काठमाडौँ । मङ्गलवार बिहान करिब १२ बजे । प्रहरीको एक हुलले ‘बेवारिसे’ जस्ता देखिने एक युवकलाई प्रहरीकै गाडीमा राखेर सिंहदरबार छिरायो ।
अगाडिपछाडि प्रहरीकै स्कर्टिङ । प्रधानमन्त्री कार्यालय अगाडि पुराएर उनलाई ओरालियो ।
प्रहरीले उनलाई पुनः भिआइपीझैँ सुरक्षा दिएर प्रधानमन्त्री कार्यालयमा छिरायो ।
डिएसपीको सुरक्षा घेरामा ल्याएका ती युवकको टाउकोमा कालो क्याप थियो, महिनौँ नकाटेजस्तो दाह्री अनि गुजुल्टिएको कपाल । त्यति मात्रै हैन, भित्र कालो गन्जी, बाहिरबाट आधा बाउले टिसर्ट । फोहोर लत्पतिएको पाइन्ट । हातमा लौरो अनि पिठ्यूँमा कालो झोला ।
चिरा परेर फुटेका खाली खुट्टा, कतै ब्यान्डेज टाँसिएको ।
सदा जसो सुकिलामुकिला कपडा लगाएका व्यक्तिहरूलाई सल्युट ठोक्दै प्रधानमन्त्री कार्यालय पुर्याउने प्रहरीले ती युवकलाई प्रधानमन्त्री कार्यालय छिराएको देख्दा वरपर रहेका अन्य सुरक्षाकर्मी, कर्मचारी र सिंहदरबार पुगेका सेवाग्राही चकित भए । सञ्चारकर्मीहरू पनि उनको दृश्य कैद गर्न व्यस्त थिए ।
प्रहरीले उनलाई चुपचाप कार्यालय प्रवेश गरायो ।
०००
करिब २ घण्टापछि प्रहरीले ती युवकलाई पुनः सुरक्षा घेराभित्रै राखेर कार्यालयबाट निकाले ।
प्रहरीले कार्यालयभित्र छिराउँदा र बाहिर ल्याउँदा ती युवकको हुलिया सबै उस्तै थियो, खुट्टामा जुत्ता बाहेक ।
प्रधानमन्त्री कार्यालयबाट निस्किएका उनको खुट्टामा निलो रङको जुत्ता थिए ।
प्रहरीले भित्र लगेका ती युवकबारे चासो भएकाले प्रधानमन्त्री कार्यालय पुगेका सञ्चारकर्मीहरू उनलाई बाहिर ननिकाल्दासम्म त्यहाँबाट फर्किएका थिएनन् ।
जब प्रहरीले उनलाई कार्यालयको खुड्किला ओरालेर सडकमा पुर्यायो, सञ्चारकर्मीहरूले उनीबारे जान्न चाहे । ती युवकको, नभए प्रहरीकै भए पनि प्रतिक्रिया लिन चाहे ।
तर डिएसपीले ‘यहाँ हुँदैन, बाहिर आउनुहोला । बाहिरै कुरा गर्नुहोला’ भन्दै ती युवकलाई पुनः प्रहरीकै गाडीमा राखे ।
प्रहरीले बाहिर बोल्ने भनेपछि सञ्चारकर्मीहरू सिंहदरबारको दक्षिण गेटतर्फ लागे । तर प्रहरीले ती युवकलाई दक्षिण गेटतर्फ नभई पश्चिम गेटतर्फ लिएर अघि बढ्यो, जुन गेटबाट सञ्चारकर्मीलाई आवतजावत प्राय बन्द हुन्छ ।
त्यसपछि करिब २ घण्टासम्म प्रतीक्षा गरेर बसेका सञ्चारकर्मीहरू आआफ्नो बाटो लागे ।
सिंहदरबारको गेट बाहिर भनेको प्रहरीले उनलाई न्यूरोड गेटमा पुर्याएर छाडेछ । हामीले उनलाई न्यूरोड गेट नजिकै भेट्यौँ ।
भेटमा उनले आफू १ महिना लगाएर कर्णालीबाट हिँड्दै काठमाडौँसम्म आउँदाको बेलिबिस्तार लगाए ।
०००
कर्णालीका दुःख सुनाउन खाली खुट्टै ६ सय बढी किलोमिटर पैदल यात्रा
प्रधानमन्त्री कार्यालयमा प्रहरीको सुरक्षा घेरामा प्रवेश गरेका उनको नाम नवराज बोहरा हो । घर सुर्खेत ।
परिचयमा एक नागरिक बताउने उनले २०८२ जेठ ४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पैदल यात्रा सुरु गरेका थिए । त्यो पनि खाली खुट्टै ।
कर्णाली प्रदेश प्राकृतिक रूपमा सम्पन्न भए पनि विभिन्न बेतिथि, भ्रष्टाचार र अनियमितताले नाङ्गो भएको भन्दै उनी नाङ्गै वा भनौँ खाली खुट्टै सरकारको ध्यानाकर्षण गराउन काठमाडौँ आएकाे बताए ।
पैदल यात्रा सुरु गरेको ३१ औँ दिनमा ६०० किलोमिटर भन्दा लामो दुरी पार गरेर उनी कर्णालीको पिडा सुनाउन प्रधानमन्त्री खोज्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । तर उनलाई प्रधानमन्त्री निवास परिसरमा रहेका सुरक्षाकर्मीले प्रधानमन्त्री भेट्न दिएनन् । बरु प्रधानमन्त्री सिंहदरबार गएको र त्यहीँ गए भेटिने बताए ।
उनले सुरक्षाकर्मीको विश्वास गरेनन् । बरु एक पटक भेटाइदिन अनुनय विनय गरे, तर सुरक्षाकर्मीले त्यहाँ धेरै बेर बसे पक्राउ पर्ने डर देखाए र पुनः सिंहदरबार जान भने ।
त्यसपछि उनका खाली खुट्टा सिंहदरबारतर्फ मोडिए ।
प्रधानमन्त्री भेट्न बिहानै कलङ्कीबाट हिँड्दै बालुवाटार पुगेका उनी भोकै पेट सिंहदरबारतर्फ जाँदै थिए । बिचमै प्रहरीको एउटा गाडिले उनलाई रोक्यो ।
त्यहाँबाट आफूहरूले सिंहदरबार पुराइदिने भन्दै उनलाई गाडीमा राखेर सिंहदरबार पुराए ।
६०० किलोमिटर गाडीमा पाइला नहाली काठमाडाैँ पुगेका उनले पहिलो पटक प्रहरीको गाडी चढे ।
उनले सिंहदरबार परिसरमा आन्दोलन गर्ने आँकलन गरेर प्रहरीले त्यसअघि नै प्रधानमन्त्री कार्यालयमा कुराकानी गरेका थिए । सोहीअनुरूप उनलाई प्रहरीकै गाडीमा राखेर सरासर प्रधानमन्त्री कार्यालय पुराइयो ।
प्राय देशका भिभिआइपी, भिआइपी, व्यापारी र धनाढ्यहरूको उठबस र उनीहरूलाई नै सुरक्षा दिने प्रहरीले ‘बेवारिसे’ शैलीमा पुगेका नवराजलाई सुरक्षा घेरामा राखेर देशकै प्रमुख प्रशासकीय केन्द्र छिराएको उक्त दृश्य अनौठो थियो ।
पुग्न त पुगे सिंहदरबार, तर प्रधानमन्त्रीले भेटेनन्
कर्णालीको अनियमितता र भ्रष्टाचार प्रधानमन्त्रीलाई नै सुनाउँछु भनेर यात्रा तय गरेका उनले अनेक बाधा र व्यवधान सहेर काठमाडौँ आए, सिंहदरबार छिरे । सिंहदरबार मात्रै छिरेनन्, प्रधानमन्त्रीकै च्यामबरअगाडि पुगे तर प्रधानमन्त्रीलाई भेट्न दिइएन ।
खाली खुट्टा हिँड्दा बनेका चोटै चोट लिएर प्रधानमन्त्रीको कार्यालय छिरेका उनी आफ्ना चोट नभएर कर्णालीका चोट प्रधानमन्त्रीलाई सुनाउन चाहन्थे । तर प्रहरी र कर्मचारीले उनलाई सिंहदरबारमा पनि प्रधानमन्त्री भेट्न दिएनन् । ‘म कुनै राजनीतिक व्यक्ति नभएका कारण भेट्न नदिइएको होला सायद’, नवराज दुखेसो गर्छन् ।
उनलाई आफ्ना कुरा कर्मचारीलाई टिपाउन भनियो र मुख्यसचिवलाई भेटाइयो। बल्लतल्ल काठमाडौँ आएका उनले मुख्यसचिवसामु पनि एकै पटक भए पनि आफूलाई प्रधानमन्त्रीसँग भेटाइदिन अनुरोध गरे । तर मुख्यसचिव एकनारायण अर्यालले समेत प्रधानमन्त्री सिंहदरबारमा नभएको भन्दै भेट गर्न सम्भव नहुने बताए ।
त्यसपछि नवराजले कर्णालीका पीडा मुख्यसचिवसामु पोखे ।
उनले कर्णालीमा देशलाई नभएर छिमेकी देशहरू समेत झिलिमिली पार्न सक्ने जलविद्युतको स्रोत रहेको तर त्यसको सदुपयोग हुन नसक्दा आधा भन्दा धेरै कर्णाली अन्धकार भएको गुनासो गरे ।
त्यस्तै शिक्षा, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा पनि कर्णाली सधैँ उपेक्षामा रहेको र सरकारले त्यसको समाधानमा ध्यान नदिएको उनले बताए ।
उनले आफूले कर्णालीमा कङ्क्रिट प्रगतिको सट्टा पशु, प्राणी र मानवको जीवनको भिख मागेको बताए । ‘मेरो मुद्दा भनेको एकदमै विकास हुने, कङ्क्रिटको सहर चाहियो भन्ने हैन । मैले त त्यहाँ पशुहरूको एउटा जीवन चाहियो भनेको छु । त्यहाँ प्रकृति हुनुपर्यो भनेको छु ।’, मुख्यसचिवसँग आफूले राखेको माग उद्धृत गर्दै उनले भने ।
कर्णालीमा राजनीति, अनियमितता र भ्रष्टाचार बढेको तर सेवा भाव नभएको उनको गुनासो छ । ‘राजनीति मात्रै हुने गरेको छ कर्णालीमा । सेवाको भावना केही पनि छैन । त्यही दुःखद अवस्थाबाट गुज्रिरहेको नाङ्गो कर्णाली प्रधानमन्त्रीलाई देखाउन आएको थिएँ ।’, नवराजले सिधाकुरासँग भने, ‘ कर्णालीलाई सधैँभरि गरिबै बनाएर राख्ने ? यसले कसलाई छ फाइदा ?’
प्रधानमन्त्रीलाई आफूले भेट्न नपाए पनि मुख्यसचिवले आफूले राखेका माग प्रधानमन्त्रीलाई सुनाइदिने र सरकारले कर्णालीका समस्या समाधान गर्ने आश्वासन दिएको उनी बताउँछन् ।
त्यस्तै प्रधानमन्त्रीले नवराजलाई नभेटेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रयोगकर्ताहरूले ‘टिकटकरलाई भेट्ने प्रधानमन्त्रीले समस्या लिएर आएकालाई किन भेट्थे’ भन्दै व्यङ्ग्य समेत गरिरहेका छन् ।
सरकारको जुत्ता उपहार !
नाङ्गो कर्णालीको पीडा देखाउन घाउ नै घाउ भएका खाली खुट्टा लिएर प्रधानमन्त्री कार्यालय छिरेका नवराजका खुट्टामा कार्यालयबाट बाहिरिँदा भने नयाँ जुत्ता थिए । उनलाई सो जुत्ता प्रधानमन्त्री कार्यालयका कर्मचारीले मुख्यसचिवसामु थमाएका हुन् ।
सरकारले आफूलाई कर्णालीको समस्या समाधान गर्छु भनेर जुत्ता दिएर पठाए पनि आफू सो जुत्ता नलगाउने बताउँछन् । सरकारले आफूलाई आश्वासन दिए पनि आफू आश्वस्त हुने अवस्था नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘कर्णाली नाङ्गो छ भनेर म खाली खुट्टा आएको हुँ । खुट्टा त सन्चो होलान् तर जसरी कर्णालीलाई लागेको चोटको औषधी सरकारसँग छ, त्यो औषधीले कर्णाली छुन्छ कि छुँदैन भन्ने मलाई अझै पनि मनमा अन्योल छ ।’
यदि सरकारले दिएको आश्वासन पूरा नभए सरकारले आफूलाई दिएको जुत्ता पुन सरकारलाई नै फर्काउने उनको चेतावनी छ । ‘जसरी मैले सरकारको उपहार पाएँ नि, माग पूरा नभए म यी जुत्ता सरकारलाई नै फर्काउँछु । तर त्यो समयमा ती जुत्ता उपहारका रूपमा हुँदैनन् । जुत्ता हान्ने भन्ने शब्द नै के हो त? यसै बुझ्नुस् ।’
त्यस्तै देश सङ्घीयतामा गए पनि देशको रिमोट काठमाडौँमै भएका कारण आफू काठमाडौँमा आएको र काठमाडौँले कर्णालीलाई उपेक्षा गर्न नहुने उनको भनाई छ ।
एक महिने यात्राको अनुभव, ‘जहाँ खुट्टा ठोक्किन्छ, त्यहाँ भ्रष्टाचार’
सुर्खेतदेखि काठमाडौँसम्म एक महिना लामो खाली खुट्टा हिँडेका नवराजले यात्राका क्रममा अनेकन अनुभव सङ्गालेका छन् ।
यात्राका क्रममा उनले सयौँ किलोमिटर दुरी कालोपत्रे सडकबाट हिँडेका छन् । कालोपत्रे सडक विकसित सडकको रूप मानिन्छ । तर त्यही कालोपत्रे सडकमा नवराजले फरक अनुभूति गरेका छन् ।
कालोपत्रे सडकमा हिँड्दै गर्दा कतिपय ठाउँमा उनका खुट्टा बिझाउँथे, कतिपयमा ठेस लाग्थे त कतिपय कालोपत्रेमा यात्रा गर्दा उनलाई आनन्द आउँथ्यो ।
जुन कालोपत्रेमा हिँड्दा ठेस लाग्थ्यो, त्यो सडकमा भ्रष्टाचार भएको अनुभूति हुने गरेकाे र जहाँ हिँड्दा चिल्लो, आनन्दित महसुस हुन्थ्यो, त्यहाँ राम्रो काम भएको अनुभूति हुने गरेको नवराज बताउँछन् । ‘म कहिलेकाँही ३० देखि ४० किलोमिटरसम्म कालोपत्रे सडकमा हिँड्थेँ । कालोपत्रेमा हिँड्दै गर्दा जहाँ अलिकति ढुङ्गाले ‘टच’ गरेर ठोसिएर दुख्छ नि, त्यहाँ भ्रष्टाचार भएको रहेछ भन्ने लाग्थ्यो मलाई ।’, उनले थपे, ‘अनि जहाँ हिँड्दा खुट्टा ठोक्किँदैन थियो, त्यहाँ ओहो ! भ्रष्टाचार नगरी काम गरिदिएको भए खाली खुट्टै हिँडे पनि त मलाई नदुख्ने रहेछ नि त भन्ने लाग्थ्यो । जहाँ भ्रष्टाचार भएको छ, ठ्याक्कै त्यहीँ मेरो खुट्टा दुख्थ्यो ।’
त्यस्तै यात्राका क्रममा कतिपयले आफूलाई ‘पागल’, ‘बेवारिसे’ र ‘झोले’ को उपमा दिएको उनी सम्झन्छन् । उक्त शब्दले आफूलाई नकारात्मकता भन्दा सकारात्मकता दिएका कारण आफू काठमाडौँ आउन सफल भएको उनी बताउँछन् । आफूलाई पागल र झोले भन्नेहरूलाई उनी आफू झोलामा कर्णालीका मुद्दा बोकेर हिँडेको व्यक्ति भन्न रुचाउँछन् ।
को हुन् नवराज बोहरा ?
सुर्खेतको बेलनगर घर भएका बोहरा एक सामाजिक अभियन्ता हुन् । औपचारिक अध्ययन ब्याच्लर गरेका उनी कर्णालीमा शिक्षा, स्वास्थ्य, पर्यावरण र बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । त्यसबाहेक पशु संरक्षण अभियानमा समेत उनी सक्रिय छन् ।
उनी आफूलाई ‘नवराज बोहरा भेडा’ भन्न रुचाउँछन् । आफू कुनै एक काममा लागेपछि भेडाजस्तै निरन्तर र एकोहोरो लाग्ने भएकाले आफूले आफैँलाई भेडा भन्न रुचाउने उनको भनाई छ ।
उनले एसइई दिने विद्यार्थीहरूलाई एक महिनाको निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्नेदेखि कुपोषित बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने भूमिकामा समेत सक्रिय छन् ।
त्यस्तै उनी एक पशु संरक्षण अभियन्तासमेत हुन् । उनले कर्णालीबाट तस्करी हुने गाई रोक्न विभिन्न समय आन्दोलन समेत गर्ने गरेका छन् । त्यस्तै उनले आफूले सयौँ गाईहरूको शव व्यवस्थापन समेत गरिसकेको बताउँछन् ।
त्यसका साथै उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् । मङ्गलवार भेटिएका उनको टिसर्टमा लेखिएको थियो, ‘कर्णालीको पहिलो मुद्दा नै भ्रष्टाचार हो ।’
‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ...बुधबार, असार ४, २०८२
‘स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ’ उनले भने, ‘पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि...बुधबार, असार ४, २०८२
बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा...बुधबार, असार ४, २०८२