नेभिगेशन
समाज

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबारको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले सङ्गठनलाई समावेशी, युवा–मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्न आवश्यक रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४० जना युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेका छन् । त्यस्तै प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहका १०–१० जनाको व्यवस्था गरिनुपर्ने उल्लेख गरे  । उनका अनुसार जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र पालिका कार्यसमितिमा न्यूनतम ६–६ जना तथा वडा कार्यसमितिमा न्यूनतम ४–४ जना सो उमेर समूहका प्रतिनिधि रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र कम्तीमा एक जना ३० वर्षमुनिको हुने गरी चार जना रहने प्रस्तावसमेत गरिएको छ । महामन्त्री शर्माको प्रस्तावमा बौद्धिक र व्यावसायिक क्षेत्रका व्यक्तिलाई पार्टीमा आकर्षित गर्न ‘ल्याट्रल इन्ट्री’ को उपयुक्त प्रक्रियासम्बन्धी नयाँ व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै विदेशमा रहेका नेपालीबीचको समन्वय र प्रभावकारिता बढाउन नेपाली जनसम्पर्क समितिको एक अन्तरराष्ट्रिय संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी प्रत्येक देशका नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू अन्तरराष्ट्रिय परिषद्का सदस्य हुनेछन् । सो परिषद्ले पूर्व अध्यक्षहरूमध्येबाट २७ सदस्यीय अन्तरराष्ट्रिय जनसम्पर्क समिति गठन गर्ने प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय जनसम्पर्क समितिमा अध्यक्ष एक, महिला उपाध्यक्ष र महामन्त्री एक–एक, प्रत्येक महादेशबाट एक खुला उपाध्यक्ष, दुई जना खुला महामन्त्री, एक महिला सहमहामन्त्रीसहित प्रत्येक महादेशबाट एक–एकजना खुला सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको छ । कोषाध्यक्ष भने अध्यक्षबाट मनोनित गरिनेछ ।

पार्टीको महाधिवेशनमा हरेक देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूले ‘एक महादेश, एक केन्द्रीय सदस्य’को अवधारणाअनुसार आ–आफ्ना महादेशबाट एक केन्द्रीय सदस्य चयन गर्ने प्रस्ताव गरिएको छ ।  मध्यपूर्वका लागि विशेष व्यवस्था गर्दै छुट्टै एक केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था पनि प्रस्तावमा समावेश छ । विधान संशोधनमार्फत पूर्व आप्रवासी नेपालीहरूको सहभागितालाई पनि सुनिश्चित गर्न प्रस्ताव गरिएको छ ।

विदेशमा एक दशकभन्दा बढी समय बिताएर महाधिवेशनभन्दा दुई वर्षअघि परिवारसहित स्वदेश फर्किएका नेपालीलाई वडादेखि केन्द्रसम्मका प्रत्येक तहमा न्यूनतम एक महिलासहित तीन जनाको प्रतिनिधित्व गराइने प्रस्ताव गरिएको छ । त्यस्तै, प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिलासहित तीन जना प्रदेश कार्यसमितिमा र सङ्घीय निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिलासहित तीन जना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिमध्ये संस्थाको सिफारिसमा उम्मेदवार भएका व्यक्तिबीचबाट न्यूनतम एक महिलासहित तीन जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । जिल्ला तथा अन्य कार्यसमितिलाई छरितो र प्रभावकारी बनाउने व्यावहारिक विधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

विधानसँग सम्बन्धित थप विषयमा प्रत्यक्ष वा समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल अर्थात् एकपटक समानुपातिक/अन्तिमपटक समानुपातिकको व्यवस्था, नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका र सामाजिक रूपान्तरण नेतृत्व निर्देशिका निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

साथै महाधिवेशन क्रममा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यदेखि सबै तहका पदाधिकारीहरू पार्टीको तल्लो कमिटीबाट क्रमशः निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने प्रस्तावसमेत पेस गरिएको छ । यसलाई विशेष महाधिवेशनको सुझावअनुसार परिमार्जन गर्दै विधानमा थप व्यवस्था गर्न सकिने महामन्त्री शर्माले जानकारी दिए । नेपाली कांग्रेसले सङ्गठन पुनर्निर्माण, नीतिगत सुधार र नागरिक–केन्द्रित राजनीतिलाई प्राथमिकता दिँदै ‘जलवायु चेतनादेखि उद्यमसम्म’का अभियान चलाउने प्रस्ताव गरिएको छ ।

विगतका गल्ती सच्याउने स्पष्ट सङ्कल्पसहित विशेष महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजमार्फत कांग्रेसले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ समाजका साझा मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको हो । विशेष महाधिवेशनले पार्टीका मुद्दा मात्र होइन, समग्र समाजका सरोकारका विषयलाई राजनीतिक मुद्दा बनाइ त्यसैमा समर्पित रहने उद्देश्यसहित १० बुँदे प्रस्ताव गरिएको छ । कांग्रेसले नागरिकसँग निरन्तर सम्पर्कमा रहने र व्यावहारिक परिणाम दिने राजनीति गर्ने दाबीसमेत गरेको छ ।

महामन्त्री शर्माको प्रस्तावमा पार्टीभित्र र बाहिरका युवा पुस्तासँग सहकार्य गर्दै वातावरणीय सङ्कटबारे जनचेतना फैलाउने अभियान सञ्चालन गरिने उल्लेख छ । त्यस्तै, प्रशासनिक ढिलासुस्तीको समाधान खोजी गर्न यसका लागि पार्टीको राज्यप्रशासन विभाग, विषयगत विज्ञ र शुभेच्छुक संस्थालाई सक्रिय बनाइने जनाइएको छ । सामाजिक विसङ्गतिविरुद्ध सजगता अभियान सञ्चालन गरिने प्रस्तावमा उल्लेख छ । महिला सङ्घ, शिक्षक–प्राध्यापक, प्रेस युनियनलगायत पार्टीका विभागीय संरचनालाई यसमा जोडिनेछ ।

त्यस्तै, बिमा ब्रान्डिङ र गाउँस्तरमा प्रभावकारी जनचेतना तथा अनुगमन गर्ने योजना प्रस्तुत गरिएको छ । प्रस्तावमा अनौपचारिक क्षेत्रका श्रमिकसँग सम्पर्क, संवाद र समस्या समाधानलाई प्राथमिकता दिइएको छ । जसमा ‘ट्रेड युनियन’सँग सहकार्य गरेर श्रमिक अधिकारका मुद्दा अघि बढाइनेछ । लागुपदार्थविरुद्ध युवा अभियान सञ्चालनका लागि तरुण, विद्यार्थी र महिला सङ्गठन, स्थानीय तह र प्रशासनसँग समन्वय गर्ने र विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै पुनःस्थापित गर्ने योजना अघि सारिएको छ । यसका लागि पार्टी, सरकार र सम्बन्धित विभागको सहकार्यमा कार्यक्रम ल्याइनेछ ।

त्यस्तै, भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाइएको छ भने शैक्षिक क्षेत्र सुधारका लागि शैक्षिक प्रतिष्ठान र पार्टी संरचनाबीच सहकार्य गर्ने प्रस्ताव गरिएको छ । पार्टी सदस्यका लागि आत्मनिर्भर उद्यम अभियान सञ्चालन गरी रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्ने विषय पनि महामन्त्री शर्माको प्रस्तावमा समेटिएको छ । विशेष महाधिवेशनमा पेस भएको महामन्त्री शर्माको प्रस्तावमा विगत डेढ दशकमा दोहोरिएका राजनीतिक अभ्यासलाई गम्भीर गल्ती स्वीकार गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कांग्रेसले अब कुनै पनि नेता दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने नीति लिइने गरी प्रस्ताव गरेको छ । यो व्यवस्थालाई संविधानमै सुनिश्चित गर्न पहल गर्ने निर्णयसमेत गरिएको छ । लामो समयसम्म एउटै नेतृत्व दोहोरिँदा आम जनतामा असन्तुष्टि बढेको निष्कर्ष महामन्त्री शर्माको प्रस्तावमा उल्लेख छ । नीतिगत अस्थिरताका कारण जलविद्युत्, कृषि, भौतिक पूर्वाधार र निजी क्षेत्र प्रभावित भएको स्वीकार गर्दै नीतिगत सुनिश्चिततासहित देशलाई अघि बढाउने नेतृत्व कांग्रेसले गर्ने सङ्कल्प शर्माद्वारा प्रस्तुत प्रस्तावमा उल्लेख छ ।

त्यस्तै चुनावी गठबन्धनले मतदाताको स्वतन्त्र विवेक र पार्टी सदस्यको सम्मानमा असर पारेको निष्कर्ष निकाल्दै कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव गरेको छ । बजेट निर्माणमा प्रभावशाली नेताको क्षेत्रमा बढी बजेट खन्याउने प्रवृत्ति नियन्त्रण गर्दै समन्यायिक विकासको अवधारणा कडाइका साथ लागू गर्ने जनाइएको छ । लहडका आधारमा विकास परियोजना अघि बढाउँदा ऋणको जोखिम बढेका कारण कुनै पनि ठूला परियोजना विज्ञ परीक्षण र संसदीय छलफलपछि मात्र अघि बढाउने नीति लिइनेसमेत प्रस्ताव गरिएको छ ।

पुँजीगत बजेट खर्च कमजोर हुनु शासकीय कमजोरी भएको स्वीकार गर्दै कांग्रेसले पूर्वाधार निर्माण तीन सिफ्टमा गर्ने कानुनी व्यवस्था, असारे विकास रोक्ने र तीन तहका सरकारबीच स्पष्ट काम बाँडफाँड गर्ने नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, गैरआवासीय नेपालीका नागरिकता, मतदान अधिकार र लगानी सहजीकरणमा भएको ढिलाइ सच्याउँदै संविधान र सर्वोच्च अदालतको आदेशअनुसार व्यवस्था मिलाउन कांग्रेसले नेतृत्व गर्ने महामन्त्री शर्माको प्रस्तावमा उल्लेख छ ।

राजनीतिक नियुक्तिमा योग्यता र चरित्र परीक्षण नगर्दा संस्थागत क्षति पुगेको स्वीकार गर्दै महामन्त्री शर्माले पेश गरेको प्रस्तावमा अब नेतृत्व चयनमा विशिष्ट योग्यता मापनसहितको मर्यादित मापदण्ड लागु गर्नुपर्ने प्रावधान समेटिएको छ । विश्वविद्यालय, संवैधानिक निकाय र राजदूत नियुक्तिमा भागबन्डा गलत भएको स्वीकार गर्दै योग्यतामा आधारित प्रतिनिधि छनोट प्रणाली विकास गर्ने प्रतिबद्धता गरिएको छ । शिक्षा विधेयक ढिलाइ हुँदा शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गर्दै आगामी संसद्को पहिलो अधिवेशनमै विधेयक पारित गर्न पहल गर्ने जनाइएको छ ।

त्यस्तै, शैक्षिकस्थलमा बाहुबल प्रयोग अस्वीकार्य हुने ठहर गर्दै यस्ता गतिविधिमा संलग्न पार्टी निकट विद्यार्थीको सदस्यता खारेज नीति लिइनेसमेत जनाइएको छ । जातीय विभेद, घरेलु हिंसा, बालश्रमजस्ता सामाजिक विसङ्गतिमा संलग्न प्रमाणित भए पार्टी सदस्यता स्वतः खारेज हुने प्रस्ताव गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकका समस्या समाधान गर्न नेपाल ट्रेड युनियन काँग्रेससँग सहकार्य गरी साझा दृष्टि विकास गर्ने, जनप्रतिनिधित्वमा नातावाद अन्त्य गर्ने, उम्मेदवार छनोटमा ‘प्राइमरी’ निर्वाचन प्रणाली क्रमशः लागू गर्ने र पार्टीभित्र सुशासन अनुगमनका लागि आन्तरिक सुशासन आयोग गठन गर्नेजस्ता विषय पनि महामन्त्री शर्माको प्रस्तावमा समेटिएका छन् ।
 
कांग्रेस महामन्त्री शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा पार्टीले आफूलाई ‘रिबिल्डिङ’ र ‘रिब्रान्डिङ’ गर्नुपर्नेमा जोड दिँदै सद्भाव, सुशासन र समुन्नतिको यात्रामा सबै नेपालीको साथ सहयोगको अपेक्षा गरेको छ । महामन्त्री शर्माले प्रस्ताव प्रस्तुत गर्दै “जो बदलिन सक्छ, उसैले बदल्न सक्छ” भन्ने निष्कर्षसहित कांग्रेसले बदलिएको समयअनुसार आफूलाई बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले...
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।
मध्यपूर्व तनाबः नेपालीहरुको उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न सरकारलाई रवि लामिछानेको ध्यानाकर्षण

मध्यपूर्व तनाबः नेपालीहरुको उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न सरकारलाई रवि लामिछानेको ध्यानाकर्षण

‘त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी युएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ति देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र...
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको...