नेभिगेशन
समाज

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर

सिरहा । हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाइरहेका छन् ।  छेउमै जलेश्वरीदेवी (विजयकी आमा)को पनि उस्तै छ ।  शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनीहरुका आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी ’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि धेरै दिन भइसकेको छ ।

Ncell
Extreme Energy

घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छिन् “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा छैन । होसमा आएपछि खबर गर्छु ।”

सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । ग।त मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुगेकी थिइन् । उनले राजधानीका दर्जनौँ अस्पताल चहारेपनि चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारीन् । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन् । त्यसपछि विक्षिप्त बनेकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरीदेवीले भनीन् ।

विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै छन् । उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएका हुन् । सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनकी श्रीमती अझै अर्धचेत अवस्थामा छिन्। छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि’

सबैसँग मिलेर बस्नसक्ने उनको स्वभाव थियो । लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।” उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उनलाई गोली लाग्यो ।

गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।
–––
रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी आन्दोलन सम्बन्धी  मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।
ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिस (पूर्णपाठ)

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिस (पूर्णपाठ)

‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णयरसिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री...
कोशी प्रदेश सभामा जब पूर्व मुख्यमन्त्रीले रोस्ट्रमको माइक भाँचे ...(भिडियो)

कोशी प्रदेश सभामा जब पूर्व मुख्यमन्त्रीले रोस्ट्रमको माइक भाँचे ...(भिडियो)

विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताए । उनले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका...
यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी

यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी

उनले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको...

भर्खरै