नेभिगेशन
मुख्य समाचार

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

खोटाङ । यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । 

माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिइ निर्माण गरेको हो । 

CG

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिए । “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ”, उनले भने, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।”

हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठूलो भनेर दाबी गरिएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पु¥याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए । 

“यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उनले भने, “पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”

यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिए । “तोकिएको काम गत वैशाख १० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ । अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन”, उनले भने। राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर यही जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो । नगरपालिकाबाट करिब रु तीन करोड रकम भुक्तान लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उनले बताए । 

पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ । प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध गराएको छैन”, उनले भने, “प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ । बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।
आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै...
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।