नेभिगेशन
समाज

नयाँ पुस्ताको चाहना बुझ्न नसकेकोमा आत्मालोचित छौँ, जेनजीको भावना बमोजिम नै निष्कर्षमा पुगियोस्ः कांग्रेस

काठमाडौँ । संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ । विज्ञप्तीमा भनिएको छ । 
कांग्रेसले जेनजी पुस्ताको पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह  गरेको छ । 

CG

सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पनि ध्यानाकर्षण गराइएको छ । 

विज्ञप्तीमा सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न कांग्रेसले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी बताइएको छ । 

जेनजी पुस्ताको माग जयज भएपनि सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा जेनजीको नभएको कांग्रेसको ठहर छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समुहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर गरेको भत्र्सना गरेको छ ।

यस्तो छ पूर्ण पाठः

भदौ २५, २०८२
संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं !
आदरणीय नेपाली आमावुवा, दिदीबहिनी तथा दाजुभाइहरु
Gen-Z युवाहरूले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।
१. यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौं । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौं । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछौं ।
२. हामी यो पहललाई  Gen-Z   पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं । विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।
३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौं ।
४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।
५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने  Gen-Z   पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा Gen z को थिएन, र त्यो  Gen-Z   को माग पनि होइन भन्ने हाम्रो विश्वास हो । कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ ।  Gen-Z   आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समुहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।
६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भ्रत्सर्ना गर्दछौं ।
७. संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं । त्यस क्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा,  Gen-Z   युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।
८. आम नागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौं, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको श्रृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौं । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं ।
९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुबै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ । नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि वढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।
अन्त्यमा, अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । अत्यन्तै कठिन अबस्था र प्रतिकुलता बिच पनि ‘सामाजिक एकता र सदभाव’ नेपाली समाजको बिशिष्ट चरित्र हो । अहिलेको अवस्थामा यो चरित्र बलियो ढंगले प्रस्तुत गर्न स्वदेश र बिदेशमा रहेका समस्त नेपाली आमाबुबा, दिदिबहिनी दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।
जय नेपाल !        
विश्वप्रकाश शर्मा     गगन कुमार थापा  
महामन्त्री                    महामन्त्री

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अदालतमा विचाराधीन मुद्दाको गगनले अपव्याख्या गरेः रास्वपा

अदालतमा विचाराधीन मुद्दाको गगनले अपव्याख्या गरेः रास्वपा

सामाजिक सञ्जाल मार्फत रावलले विचाराधीन मुद्दा प्रभावित पार्ने छुट गगनले कसरी पाए भन्दै प्रश्न गरेकी छिन् ।
अब उम्मेदवारले गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने

अब उम्मेदवारले गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने

अब उम्मेदवारहरुले चुनावी प्रचारमा जाँदा गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने भएका छन् । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न...
सन् २०२५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट ११ हजार बढी पीडित

सन् २०२५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट ११ हजार बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय...