नेभिगेशन
समाज

मुस्कान अस्पतालकाे लापरवाहिले चार महिनादेखि बेहोस पविता , सञ्चालकसहित पाँचजनाविरुद्ध जाहेरी

वीरग‌‌ज। पित्तथैलीको शल्यक्रियापछि चार महिनासम्म होसमा नआएकी सर्लाहीकी २५ वर्षीया पविता यादवको उपचारमा लापरबाही भएको आरोपमा उनका परिवारले जनकपुरधामस्थित एक निजी अस्पतालका सञ्चालकसहित पाँचजनाविरुद्ध जाहेरी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुरधाम उपमहानगरपालिका–१४, पीडारी चोकमा दर्ता विना सञ्चालनमा रहेको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनएस थेसिया, र सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइएको हो ।

Ncell
Extreme Energy

पीडित पविताका बुबा ब्रह्मदेव यादवले जेठ १ गते उजुरी दर्ता गराएका हुन् । उनका अनुसार माघ ३ गते जनकपुरस्थित मुस्कान अस्पतालमा पित्तथैलीको पत्थरी हटाउने शल्यक्रिया गरिएपछि पविता अहिलेसम्म होसमा आएकी छैनन् ।

बिना अनुमति सञ्चालन, गम्भीर लापरबाहीको आरोप

ब्रह्मदेव यादवका अनुसार मुस्कान अस्पताल स्वास्थ्य सहायक कमल राइनले आफ्नी श्रीमतीको नाममा बिना अनुमति खोलेको अस्पताल हो । अस्पतालमा कुनै चिकित्सकीय प्रमाणपत्र वा सरकारी अनुमति नलिइ सञ्चालन भइरहेको जनाइएको छ ।

पित्तथैलीमा पत्थरी देखिएपछि सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवले पवितालाई  मुस्कान अस्पताल पठाएकी थिइन् । शल्यक्रिया सम्पन्न भएपनि पविता होसमा नआएपछि भेन्टिलेटरमा राखिएको र चिकित्सक डा. साहले सुरुवातमा सबै ‘ठिक छ’ भन्दै झुक्याउने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख छ ।

तीन दिनपछि सिटी स्क्यान गराउँदा रिपोर्ट पढ्ने चिकित्सक अस्पतालमा नभएको र त्यसले लापरबाही पुष्टि गरेको पविताका परिवारले बताएका छन् । त्यसपछि उनलाई जानकी हेल्थ केयर लगिएको थियो तर थप उपचार सम्भव नभएको भन्दै माघ २९ गते काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको थियो । पविता हाल पनि अचेत अवस्थामा केएमसी अस्पतालमै उपचाररत छिन् ।

३० लाख क्षतिपूर्ति र कारबाहीको माग

पविताका बुबा ब्रह्मदेव यादवले जाहेरीमार्फत दोषीहरूमाथि कारबाही गर्न, हालसम्म उपचारमा खर्च भएको ३० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन र थप उपचारको जिम्मा लिन माग गरेका छन् ।

मंगलबार उनी, पविताका श्रीमान अंगेश यादव र आफन्त विरेन्द्र अधिकारी जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर जाहेरीको प्रक्रिया बुझ्न पुगेका थिए । प्रहरी अधिकारीले उक्त घटना गम्भीर प्रकृतिको भएकाले नेपाल मेडिकल काउन्सिललाई समेत अनुसन्धान प्रतिवेदन पठाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

कमजोर आर्थिक अवस्थाका पविताका श्रीमान अंगेश भारतमा मजदुरी गर्थे । श्रीमतीको अवस्था गम्भीर भएपछि घर फर्किएका उनले थोरै घरघडेरी धितो राखेर र गाउँबाट ऋण लिएर १० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताए ।

“अब कसैले ऋण दिन्न । दुई साना बच्चालाई साँझबिहान खुवाउन गाह्रो छ । कहिले काँही बिस्कुट खुवाएर सुताउनु पर्छ,” अंगेशको गहभरिएको पीडा थियो ।

केएमसी अस्पतालमा हालसम्म १९ दिनदेखि कोही कुरुवा छैन । श्रीमती उपचारमा, श्रीमान आर्थिक संकटमा, र बच्चाहरू भोकभोकै बस्न बाध्य छन् ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनालाई गम्भीर र जटिल भएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...

भर्खरै