन । उनी चैत २८ गते आसामबाट नेपाल प्रहरीको नियन्त्रणमा परे ।

आसाममा पक्राउ परेका उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सीमा झापाको काँकडभिट्टासम्म ल्याइयो । त्यहाँबाट भने नेपाल प्रहरीले उनलाई औपचारिक रुपमा पक्राउ गरेर विमान मार्फत काठमाडौँ ल्यायो ।
सोही दिन अर्थात् चैत २९ गते जिल्ला प्रहरी परिसरले प्रसाईँलाई म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालत पेस गर्यो । अदालतले उनलाई १२ दिन हिरासतमा राख्न अनुमति दियो ।

१२ दिनको म्याद सकिएपछि बुधवार प्रहरीले उनलाई म्याद थप गर्न पुनः अदालत पेस गर्यो । अदालतले प्रसाईँलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यस बिचमा जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रसाईँविरुद्ध ३ वटा छुट्टाछुट्टै कसुरमा अनुसन्धान भइरहेको छ । परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार उनी विरुद्धराज्यविरुद्धको कसुर, सङ्गठित अपराध, ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको छ ।
‘३ ओटा कसुरमा हामीले अहिले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानबाट अरु केही देखिए त्यसतर्फ पनि अनुसन्धान हुन्छ ।’, एसपी बोहराले भने ।
तीनकुने प्रदर्शनका क्रममा सुरक्षा घेरामा बसेका प्रहरीलाई गाडीले पेल्दै अघि बढेका प्रसाईँविरुद्ध सो स्थानमा ड्युटीमा खटिएका प्रहरीले समेत ज्यान मार्ने उद्योगको कसुरमा सामूहिक निवेदन दिएका छन् ।
०००
सीआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा मुद्दा
तीनकुनेमा उपद्रो मच्याएको कसुरमा जिल्ला परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा समेत मुद्दा दर्ता भएको छ ।
प्रसाईँविरुद्ध सीआईबीमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता भएको छ । तीनकुने आन्दोलनको २ दिनपछि अर्थात् चैत १७ गते प्रसाईँविरुद्ध उच्च अदालत पाटनबाट पक्राउको अनुमति समेत लिइएको सीआईबीका प्रवक्ता एसपी सुधीर राज शाहीले बताए ।

प्रवक्ता शाहीका अनुसार प्रसाईँलाई निम्न आधारमा सीआईबीमा मुद्दा दर्ता भएका हुन्:
१. प्रसाईँ र उनका परिवार सम्बद्ध फर्म र कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरू जुन प्रयोजनको लागि लिएको हो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको,
२. विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको,
३. प्रसाईँ र उनी सम्बद्ध कम्पनीहरूले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजन भन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको,
४. बैंकबाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नु पर्नेमा ठुलो रकम पेस्कीको रूपमा निज र निज सम्बद्ध कम्पनीहरूलाई प्रदान गरेको,
५. विगत चार वर्ष देखि बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालि लाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाका नाघी कर्जाको बक्यौता साँवा व्याज भुक्तानी नियमित नभएको,
६. परियोजनाको लागत वृद्धि गरी परियोजनालाई आवश्यक पर्ने भन्दा बढी कजा उपयोग गरेको,
७. ऋणी फर्म र कम्पनीका अन्तिम हिताधिकारी दुर्गा प्रसाद प्रसाईँ रहेको,
८. दुर्गा प्रसाईँले बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लङ्घन गरेको,
९. प्रसाईँ र प्रसाईँका परिवार र निजहरू सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरूमा round tripping, related party transaction गायतका शंकास्पद कारोवारहरु भएको देखिएको,
१०. अनुसन्धानका क्रममा तत्कालीन एनसीसी बैंक हालको कुमारी बैंकबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल अट्रियम प्रालिको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट यु.ए. मेडिको सप्लायर्स एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा जुन प्रयोजनको लागि लिएको हो, सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरी दुरुपयोग गरेको
माथि उल्लिखित आधार देखाउँदै सीआईबीले प्रसाईँमाथि मुद्दा दायर गरेको हो ।

नेपाल राष्ट्र बैंकले प्रसाईँका विभिन्न बैंक खातामा देखिएको अस्वाभाविक कारोबारबारे अनुसन्धान गर्न २०८१ माघ २३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गरेको थियो ।
सो पत्र प्राप्त भएपछि ब्यूरोले प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु गरेको थियो । उक्त टोलीले प्रसाईँबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि प्रसाईँविरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा प्रसाईँमाथि थप अनुसन्धान गर्न प्रहरीले गत चैत १७ गते उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको हो ।
प्रसाईँविरुद्ध पक्राउ अनुमति लिए पनि प्रसाईँ तीनकुने घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । प्रसाईँको परिसरमा अनुसन्धान चलिरहेको समयमा ब्यूरोले पनि अनुसन्धान गर्ने सीआईबीका प्रवक्ता शाहीले बताए ।
‘उहाँविरुद्ध परिसरमा विभिन्न कसुरमा मुद्दा चलिरहेका छन् । उहाँ त्यहाँको हिरासतमै भएको समयमा हामीले पनि बयान लिनका लागि ब्युरो बोलाउँछौँ । हामी सँगसँगै अनुसन्धान अघि बढाइरहेका छौँ ।’, ब्यूरोका प्रवक्ता शाहीले सिधाकुरासँग भने ।
सीआईबीमा प्रसाईँको पुरानै मुद्दा
त्यसो त प्रसाईँको विगत झनै विवादित रहेको छ । उनलाई सीआईबीले यसअघि नै पक्राउ गरेर अनुसन्धान गरेको थियो । आपराधिक लाभ र सङ्गठित अपराध सम्बन्धी कसुरमा मङ्सिर २७ गते पक्राउ परेका उनी पुस ५ गते रिहा भएका थिए ।

विभिन्न आपराधिक समूहका नाममा व्यापारीलाई धम्काएर पैसा असुल गर्ने गरेको आरोपमा पक्राउ परेका प्रसाईँका परिवारले बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए । सो रिटउपर सर्वोच्चले प्रसाईँलाई रिहा गर्न आदेश दिएको थियो ।
यस मुद्दाको समेत हालसम्म टुङ्गो लागेको छैन ।
०००
प्रसाईँमाथि साइबर ब्यूरोमा उजुरीमाथि उजुरी
नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत दुर्गा प्रसाईँमाथि उजुरीका चाङ छन् । उनी विरुद्ध पछिल्लो समय २ वटा मुद्दा दर्ता भएका छन् ।
प्रसाईँमाथि गत चैत १५ गत मायाको पहिचान नेपालले ब्यूरोमा उजुरी दर्ता गरेको छ। प्रसाईँमाथि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोपसहित मुद्दा दर्ता गरिएको छ।

मायाको पहिचानका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।
उजुरीमा दुर्गा प्रसाईँका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानुनी कारबाही गर्न, समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न माग गरिएको छ । त्यस्तै उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानुनी मान्यताको अपमान गरेको दाबी गरेका छन् ।
त्यस्तै उनी विरुद्ध सोही समुदायका अर्का एक जनाले पनि उजुरी दर्ता गराएको ब्यूरोको एक अधिकारीले बताए ।
०००
त्यसो त दुर्गा प्रसाईँ यसअघि नै साइबर अपराध गरेको उजुरीका आधारमा २ पटक प्रहरी हिरासत बसेका विवादित व्यक्ति हुन् ।
उनी विरुद्ध एक महिलाले आफ्नो व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गरेको, मिथ्या आरोप लगाउने र सामाजिक सञ्जालमा हाल्ने गरेको भन्दै ब्यूरोमा उजुरी दिएकी थिइन् भने सोही प्रकृतिको अर्को पनि उजुरी परेको थियो । सोही उजुरीका आधारमा साइबर ब्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले उनलाई गत असोज ६ गते भक्तपुरस्थित घरबाटै पक्राउ गरेको थियो ।

सो उजुरीउपर अनुसन्धान गरेर ब्यूरोले प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।
तर सर्वोच्च अदालतले असोज १५ गते प्रसाईँलाई साइबर अपराधसम्बन्धी दुई वटा फरक फरक कसुरमा ५०/५० हजार गरी एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
त्यसपछि रिहा भएका प्रसाईँ पुनः मङ्सिर ५ गते पक्राउ परेका थिए । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिनुका साथै एक भिडियो सामाग्री सार्वजनिक गरेका थिए । सोही सामाग्रीउपर उजुरी परेपछि ब्यूरोले उनलाई दोस्रो पटक पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सो उजुरीमा साइबर ब्युरोले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाईँविरुद्ध ७ वर्ष कैद सजाय माग गरिएको छ । तर अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । मङ्सिर २७ गतेको आदेशपछि उनी रिहा भएका थिए ।
०००
यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर प्रमाणित भए प्रसाईँको जीवन जेलभित्रै सकिने निश्चितप्राय छ ।