नेभिगेशन
समाज

ग्वार्को ओभर पासको निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभर पास निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ओभर पास आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

Ncell
Extreme Energy

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब रु एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए । “ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो”, उनले भने, “प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो । त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो । साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो । यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्यो ।”

त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए । “त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढेको थियो । उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । जसले कार्यअवधि थप लम्बिएको हो”, उनले भने ।
 
भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर,  ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको  छ । “बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ”, भण्डारीले भने, “यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो ।”

चौध करोड थप लागत

केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारी दिए। “करिब रु १७ करोड छ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ”, उनले भने, “ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।”

भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात  निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटी सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरै