नेभिगेशन
समाज

भालटार डाँडा आन्तरिक पर्यटकको केन्द्र बन्दै

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब छ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पुर्‍याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

Ncell
Extreme Energy

हाल उक्त सडक वडा नं १४ को सर्रे–अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो–कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ । परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल–रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।

भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राई भन्नुहुन्छ, “विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथ्ये । तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।” राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही हिँड्दै–हिँड्दै नै आउने गर्छन् ।

“यहाँ लोकल कुखुराको स्वाद चाख्न विशेषै पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ,” राई थप्नुहुन्छ । होटल व्यवसायीको भनाइमा, सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ । धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् ।

वडा नं १३ का वडाध्यक्ष सूर्यमान तामाङले भने, “भालटार डाँडामा पछिल्ला वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू–प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।” नजिकै धनगढीमाई चोकमा पनि सो क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उहाँले जानकारी दिए ।

सुन्दर भू–आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी–हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ । मधेसमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवद्र्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
उदयपुरमा १८२ किलो गाँजासहित अन्य लागूऔषध बरामद

उदयपुरमा १८२ किलो गाँजासहित अन्य लागूऔषध बरामद

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार असोज ५ गते राति करिब ७ः३० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कटारी नगरपालिका–६ स्थित भुसुने जंगलको खाली...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...