नेभिगेशन
मुख्य समाचार

पोखरामा भोट माग्दैछन् म्याग्दीका उम्मेदवार, मतदाता भन्छन्ः ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कनुहुन्छ । 

“गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उहाँले भन्नुभयो, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।”

CG

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको आठ वर्ष भयो । “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो ।”

पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन् । पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
 
मतदाता खोज्दै उम्मेदवारहरू पोखरामा

 
विस २०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका मतदाता पनि बजार तथा बेँसीमा झरेका, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदातालाई पनि उम्मेदवारले महत्व दिएका छन् । 

नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा हुनुहुन्छ ।

एमाले र नेपाली कम्युनिष्ट पार्टीसम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले उम्मेदवारसँग पोखरामा बसोबास गर्ने म्याग्देलीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरेका हुन् । गाउँमा मतदाता नामावली भएका तर शिक्षा, व्यापार व्यवसाय र अन्य कामको सिलसिलामा स्थायी रूपमा पोखरामा बसोबास गर्ने म्याग्देलीलाई भेटेर उनीहरूका सुझाव, अपेक्षा, गुनासा सुन्न पोखरा पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापाले बताउनुभयो । 

बढ्दो बसाइँसराइको असर मतदाता सङ्ख्यामा
  
बढ्दो बसाइँसराइको असर म्याग्दीको कुल जनसङ्ख्या र मतदाता सङ्ख्यामा पनि देखिन थालेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ । बयालीस हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अघिल्लो निर्वाचनको तुलनामा आगामी चुनावका लागि २७७ जनामात्र मतदाता थपिएका हुन् । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए । बसाइँसराइ गरेर जिल्ला तथा देशबाहिर जाने र घट्दो जन्मदरको असर मतदाता सङ्ख्यामा परेको निर्वाचन अधिकारी गौतमले बताउनुभयो । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ ।

बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आव २०८१÷८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा २४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् ।

आव २०८०÷८१ मा २५२ परिवार बसाइँसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्चीकरण शाखाको अभिलेखमा उल्लेख छ । म्याग्दी बहुमुखी क्याम्पसको समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जनको अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिसले बसाइँसराइ गर्ने क्रम बढेको हो ।”

विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरपरिवामा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । 

उम्मेदवारका योजना 

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ । स्वतन्त्र उम्मेदवार पुनलाई रास्वपाका उम्मेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा (माओवादी)ले क्षेत्रबहादुर घिमिरे (धु्रव)लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बन्नुभएको छ । 

उम्मेदवारहरूले नीति निर्माण तहमा म्याग्दीको आवाज उठाउने, कानुनमा जिल्लावासीको भावना तथा समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषिमार्फत रोजगारी सृजना गरी बसाइँसराइको दर घटाउने तथा जलविद्युत्मा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

“हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भन्नुभयो । नदी...
सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ

सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ ।
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन

कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन

रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहनुभएको छ ।
स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

स्वास्थ्य बिमा गरेका बिरामीहरू सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा...

भर्खरै