नेभिगेशन
मुख्य समाचार

प्रकृतिको अनुसन्धान नसकिँदै केआईआईटीमा प्रिशाको मृत्यु, के हुँदै छ अनुसन्धान ?

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । 

केआईआईटी विश्वविद्यालयमा बीटेक प्रथम वर्षमा अध्ययनरत वीरगन्जकी प्रिशा साह होस्टेलको ‘क्वी सी ४’ स्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको उनका साथीहरूले बताएका छन् । 

Dish Home
Global Ime Bank

बिहीबार साँझ करिब आठ बजे उनको ढोका नखुलेपछि साथीहरूले ढोका फोडेका थिए । सार्वजनिक भएका भिडियोमा उनी पङ्खामा झुन्डिएको अवस्थामा देखिन्छ । होस्टल प्रशासनका अनुसार नियमित हाजिरका क्रममा प्रिशा अनुपस्थित भएपछि उनको अवस्थाबारे खोजी भएको थियो । 

होस्टलमा रहेको अर्का एक नेपाली विद्यार्थीका अनुसार उनीहरुले देख्ने बेलामा उनको शरिर निलो देखिन थालेको थियो । प्रिशा एक वर्ष अघि मात्रै अध्ययनका लागि केआईआईटी पुगेकी थिइन् । 

ओडिसा प्रहरी के भन्छ ?

नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर  एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ । 

प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो । 

प्रिशाको शव अहिले अस्पतालमा राखिएकाले उनको परिवार पुगेपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढ्ने कमिस्नर सिंहले जानकारी दिए । 

दिउँसो घरमा फोन गरेर नेपाल आउने टिकट काट्न भनेकी थिइन् प्रिशाले

प्रिशा,सर्लाहीको मलंगवा घर भई हाल वीरगन्ज १५ बस्दै आएका श्याम साहकी छोरी हुन् । छोरीको मृत्युको खबर पाए लगत्तै श्याम सहित उनका परिवारका सदस्य राति नै भारत तर्फ लागेका छन् । 

प्रिशाका भाइ गौरव साहका अनुसार कलेजबाट बिहीबार साँझ ९ बजेतिर फोन गरेर प्रिशाको मृत्युको बारे जानकारी दिएको थियो । 

उनका अनुसार प्रिशाले बिहीबार दिउँसो तीन बजे घरमा फोन गरेर नेपाल फर्किने बताएकी थिइन् ।  उनले मे १८ तारिखमा नेपाल फर्किने टिकट काटिदिन आग्रह गरेकी थिइन् । तर साँझ उनको मृत्युको खबर आएपछि परिवार शोकमा डुबेका छन् ।

महिला हिंसा विरुद्ध सक्रिय थिइन् प्रिशा

शङ्कास्पद अवस्थामा मृत फेला परेकी प्रिशा एक महिना अघि नेपाल आएका बेला महिला हिंसाविरुद्धको प्रदर्शनमा समेत सहभागी भएकी थिइन् । सिरहा नवराजपुरकी बलात्कृत किशोरी रिंकु सदायको मृत्यु पछि दोषीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा उनी सक्रिय भएकी थिइन् । प्रदर्शनका क्रममा अग्र भागमा रहेर न्यायका लागि लडिरहेका तस्बिर सार्वजनिक भएका छन् । र तीनै प्रिशाको शङ्कास्पद मृत्यु भएको छ ।

नेपाली दूतावास के भन्छ ?

प्रिशाको शंकास्पद् मृत्यु बारे ओडिसा प्रहरीले बिहीबार साँझै भारतस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माका अनुसार प्रहरीले जानकारी गराएपछि घटनाको अनुसन्धानका लागि उडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग समन्वय गरिरहेको छ । 

दूतावासको समन्वयमा प्रिशाका परिवारसँग सम्पर्क गरी घटनाको बारेमा जानकारी गराएको दूतावासले जनाएको छ । 

अहिले प्रिशाका परिवारलाई प्रिशा बसेका होस्टेलसम्म लैजान दूतावासले समन्वय गरिरहेको जनाएको छ । दूतावासले नै काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा घटनाका विषयमा जानकारी गराएको थियो । 

घटना छानबिनका लागि परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो कूटनीतिक पहल

होस्टलेमै प्रिसा मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ । 

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिइन् । 

परराष्ट्र मन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै घटनाले मर्माहत बनाएको बताएकी छिन् ।

उठ्न थाल्यो केआईआईटी विरुद्ध कडा कारबाहीको माग

२ महिनाभित्रै दुई नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु भएपछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विरुद्ध कडा कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले घटना संलग्नको छानबिन गरी  दोषीलाई कारबाही गर्न माग गरेको छ । 

विज्ञप्तिमा एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको हो ।

प्रकृति प्रकरणको अनुसन्धान अझै सकिएको छैन 

गत फागुन ४ गते कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय क्याम्पसमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको अनुसन्धान अझै नसकिएको ओडिसा प्रहरीले जनाएको छ । 

प्रकृतिलाई उनका केटा साथी भनिएका भारतका आद्विक श्रीवास्तवले मानसिक यातना दिएका कारण उनको मृत्यु भएको भन्दै  केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीले छानबिन तथा कारबाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । केटासाथीले आफूलाई निकै मानसिक तनाव दिएको भन्दै प्रकृतीले पटक पटक विश्वविद्यालय प्रशासनमा उजुरी गरे पनि विश्वविद्यालयले चासो देखाएको थिएन । जसको परिणाम प्रकृतिको मृत्यु भएको नेपाली विद्यार्थीहरूले बताउँदै आएका छन् । 

तर केआईआईटीले घटना ढाकछोप गर्न नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाटै निष्कासन समेत गरेको थियो । तर पछि केआईआईटीका सर्वत्र आलोचना भएपछि भने विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाएको थियो । 

घटना भएको केही दिनपछि मात्रै यो घटनामा ओडिसा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

प्रकृतिको घटनामा पनि अनुसन्धानमा ढिलाइ 

ओडिसा पुलिस कमिस्नर एसदेव दत्त सिंहका अनुसार घटनाको भएको तेस्रो दिनबाट ओडिसा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रकृतिलाई मानसिक तनाव दिएको उनका प्रेमी आद्विक श्रीवास्तवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । ओडिसा प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्राप्त अडियो, भिडियो तथा तस्बिरहरूले आद्विकले प्रकृतिलाई निकै मानसिक तनाव दिएको पुष्टि भएको छ । साथै पहिले प्रेम सम्बन्धमा रहेको उनीहरू सम्बन्धमा दरार आएपछि छुटिएका थिए । तर आद्विक श्रीवास्तवले प्रकृतिको पिछा नछोडेको र उनलाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानले समेत देखाएको छ । साथै आद्विकको व्यवहार बारे प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा २ पटकसम्म उजुरी गरेको विवरण समेत प्रहरीले जम्मा गरेको छ ।

 तर घटना भएको ७५ दिनसम्म पनि प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्याएको छैन । 

यस विषयमा कमिस्नर एसदेव सिंहले भने घटनालाई गम्भीरताको साथ अनुसन्धान गरिरहेकाले केही समय थप लागेको बताए । साथै प्रकृतिको घटनाको अनुसन्धान गरिरहेका अधिकारीको सरुवा भएकाले पनि केही ढिला भएको उनको दाबी छ । 

उनका अनुसार आरोपित आद्विक श्रीवास्तव भने अहिले पनि प्रहरी हिरासतमा नै छन् । उनको तल्लो अदालतबाट म्याद थप भइरहेको छ । साथै आरोपित आद्विक श्रीवास्तवले जमानताका लागि ३ पटकसम्म अदालतमा अपिल गरे पनि जमानत अस्वीकार भएको छ ।

यता प्रकृतिका परिवारले भने ओडिसा प्रहरीले बेला बेलामा सम्पर्क गरेर अनुसन्धान बारे जानकारी दिने गरेको भए पनि कलेज प्रशासनले शव नेपाल ल्याएपछि एक पटक पनि सम्पर्क नगरेको बताउँछन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

वैशाख १४ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालत पेश गरिएको थियाे । मिश्रको हातमा हतकडी थियो । उनी हात जोडेर नमस्कार गर्न खोज्दै थिए । तर प्रहरीले...
आतंकवादविरुद्ध उभिएकोमा भारतले दियो नेपाललाई धन्यवाद

आतंकवादविरुद्ध उभिएकोमा भारतले दियो नेपाललाई धन्यवाद

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
तत्काल सरकार छोड्दैनौँ : रञ्जिता श्रेष्ठ

तत्काल सरकार छोड्दैनौँ : रञ्जिता श्रेष्ठ

यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।
यस्तो बन्यो कछुवा गतिमा बनिरहेको संसद् भवन, पाँचौ पटक म्याद थप्ने तयारी (तस्विरहरु)

यस्तो बन्यो कछुवा गतिमा बनिरहेको संसद् भवन, पाँचौ पटक म्याद थप्ने तयारी (तस्विरहरु)

सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौं पटक म्याद थपिन लागेको छ ।